काठमाडौं । शंकर ग्रुपअन्तर्गत सञ्चालन हुने जगदम्बा अटो ग्रुपले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा ४ अर्ब ४२ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।
यसअघि कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ६ अर्ब ९९ करोड ९० लाख रुपैयाँ र आर्थिक वर्ष २०८०/८१ मा ४ अर्ब ८५ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको आम्दानी ४४.३० प्रतिशत अर्थात् २ अर्ब १४ करोड ९० लाख रुपैयाँले वृद्धि भएको छ । कम्पनीले यो वृद्धि सवारी साधनको उच्च मागका कारण भएको जनाएको छ।
कम्पनीले विगतका वर्षहरूमा पनि उल्लेखनीय प्रगति गरेको छ । आर्थिक वर्ष २०७९/८० मा कम्पनीको आम्दानी २ अर्ब ७३ करोड ७० लाख, आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब ४२ करोड ७० लाख र आर्थिक वर्ष २०७७/७८ मा ७३ करोड २० लाख रुपैयाँ रहेको थियो ।
सन् २०१४ मा स्थापना भएको जगदम्बा अटो ग्रुप नेपालमा टीभीएस ब्रान्डका दुई पाङ्ग्रे तथा तीन पाङ्ग्रे सवारी साधन एसेम्बल गर्ने अधिकृत कम्पनी हो । कम्पनीले एसेम्बल गरेका सवारीसाधनहरू आफ्नै समूहअन्तर्गतको जगदम्बा मोटर्स प्रालि मार्फत बिक्री वितरण गर्दै आएको छ । जगदम्बा मोटर्स नेपालमा टीभीएस सवारीसाधनको आधिकारिक वितरक पनि हो ।
कम्पनी शंकर ग्रुपअन्तर्गत सञ्चालनमा रहेको छ । शंकर ग्रुप नेपालमा इस्पात, सिमेन्ट, पोलिमर उत्पादन, व्यापार, आतिथ्य सेवा तथा बीमा लगायत विभिन्न क्षेत्रमा सक्रिय बहुआयामिक व्यवसायिक समूहका रूपमा परिचित छ । जगदम्बा अटो ग्रुप पूर्ण रूपमा शाहिल अग्रवालको स्वामित्वमा रहेको छ । अग्रवाल कम्पनीका एकमात्र सेयरधनी तथा निर्देशक पनि हुन् ।
कम्पनीले एसेम्बलका लागि सवारी साधन तथा पार्टपुर्जाहरू भारतस्थित टीभीएस मोटर कम्पनीबाट मात्र आयात गर्ने गरेको छ भने एसेम्बल गरिएका सबै सवारी साधन जगदम्बा मोटर्समा मात्र बिक्री हुन्छन् । यसले व्यावसायिक विविधीकरण सीमित भए पनि कम्पनीलाई सञ्चालनमा स्थायित्व प्रदान गरेको छ ।
कम्पनीले नेपाल सरकारको एसेम्बल उद्योग प्रोत्साहन नीतिबाट पनि लाभ उठाउँदै आएको छ । सरकारले सवारी निर्माणमा प्रयोग हुने कच्चा पदार्थ वा स्पेयर पाट्र्समा ५० प्रतिशत एक्साइज कर र २५ प्रतिशत आयात कर छुट प्रदान गरेको छ, जसले स्थानीय एसेम्बल उद्योगलाई प्रोत्साहित भएको कम्पनीको भनाइ छ । कम्पनीले यस्ता नियामकीय परिवर्तनहरूलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्ने क्षमता राखेकोले भविष्यमा स्थिर आम्दानी र बजारमा उपस्थिति कायम राख्न सक्षम हुने विश्वास गरिएको छ ।
कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट करिब २ अर्ब रुपैयाँ ऋण लिएको छ । कम्पनीका अनुसार ४ करोड रुपैयाँ दीर्घकालीन र २ अर्ब ६६ करोड ५० लाख रुपैयाँ अल्पकालीन गरी कुल १ अर्ब ९१ करोड रुपैयाँ लिएको छ।