काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको खार्ग टापुमा रहेका सैन्य सम्पत्तिमाथि आक्रमण गर्न दिएको आदेशपछि तेहरानको सबैभन्दा महत्त्वपूर्ण तेल केन्द्रमध्ये एक अमेरिकी–इरान द्वन्द्वको केन्द्रमा पुगेको छ।
ट्रम्पले शुक्रबार राति गरिएको आक्रमण सैन्य संरचनालाई लक्ष्य बनाएर गरिएको र तेल पूर्वाधारलाई नछोइएको बताएका छन् । उनले यदि इरानले विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण समुद्रीमार्ग स्ट्रेट अफ हर्मुजमा व्यावसायिक जहाजमाथि आक्रमण जारी राखेमा अमेरिकाले खार्ग टापुस्थित कच्चा तेल संरचनामाथि पनि आक्रमण गर्न सक्ने चेतावनी दिएका छन् ।
भान्डा इन्साइट्सकी संस्थापक वन्दना हरिले सोमबार सीएनबीसीलाई इमेलमार्फत भनेकी छन्, ‘खार्गका सैन्य संरचनामाथि गरिएको आक्रमण तेहरानलाई चेतावनी दिनका लागि गरिएको हो । यदि उसले स्ट्रेट अफ हर्मुज पुनः खुला नगरेमा टापुको तेल पूर्वाधार अर्को लक्ष्य बन्न सक्छ ।’
खार्ग आइल्यान्डलाई इरानका लागि सबैभन्दा संवेदनशील आर्थिक लक्ष्यमध्ये एक मानिन्छ । करिब पाँच माइल लामो यो कोरल टापु उत्तरी फारसको खाडीमा इरानको मुख्यभूमिबाट करिब १५ माइल टाढा अवस्थित छ । यहाँबाट इरानको झन्डै ९० प्रतिशत कच्चा तेल निर्यात हुने गर्दछ । साथै यस टापुमा दैनिक करिब ७ मिलियन ब्यारेल तेल लोड गर्ने क्षमता रहेको छ, जसले तेहरानको ऊर्जा आम्दानीका लागि यसलाई अत्यन्त महत्त्वपूर्ण प्रवेशद्वार बनाएको छ ।
इरानको आर्थिक जीवनरेखा
जेपीमोर्गन चेसले उपलब्ध गराएको तथ्यांकअनुसार यदि यस टापुस्थित इरानको निर्यात टर्मिनलमा प्रत्यक्ष आक्रमण भयो भने दैनिक करिब १५ लाख ब्यारेल कच्चा तेल निर्यात तुरुन्तै बन्द हुन सक्छ ।
हरिका अनुसार, ‘तेल पूर्वाधार नष्ट भएमा त्यसलाई पुनःनिर्माण गर्न वर्षौं लाग्न सक्छ, जसले देशलाई यसको सबैभन्दा महत्त्वपूर्ण आम्दानी स्रोतबाट वञ्चित बनाउँछ ।’
ऊर्जा विश्लेषकहरूका अनुसार वाशिङ्टनले खार्ग टापुलाई लक्ष्य बनाउनुको कारण इरानका लागि यसको रणनीतिक महत्त्व मात्र होइन, विश्व तेल बजारमा यसको प्रभाव पनि हो ।
बाइसन इन्टरेस्ट्सका प्रमुख लगानी अधिकृत जोश यङका अनुसार ‘इरानसँग अन्य बन्दरगाहहरू पनि छन्, तर यदि अमेरिकाले खार्ग टापु नियन्त्रणमा लिए वा नष्ट गर्यो भने अन्य निर्यात संरचनामाथि पनि त्यस्तै गर्न सक्ने सम्भावना हुन्छ ।’
यद्यपि, एन्डी लिपोवका अनुसार यस्तो आक्रमणले निर्यातमा ठूलो अवरोध ल्याउन सक्छ, तर इरानसँग केही सीमित वैकल्पिक मार्गहरू भने छन् ।
उनका अनुसार इरानले आफ्नो गोरेह–जास्क पाइपलाइन प्रयोग गर्न सक्छ, जसले खार्ग टापु र स्ट्रेट अफ हर्मुज दुबैलाई छल्दै दैनिक करिब १५ लाख ब्यारेल तेल बोक्न सक्छ । तैपनि विश्लेषकहरूले खार्ग टापुमाथि आक्रमण हुनु ठूलो तनाव वृद्धि हुने चेतावनी दिएका छन् ।
एडवार्ड फिशमनका अनुसार ‘तेहरानले त्यसको जवाफमा क्षेत्रका अन्य ऊर्जा पूर्वाधारमाथि आक्रमण बढाउन सक्छ, उदाहरणका लागि साउदी अरबको विशाल तेल प्रशोधन केन्द्र ।’
तेल बजारमा प्रभाव
जेफ क्युरीका अनुसार यस द्वन्द्वले ऊर्जा आपूर्ति शृंखलाको मूल्य निर्धारणमा संरचनात्मक परिवर्तन ल्याइरहेको छ । पूर्व गोल्डम्यान स्याच्सका कमोडिटी प्रमुख समेत रहेका उनले आफ्नो नोटमा लेखेका छन् कि खार्ग टापुमा भएको क्षति युद्धको अवस्थामै छिटो मर्मत गर्न सम्भव हुँदैन ।
उनका अनुसार ‘अन्तिम क्षेप्यास्त्र प्रहार रोकिएपछि पनि युद्ध जोखिम बीमाको प्रिमियम लामो समयसम्म उच्च रहने सम्भावना छ । साथै भण्डारण बढाउने, सम्झौता पुनःसम्झौता गर्ने र वैकल्पिक आपूर्तिकर्ता खोज्ने जस्ता व्यवहारले आपूर्ति शृंखलाको मूल्य संरचना स्थायी रूपमा परिवर्तन गर्न सक्छ ।’
करीका अनुसार विश्व अब यस्तो नयाँ ऊर्जा संरचनातर्फ अघि बढिरहेको छ जहाँ सुरक्षा जोखिमहरू नै वस्तुहरूको मूल्यमा समावेश हुन्छन् ।
सोमबार कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलर नाघेको थियो । अन्तर्राष्ट्रिय मापदण्ड मानिने ब्रेन्ट क्रुड तेलको मूल्य अमेरिकी समयअनुसार राति ९:४८ बजे प्रति ब्यारेल १०४ डलर पुगेको थियो, जुन ०.८८ प्रतिशतले बढेको हो ।
करीले भनेका छन्, ‘जुनसुकै वस्तु यदि कुनै महत्त्वपूर्ण अवरोध बिन्दु हुँदै ढुवानी गर्नुपर्छ भने त्यसको मूल्यमा सुरक्षा जोखिमको अतिरिक्त प्रिमियम जोडिन सक्छ ।’
तेल बजारका लागि यसको अर्थ के हो भने खार्ग टापुमाथिको सम्भावित खतरा मात्रले पनि वास्तविक आक्रमणजत्तिकै प्रभाव पार्न सक्छ ।
के इरानले ‘स्ट्रेट अफ हर्मुज’ इजरायल र अमेरिकाका लागि मात्र बन्द गर्न सक्छ ?
युद्धको रापबीच इरान–चीन तेल ‘कनेक्सन’ : हर्मुजको अवरोध छिचोल्दै करोडौं ब्यारेल बेइजिङतिर
मध्यपूर्व द्वन्द्व : एसियामा इन्धन संकट, चारदिने कार्यसप्ताह र विद्यालय बन्द
इरानको भविष्य मोज्तबा खामेनेईको हातमा, के उनले सत्ता चलाउन सक्लान् ?
मध्यपूर्वको रापमा विश्व अर्थतन्त्र : केन्द्रीय बैंकहरूको ‘अग्निपरीक्षा’ र मुद्रास्फीति बढाउने जोखिम
इरान : शून्यमा सत्ता, संकटमा शासन
खाडी संकट गहिरिँदै : बीमा कम्पनीहरू पछि हट्दा विश्व ऊर्जा बजार त्रसित
इरान र इजरायल : मित्रतादेखि कट्टर दुश्मनीसम्म, यस्तो छ नालीबेली