काठमाडौं । देशभरका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौं राष्ट्रिय महाधिवेशन पोखरामा हुने भएको छ ।
महासंघका महासचिव डेकनाथ गौतमले आज एक सूचना जारी गरी सातौं राष्ट्रिय महाधिवेशन यही वैशाख २७ गतेदेखि २९ गतेसम्म पोखरा इभेन्ट सेन्टरमा हुन लागेको जानकारी दिए ।
महासले महाधिवेशन तयारीका लागि जिल्ला, प्रदेश तथा सदस्य संस्थाहरूलाई निर्देशन दिएको छ । जिल्ला अधिवेशन बाँकी रहेका जिल्लाहरूले चैत मसान्तभित्र अधिवेशन सम्पन्न गर्नुपर्ने भनिएको महासचिव गौतमले बताए । तोकिएको समयमा अधिवेशन नगर्ने जिल्लालाई महाधिवेशनमा सहभागी नगराइने महासङ्घले जनाएको छ ।
महासंघ वैशाख १५ गतेभित्र प्रदेश संयोजकले प्रतिनिधिहरूको नामावली, फोटो तथा आवश्यक शुल्कसहितको विवरण अनिवार्य रूपमा केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरेको छ ।
लेवी तथा अन्य दायित्व बाँकी रहेका सदस्य संस्थालाई महाधिवेशनमा सहभागी नगराइने महासङ्घले जनाएको छ ।
यसैबीच, महासङ्घले महाधिवेशन तथा निर्वाचन प्रक्रिया विधानअनुसार प्रविधिमैत्री (विद्युतीय मतदान) प्रणालीमार्फत एकै दिन एउटै स्थानबाट प्रदेशअनुसार सञ्चालन गरिने जनाएको छ ।