काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा उपलब्ध गराउन १ लाख रुपैयाँसम्म धरौटी रकम बुझाउनुपर्ने भएको छ । एसएमएस, आईभीआर (टेलिफोन) तथा वेबसाइटमार्फत एसईई २०८२ को नतिजा उपलब्ध गराउन इच्छुक संघ–संस्था तथा कम्पनीहरूले न्यूनतम २० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म धरौटी रकम बुझाउनु पर्ने भएको हो ।
कार्यालयका अनुसार एसएमएस सेवा उपलब्ध गराउन ४० हजार रुपैयाँ, वेबसाइट सेवा २० हजार रुपैयाँ, एसएमएस र वेबसाइट दुवैका लागि ६० हजार रुपैयाँ तथा एसएमएस, आईभीआर र वेबसाइट तीनै सेवा उपलब्ध गराउन १ लाख रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था गरिएको छ ।
कार्यालयले सेवा प्रदान गर्न इच्छुक संस्थाहरूले आवश्यक विवरणसहित २०८३ वैशाख १७ गतेभित्र निवेदन पेस गर्नुपर्ने जनाएको छ । संस्था प्रचलित कानुनअनुसार दर्ता भएको हुनुपर्ने, भ्याट वा प्यानमा दर्ता भएको हुनुपर्ने तथा आर्थिक वर्ष २०८१/८२ को कर चुक्ता गरेको हुनुपर्नेछ ।
धरौटी रकम कोष तथा लेखा नियन्त्रक कार्यालय भक्तपुरमार्फत नेपाल बैंकमा रहेको सम्बन्धित खातामा जम्मा गरी सक्कल भौचर निवेदनसाथ पेस गर्नुपर्नेछ । सम्झौतापछि सो धरौटी रकम राजस्व खातामा दाखिला गरिनेछ ।
निवेदन पेस गर्दा खाम बाहिर कुन सेवा (एसएमएस, आईभीआर वा वेबसाइट) चाहिएको हो स्पष्ट उल्लेख गर्नुपर्नेछ । परीक्षा बोर्डले नतिजा प्रकाशन गरेपछि मात्र सेवा सञ्चालन गर्न पाइनेछ ।
नतिजा सेवा अधिकतम एक महिनासम्म मात्र सञ्चालन गर्न पाइने र त्यसपछि अनिवार्य रूपमा बन्द गर्नुपर्नेछ । नतिजा सम्बन्धी विवरण उपलब्ध गराउने वा नगराउने अधिकार बोर्डमै रहनेछ । अनधिकृत रूपमा नतिजा प्रकाशन वा गलत तथ्याङ्क सार्वजनिक गरेमा प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी पनि दिइएको छ ।