स्थानीय तहबाट भूमि प्रशासन सेवा प्रवाह गर्न संघीय सरकारको आग्रह

काठमाडौं । भूमि प्रशासनसँग सम्बन्धित सेवाहरू स्थानीय तहबाटै प्रवाह गर्न संघीय सरकारले आग्रह गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बिहीबार सूचना जारी गर्दै हाल मालपोत कार्यालय र नापी कार्यालय बाट प्रवाह हुँदै आएका सेवाहरू स्थानीय तहबाट सञ्चालन गर्न इच्छुक स्थानीय सरकारलाई आवेदन दिन आह्वान गरेको हो ।

मन्त्रालयका अनुसार नेपालको संवैधानिक व्यवस्था अनुसार यी सेवाहरू स्थानीय तहबाट सञ्चालन गर्न सकिने व्यवस्था रहेको छ । त्यसअनुसार इच्छुक स्थानीय तहले आवश्यक जनशक्ति तथा पूर्वाधारको व्यवस्थापन आफैंले गर्नुपर्नेछ ।

सूचना प्रकाशित भएको मितिले सात दिनभित्र सेवा प्रवाह गर्न इच्छुक स्थानीय तहले आफ्नो विवरणसहितको पत्र मन्त्रालयमा पठाउनुपर्ने उल्लेख गरिएको छ । आवेदन [email protected], [email protected] वा [email protected] मार्फत पठाउन सकिनेछ ।

मन्त्रालयले सिंहदरबार, काठमाडौंबाट जारी गरेको उक्त सूचनाले स्थानीय तहलाई सेवा विकेन्द्रीकरणमार्फत नागरिकलाई सहज सेवा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ ।

Share News