असिनापानीले बिथोल्यो मनोहराको डोजर अभियान: ७० प्रतिशत अनधिकृत संरचना भत्काइयो, बाँकी सोमबार भत्काइने

काठमाडौं ।  भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुमवासी बस्तीमा अनधिकृत रूपमा बनाइएका ७० प्रतिशत घर, टहरा तथा संरचना आज भत्काइएको छ । आज (आइतबार) बिहान १०ः०० बजेदेखि काठमाडौं महानगरपालिकाबाट आएका सात वटा डोजरको सहायताले सुकुमवासी बस्तीका ७० प्रतिशत संरचना भत्काइएको हो ।

पछि असिनापानी परेर बिथोलिएकाले आजको संरचना भत्काउने कार्यलाई स्थगित गर्नुपरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए । 

आज भत्काउन बाँकी भएका संरचनालाई भोलि (सोमबार) भत्काइने जानकारी दिँदै उहॉँले हिजोसम्म ८० प्रतिशतले सबै सामान सारेकाले आज बस्तीका बाँकी बासिन्दाले पनि सबै सामान सारेर सहज गरेका उल्लेख गरे ।

आजका लागि सुकुमवासी बस्तीमा भक्तपुरबाट खटिएका एक हजार ४०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी गरी दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी दिए । 

सोमबारसम्म सबै संरचना भत्काइने उनले बताए । यहाँबाट बस्ती छाडेको वास्तविक सुकुमवासीलाई दशरथ रङ्गशालामा पठाइएको बताउँदै उनले त्यहाँबाट उनीहरूलाई खान र बस्नका लागि होल्डिङ सेन्टरमा पठाइएको उल्लेख गरे ।  

Share News