काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्य पदमा उम्मेदवार बनेको १२ जनालाई उम्मेदवारी फिर्ता गर्न दवाव परेको छ । एशोसिएटतर्फको उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल सर्वसहमत भएपछि सदस्य पदमा पनि सर्वसहमित गराउने प्रयास अन्तरगत १२ जनालाई उम्मेदवारी फिर्ता गर्न दवाव परेको छ । उम्मेदवारी फिर्ता लिने म्याद २७ गतेसम्म भएपनि शनिबारसम्म फिर्ता लिन चुनावी समूहको दवाव परेको छ ।

एशोसिएटतर्फ १९ जना कार्यसमिति सदस्य पदको लागि ३१ जनाको उम्मेदवारी परेको छ । आवश्यक भन्दा बढी १२ जनाको उम्मेदवारी फिर्ता गराई सर्वसहमतिको प्रयास भईरहेको महासंघका अध्यक्ष पशुपति मुरारकाले बताए । ‘निर्वाचन भयो नै भने पनि १२ जना वाहिरिनुपर्छ, सर्वसहमतिमा १९ जना कार्यसमिति सदस्य चुनौं, अहिले उम्मेदवारी फिर्ता लिनु हुने १२ जनालाई विभिन्न उपसमितिमा मनोनयन गरी जिम्मेवारी दिन सकिन्छ’ उनले भने ।
सहमतिको प्रयास स्वरुप शुक्रबार साँझ परेली रेष्टुरेन्टमा बैठक बसेको थियो जहाँ मुरारका, भवानी राणा, शेखर गोल्छ, चन्द्रप्रसाद ढकाल, चण्डिराज ढकाल, ज्ञानेन्द्रलाल प्रधान र उम्मेदवारी दिएका ३१ सदस्य सहभागि थिए ।
उक्त बैठकमा स्वेच्छिक रुपमा १२ जनालाई उम्मेदवारी फिर्ता लिन सुझाव दिदै त्यसो नभए उच्च नेतृत्वले १९ जनाको टिम घोषणा गर्ने जनाउ दिईएको छ ।
टिम बाहिर पर्ने १२ जनाले चुनाव हार्ने निश्चित भएपछि सदस्य पदका उम्मेदवारहरु उम्मेदवार छनौटमा प्रभाव राख्ने व्यक्तिहरुलाई खुशी पार्न र टिममा पर्न सक्रिय भएका छन् । टिममा पर्ने निश्चित भएका उम्मेदवार प्रफुल्लित मुद्रामा देखिएका छन् भने शंकाको घेरामा रहेका उम्मेदवार निकै तवानमा देखिएका छन् ।