काठमाडौं । विश्वव्यापी परोपकारी संस्था अक्सफामले सोमबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार अर्बपतिहरूको कुल सम्पत्ति तीव्र रूपमा बढ्दै ऐतिहासिक उच्चस्तर १८.३ ट्रिलियन अमेरिकी डलर पुगेको छ । प्रतिवेदनले अति–धनीहरू आफ्नै स्वार्थका लागि शक्ति हासिल गर्न खोजिरहेको उल्लेख गरेको छ ।
गत वर्ष अर्बपतिहरूको संख्या ३ हजार नाघेको थियो । सोही अवधिमा उनीहरूको नेटवर्थ १६ प्रतिशत अर्थात् २.५ ट्रिलियन डलरले बढेको प्रतिवेदनमा उल्लेख छ । यससँगै सन् २०२० यता अर्बपतिहरूको सम्पत्ति ८१ प्रतिशतले वृद्धि भएको अक्सफामले जनाएको छ र यो समयलाई ‘अर्बपतिहरूका लागि राम्रो दशक’को संज्ञा दिएको छ ।
धनीहरू अझ धनी बन्दै जाँदा गरिबी न्यूनीकरणको गति भने सुस्त भएको छ । अक्सफामको प्रेस विज्ञप्तिअनुसार गरिबीको अवस्था ‘सामान्यतः सन् २०१९ कै स्तर वरिपरि’ रहेको छ ।
अक्सफामले अति–धनीहरूले राजनीतिक शक्ति सुनिश्चित गर्न र सञ्चारमाध्यमको स्वामित्व लिन आफ्ना सम्पत्ति प्रयोग गर्ने गरेको पनि जनाएको छ । यसका उदाहरणस्वरूप सन् २०२५ को सुरुवातमा अमेरिकी प्रशासनमा अर्बपति एलन मस्कको संलग्नता, जेफ बेजोसको द वासिङ्टन पोस्ट माथिको स्वामित्व तथा अर्बपति भिन्सेन्ट बोलोरेले फ्रान्सेली समाचारमाध्यम सी–न्युज खरिद गरेको उल्लेख गरिएको छ।
अक्सफामका कार्यकारी निर्देशक अमिताभ बेहरले ‘धनीहरूको शासनविरुद्ध प्रतिरोधः अर्बपति शक्तिबाट स्वतन्त्रताको रक्षा’ शीर्षकको प्रतिवेदनमा भनेका छन्, ‘अति–धनीहरूले हाम्रा राजनीतिज्ञ, अर्थतन्त्र र सञ्चारमाध्यममाथि राख्ने अत्यधिक प्रभावले असमानता झन् गहिरो बनाएको छ र गरिबी उन्मूलनको प्रयासलाई गलत दिशातर्फ डोर्याएको छ ।’
अक्सफामले सन् २०१४ यता प्रत्येक वर्ष स्विट्जरल्याण्डको दाभोसमा हुने विश्व आर्थिक मञ्च (डब्ल्यूईएफ) को वार्षिक बैठकसँगै असमानतासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । गत वर्ष अक्सफामले आगामी एक दशकभित्र कम्तीमा पाँच जना ‘ट्रिलियनियर’ देखिने भविष्यवाणी गरेको थियो र धनीहरूले आफ्नो न्यायोचित कर तिर्ने सुनिश्चित गर्न विश्वव्यापी कर नीतिको आह्वान गरेको थियो ।
यस वर्ष सोमबारदेखि सुरु हुने दाभोस सम्मेलनमा करिब ६५ राष्ट्रप्रमुख तथा सरकार प्रमुख र ८५० प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहभागी हुनेछन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार प्रतिनिधिहरूलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
‘धनी र बाँकी जनताबीचको बढ्दो खाडलले अत्यन्त खतरनाक र दीर्घकालीन रूपमा अस्थिर राजनीतिक अभाव सिर्जना गरिरहेको छ,’ बेहरले भने ।
‘सरकारहरूले अभिजात वर्गलाई खुसी पार्न र सम्पत्तिको रक्षा गर्न गलत निर्णय गरिरहेका छन्, जसले जनताको अधिकार र बढ्दो जीवनयापन खर्च असह्य बन्दै गएकोप्रति रहेको आक्रोशलाई दबाउने काम गरिरहेको छ,’ उनले थपे ।
सन् २०२५ मा ट्रम्पको ‘बिग ब्युटिफुल बिल’ ले धनी वर्गका लागि विभिन्न कर छुटहरू ल्यायो, जसअन्तर्गत वार्षिक १० लाख डलरभन्दा बढी कमाउनेहरूको आम्दानी करिब ३ प्रतिशतले बढेको छ ।
यसैबीच, लुडविग इन्स्टिच्युट फर सेयर्ड इकोनोमिक प्रोस्पेरिटीले सन् २०२३ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार अधिकांश अमेरिकीहरू अब ‘न्यूनतम जीवनस्तर’ समेत धान्न नसक्ने अवस्थामा पुगेका छन् । अमेरिकी जनगणना ब्युरोले सेप्टेम्बरमा प्रकाशित गरेको तथ्यांकअनुसार सन् २०२४ मा करिब १० प्रतिशत अमेरिकी गरिबीमा बाँचिरहेका थिए ।
अक्सफामले सरकारहरूलाई राष्ट्रिय असमानता न्यूनीकरण योजना बनाउन, अति–धनीमाथि कर लगाएर उनीहरूको शक्ति घटाउन, राजनीति र सम्पत्तिबीच कडा ‘फायरवाल’ कायम गर्न तथा अभिव्यक्ति स्वतन्त्रताको बलियो संरक्षण सुनिश्चित गर्न आह्वान गरेको छ ।
यो प्रतिवेदन गत महिना लामो समयदेखि चलिरहेको आर्थिक संकटविरुद्ध सुरु भएका प्रदर्शनपछि हो । अक्सफामका अनुसार गत वर्ष ६८ देशमा १४० भन्दा बढी ‘महत्त्वपूर्ण’ सरकारविरोधी प्रदर्शन भएका थिए, जसलाई अधिकारीहरूले ‘प्रायः हिंसाका साथ’ सामना गरेका थिए ।
‘आर्थिक रूपमा गरिब हुनु भनेको भोक सिर्जना हुनु हो । राजनीतिक रूपमा गरिब हुनु भनेको आक्रोश सिर्जना हुनु हो,’ बेहरले भने ।
अक्सफामको प्रतिवेदनले धनी राष्ट्रहरूले ‘पहिलेभन्दा अझ छिटो र अझ धेरै’ वैदेशिक सहायता कटौती गरिरहेको उल्लेख गरेको छ । यूएसएआईडी बन्दजस्ता कटौतीहरूले सन् २०३० सम्म थप १ करोड ४० लाख मानिसको मृत्यु हुन सक्ने चेतावनी अक्सफामले दिएको छ ।