ठेक्काको डकुमेन्ट हेरफेर गर्ने थप दुई समातिए, विक्रम पाण्डेसहित पक्राउ पर्नेको संख्या ९ पुग्यो

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘ई–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्याई विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप दुई जनालाई पक्राउ गरिएको  छ ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोली (सीआईबी) ले आज कल्पवृक्ष विल्डर्स प्रालिका सञ्चालक प्रकाश ढुङ्गाना र इन्कोन प्रालिको सेयरधनी तथा लेखापाल स्वदेश पोखरेललाई पक्राउ गरेको हो । 

ढुङ्गानालाई काठमाडौं महानगरपालिका–१६ बालाजु र पोखरेल महानगरपालिका– ३२ पेप्सीकोलाबाट पक्राउ गरिएको हो । 

सरकारी ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नुअगावै आर्थिक प्रस्तावको ‘डकुमेन्ट’ परिवर्तन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र दुवै जनाविरुद्ध प्रहरीको साइबर ब्युरोमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरिएको ब्युरोले जनाएको छ । 

ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले दुवै जनामाथि सङ्गठित अपराध विवरण ऐन, २०७० अन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।

यसअघि सोही कसुरमा कालिका कन्ट्रक्सनका सञ्चालक एवं राप्रपा नेता विक्रम पाण्डे र भीषण कन्ट्रक्सनका टङ्ककुमार श्रेष्ठलाई शुक्रबार पक्राउ गरिएको थियो । हालसम्म उक्त मुद्दामा नौ जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । 

Share News