काठमाडौं । तनहुँको व्यास नगरपालिका-३ दमौलीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र परिसरमा नमूना अस्पतालको भवन निर्माण निर्माणाधीन अवस्थामा छ । पटक-पटक म्याद थपे पनि गण्डकी प्रदेशको गौरवको योजनाको रूपमा निर्माणाधीन नमूना पशु अस्पतालको भवन निर्माण पूरा हुन सकेको छैन ।
प्रदेश सरकारको प्राथमिकताको योजनाका रूपमा रहेको नमूना पशु अस्पताल भवन निर्माण पूरा गर्ने उद्देश्यले चौंथो पटक निर्माण अवधि थपिएको छ । अस्पतालको केही निर्माण भइरहेकाले निर्माण अवधि चौंथो पटक थप गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख रविनसन अधिकारीले बताए । उनका अनुसार चौंथो पटक वि.सं २०८३ जेठ १० गतेसम्मका लागि अवधि थप गरिएको छ ।
हालसम्म ७७ प्रतिशत भौतिक प्रगति भएको छ भने ५४.३४ प्रतिशत आर्थिक प्रगति भएको विज्ञ केन्द्रले जनाएको छ । वि.सं २०७८ साउन १२ गते निर्माण कम्पनीले वि.सं २०७९ पुस १२ मा नमूना अस्पतालको भवन निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । सम्झौता अवधिमा निर्माण सम्पन्न हुन नसकेपछि तेस्रो पटक वि.सं २०८२ जेठ २१ को निर्णयअनुसार वि.सं २०८२ कात्तिक मसान्तसम्मका लागि म्याद थप गरिएको थियो । सो अवधिमा पनि पशु अस्पतालको भवन निर्माण पुरा हुन नसकेपछि वि.सं २०८३ जेठ १० गतेसम्मका लागि म्याद थप गरिएको हो ।
तीन पटक समयावधि थपिँदा पनि पूरा हुन नसक्दा पशुपालक किसानले पाउनुपर्ने सेवा प्रवाहमा सकस भएको अधिकारीले बताए । पटकपटक म्याद थपिँदा पनि उल्लेख्य प्रगति हुन नसक्दा आयोजना नै अलपत्र अवस्थामा पुगेको हो । म्याद थप गरिएपछि चालु आर्थिक वर्षमा २० लाख रूपैयाँ निर्माण कम्पनीलाई भुक्तान गरिएको प्रमुख अधिकारीले जानकारी दिए ।
उनका अनुसार भवन अभावले गर्दा अस्पताललाई आवश्यक पर्ने उपकरण जडान र सेवा विस्तारको प्रक्रिया अगाडि बढिरहेको छ । तनहुँ र कास्की जिल्लामा एकैसाथ नमूना पशु अस्पताल निर्माण सुरू गरिएको थियो । कास्कीमा भने भवन निर्माण सम्पन्न भई सेवा प्रवाह भइरहेको केन्द्रले जनाएको छ ।
गण्डकी प्रदेश सरकारले भ्याट बाहेक रु चार करोड ९० लाखको लागतमा ठेक्का सम्झौता गरेको थियो । बहुवर्षीय योजनाअन्तर्गत अस्पतालको भौतिक संरचना क्रमशः विस्तार गर्दै लैजाने लक्ष्य राखिएको भएपनि आवश्यक संरचनासमेत निर्माण हुन सकेको छैन ।
पूर्वाधारसहित पूर्ण सञ्चालनका लागि करिब १० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । साढे दुई तले भवनमा आकस्मिक, शल्यक्रिया, रेडियोलोजी र प्याथोलोजीसहित २३ वटा कोठा रहनेछ । गुणस्तरीय पशु चिकित्सा सेवा उपलब्ध गराउने उद्देश्यले प्रदेशको मध्यभागमा पशु अस्पतालको भवन निर्माण थालिएको हो । पछिल्लो पटक थपिएको निर्माण अवधिमा अस्पताल भवन निर्माण भएमा तनहुँलगायत लमजुङ, गोर्खा, मनाङ, कास्की, नवलपुर, स्याङ्जा जिल्लाका सेवाग्राहीले पशु सेवा सहज रूपमा पाउनेछन् ।