काठमाडौं । हेटौंडाको हटिया क्षेत्रमा लामो समयदेखि मुआब्जा विवादका कारण अगाडि बढ्न नसकेको प्रसारण लाइन निर्माणको काम सुरु भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको पहलमा हेटौंडा-ढल्केबर ४०० केभी प्रसारण लाइनको पश्चिम खण्ड (हेटौंडाको हटिया क्षेत्र) मा टावर राख्ने कार्य अगाडि बढेको हो ।
मन्त्री श्रेष्ठको पहलमा सरोकार भएका पक्षसँगको सहमतिपछि टावर राख्ने कार्य अगाडि बढेको मन्त्रालयले जनाएको छ ।
मन्त्री श्रेष्ठले यसै साता जग्गाधनी र त्यस क्षेत्रका जनप्रतिनिधिसँग छलफल गरी मुआब्जा विवादलाई टुङ्ग्याएका हुन् ।
टावर निर्माण हुने क्षेत्रका जग्गाधनीले मुआब्जा स्वीकार गरेपछि एक साताभित्रै सात वटा टावरको जग खन्ने र ‘कङ्क्रिटिङ’ गर्ने कार्य तीव्र गतिमा अगाडि बढेको छ ।
सन् २०१२ बाट निर्माण सुरु भएको प्रसारण लाइनअन्तर्गत त्यस क्षेत्रमा १४ वटा टावर निर्माण हुन नसक्दा समस्या भएको थियो ।
नेपालमा विद्युत् प्रणालीको मेरुदण्डका रूपमा लिइने उक्त परियोजना सम्पन्न भएपछि विद्युत् आपूर्ति प्रणाली विश्वसनीय हुनाका साथै निर्यातका लागि पूर्वाधार तयार हुनेछ ।
प्रसारण लाइन निर्माणले निजी क्षेत्रलाई ठूलो राहत प्रदान गर्ने मन्त्रालयले जनाएको छ । सोही परियोजनाको पूर्वी खण्ड (ढल्केबर-इनरुवा) तीन वर्षअगाडि नै सम्पन्न भइसकेको छ ।