एकै खेतमा दुई उत्पादन, यस्तो छ १५ सय वर्ष पुरानो ‘राइस-फिस फार्मिङ’

काठमाडौं । धानखेतीसँगै माछापालन सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर छिमेकी मुलुक चीनमा धानसँगै माछा पालन गर्ने ‘राइस–फिस फार्मिङ’ हजारौं वर्ष पुरानो अभ्यासको रूपमा स्थापित छ । 

कृषि इतिहाससम्बन्धी अध्ययनहरूका अनुसार यो प्रणाली पन्ध्र सय वर्ष पहिलादेखि प्रचलनमा रहेको देखिन्छ । 

विशेषगरी चिङथ्येन काउन्टी, झेजियाङ प्रान्तमा पन्ध्र सय वर्षदेखि धान र माछाको सहखेती हुँदै आएको अभिलेख पाइन्छ ।

धान–माछा सहखेती कुनै एक व्यक्तिको आविष्कार नभई किसानहरूको दीर्घ अनुभव र स्थानीय परिस्थितिक अवस्थाको बुझाइबाट विकास भएको धारणा मानिन्छ । धानखेतीमा सधैं पानी रहने भएकाले त्यही पानीमा माछा हुर्काउने उपाय खोज्दै जाँदा यो प्रणाली विकसित भएको कृषि विज्ञहरू बताउँछन् । 

null

समयसँगै यसले वैज्ञानिक आधार पनि पायो– जस्तो कि माछाले खेतभित्रका कीरा र झार नियन्त्रण गर्नु, माछाको मलले माटोको उर्वरता बढाउनु र धानले माछालाई छायाँ तथा सुरक्षित बासस्थान उपलब्ध गराउनु  ।

स्थानीय कृषि विभागको रिपोर्ट अनुसार करिब ३५ हजार किसानहरू यस धान–माछा प्रणालीमा प्रत्यक्ष रूपमा संलग्न छन् ।

राष्ट्रीय अध्ययनहरूले देखाउँछन् कि चीनमा लगभग १ लाख ६७ हजार हेक्टर क्षेत्र धान–माछा समुदायमा रूपान्तरण भइसकेको छ, जुन देशभरिको कुल धान लगाइएका क्षेत्रको केही प्रतिशत मात्र हो ।

null

हाल चीन विश्वकै ठूलो धान उत्पादक देशमध्ये एक हो । विभिन्न कृषि प्रतिवेदनहरूका अनुसार चीनमा धानखेती करिब ३० मिलियन हेक्टर हाराहारीमा फैलिएको अनुमान छ । 

कृषि अनुसन्धानका निष्कर्षअनुसार एउटै खेतबाट धान र माछा दुवै उत्पादन हुँदा कुल आम्दानी परम्परागत धानखेतीभन्दा २०–३० प्रतिशतसम्म वृद्धि हुने देखिएको छ ।  उत्पादन विविधिकरणका कारण किसानले अतिरिक्त नगद आय प्राप्त गर्नुका साथै जोखिम पनि विभाजन गर्न सकेका छन् ।

परम्परागत महत्त्व र दिगोपनको मूल्याङ्कन गर्दै खाद्य तथा कृषि संगठन (एफएओ) ले चिङथ्येनको धान–माछा प्रणालीलाई  विश्वव्यापी रूपमा महत्त्वपूर्ण कृषि सम्पदा प्रणालीहरू (जीआईएएचएस) सूचीमा सूचीकृत गरेको छ।

null

विशेषज्ञहरूका अनुसार धान–माछा सहखेतीको प्रमुख फाइदा एउटै जमिनबाट बहुउत्पादन लिन सक्नु हो । धानसँगै प्रोटिनयुक्त माछा उत्पादन हुँदा किसानको आम्दानी र पोषण सुरक्षा दुवैमा सुधार देखिन्छ । माछाले कीरा खाएर प्राकृतिक जैविक नियन्त्रण गर्ने भएकाले रासायनिक विषादीको प्रयोग घट्ने र माछाको मलले जैविक उर्वरता बढाउने बताइन्छ । यसले उत्पादन लागत घटाउनुका साथै वातावरणीय सन्तुलनमा सकारात्मक प्रभाव पार्ने कृषि अनुसन्धानहरूले देखाएका छन्।

वातावरणविद्हरूले यो प्रणालीलाई जलवायु–स्मार्ट कृषि अभ्यासका रूपमा पनि लिन्छन् । कम रासायनिक इनपुट, माटोको स्वास्थ्यमा सुधार र जैविक विविधताको संरक्षणले दीर्घकालीन दिगोपनमा योगदान पुर्याउने उनीहरूको भनाइ छ । 

धानखेतीलाई सानो पारिस्थितिकी तन्त्रमा रूपान्तरण गर्दै पानी, माटो र जीवबीच सन्तुलन कायम गर्ने यो मोडेल विश्वका विभिन्न देशहरूमा पुनः चर्चामा आउन थालेको छ ।

null

यद्यपि चुनौतीहरू पनि छन् । पानी व्यवस्थापनमा दक्षता, उपयुक्त माछा प्रजाति छनोट, प्रारम्भिक संरचनागत लगानी र बजार पहुँचजस्ता पक्षमा ध्यान दिनुपर्ने विज्ञहरू बताउँछन् । उचित तालिम, प्रविधि र नीतिगत समर्थन उपलब्ध भएमा यी चुनौतीहरू व्यवस्थापनयोग्य हुने उनीहरूको निष्कर्ष छ ।

कृषि क्षेत्रमा दिगो उत्पादन र पोषण सुरक्षाको खोजी भइरहेका बेला चीनको धान–माछा सहखेती प्रणाली परम्परा र आधुनिक विज्ञानको सफल संयोजनका रूपमा उदाहरणीय देखिएको छ । 

Share News