भक्तपुर । हौँचुरे घिमिरे वंशावलीको विमोचन तथा बन्धु पारिवारिक भेटघाट कार्यक्रम भक्तपुरको कौशलटारमा सम्पन्न भएको छ । साहित्यकार गणेश घिमिरे ‘मार्मिक’को अध्यक्षतामा आयोजित कार्यक्रममा ज्येष्ठ नागरिक सम्मानसमेत गरिएको थियो ।
'ज्येष्ठ नागरिकको सम्मान, हाम्रो अभियान' भन्ने मूल नारासहित आयोजित कार्यक्रममा प्रमुख अतिथि तारानाथ घिमिरेलाई ‘ज्येष्ठतम् पुरुष सम्मान’ प्रदान गरिएको थियो । त्यसैगरी ९४ वर्षीया चेली मनिकर्णिका निरौलालाई ‘ज्येष्ठतम् चेली सम्मान’, इन्दिरा घिमिरेलाई ‘ज्येष्ठतम् महिला सम्मान’ (पन्ध्रौँ पुस्ता), हौँचुरे घिमिरे वंशावलीका विशेष सहयोगी सम्पादक पशुपति घिमिरेलाई ‘विद्वत् सम्मान’ तथा वंशावलीका सङ्कलक एवं सम्पादक गणेश घिमिरे ‘मार्मिक’लाई ‘सम्पादक सम्मान’ प्रदान गरिएको थियो ।
सत्रौँ पुस्ताको आयोजनामा सम्पन्न कार्यक्रममा ७० वर्षमाथिका ज्येष्ठ नागरिकहरूलाई पनि माला र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । भावी पुस्तामा ज्येष्ठ नागरिकप्रति सकारात्मक भावना विकास गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा स्वागत मन्तव्य रमेश घिमिरेले व्यक्त गरेका थिए भने सञ्चालन हरि घिमिरेले गरेका थिए । साहित्यकार तथा समालोचक डा. रमेश शुभेच्छुले पुस्तक समीक्षा प्रस्तुत गरेका थिए ।