एसियाको वर्ष समीक्षा : २०२५ मा कसको अवस्था सबैभन्दा राम्रो र कसको सबैभन्दा खराब ?

गत भदौमा भएको जेनजी आन्दोलनको क्रममा प्रहरीको हतियार खोसेका एक आन्दोलनकारी । तस्बिर : नरेश बोहोरा

काठमाडौं । कस्तो वर्ष रह्यो त यो ? धेरैका लागि त यो सकेसम्म छिटो सकियोस् भन्ने चाहना स्वाभाविक नै थियो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पका ट्यारिफ नीतिहरूको प्रभावदेखि एसियाभरि भएका प्राकृतिक तथा मानव निर्मित विपत्तिसम्म । नयाँ नेताहरूले ऐतिहासिक ‘ग्लास सिलिङ’ तोडेकोदेखि पुराना नेताहरूलाई अन्तर्राष्ट्रिय अपराध अदालत (आईसीसी) सम्म पुर्याइने वा अनुपस्थितिमै मृत्युदण्ड सुनाइने घटनासम्म । सीमापार क्षेप्यास्त्र प्रहार । 

दक्षिण एसिया र प्रशान्त क्षेत्रमा आतंकवादी आक्रमण । दीर्घकालीन भ्रष्टाचारका चुनौती र रियल इस्टेट क्षेत्रका समस्या । साथै ठगीमा परेका र दास बनाइएका मानिसहरू ।

२०२५ अन्त्यतिर आइपुग्दा हामी फर्केर हेर्छौ– कसको वर्ष खराब रह्यो र कसको राम्रो ।

सबैभन्दा खराब वर्ष : एसियाका साइबर ठगी पीडितहरू

यो वर्ष दक्षिणपूर्वी एसियाबाट उत्पन्न हुँदै विश्वभर फैलिएको साइबर अपराधको बढ्दो तुफान देखियो । म्यानमार, लाओस र कम्बोडियाबाट मुख्यतः सञ्चालन हुने आपराधिक गिरोहहरूले विश्वभरका पीडितबाट अर्बौं डलर ठगे।

यहाँ अपराधी स्वयं पनि पीडित नै छन् । नक्कली रोजगारीका प्रस्तावमा फसाइएर ती देशहरूमा लगिएका थिए । सयौं हजार मानिसहरू इच्छाविपरीत थुनिए, जहाँ उनीहरूलाई ठगी केन्द्रहरूमा काम गर्न बाध्य पारियो । उनीहरूमध्ये धेरैजसो थाइल्यान्ड हुँदै गएका थिए।

जनवरी २०२५ मा चिनियाँ अभिनेता वाङ सिङलाई नक्कली अभिनयको कामको प्रलोभन देखाएर अपहरण गरी एउटा ठगी केन्द्रमा काम गर्न बाध्य पारिएको घटनाले विश्वको ध्यान खिच्यो । ट्रम्प प्रशासनले समेत यसमा चासो देखायो । अमेरिकी अभियोजक जेनिन पिरोले भनिन्, ‘यी ठगी केन्द्रहरूले मेन स्ट्रिट अमेरिकाबाट चिनियाँ संगठित अपराधको खल्तीमा पुस्तान्तरणीय सम्पत्ति सारिरहेका छन् ।’

कमजोर सरकार र व्यापक भ्रष्टाचारका कारण दक्षिणपूर्वी एसियामा अर्बौं डलरका यस्ता आपराधिक सञ्जालहरू लगभग दण्डहीन रूपमा सञ्चालन भइरहेका छन् । कैदीहरू मुक्त गर्ने र केन्द्रहरू बन्द गर्ने प्रयास हुँदाहुँदै पनि यस्ता खालका घटनाहरू भइरहेका हुन् ।

यदि यी रोकिएनन् भने यी सञ्जालहरूले एआई र डीपफेक प्रयोग गर्दै अझै परिष्कृत अपराध गर्नेछन् । त्यसैले भाग्ने र उद्धार हुने आशा अत्यन्तै कम भएका एसियाका साइबर ठगीमा दास बनाइएका पीडितहरूले २०२५ मा एसियाको सबैभन्दा खराब वर्ष भोग्ने दुर्भाग्यपूर्ण उपाधि पाएका छन् ।

खराब वर्ष : माटो, हावा, पानी र आगोका सिकार

वर्षको अन्त्यतिर एसियाका विशाल भूभागमा मृतक संख्या झनै बढेको देखियो । २०२५ भरि नै भूकम्प, आँधी, बाढी जस्ता प्राकृतिक विपत्तिका कारण अत्यधिक मानिसहरूले ज्यान गुमाए, जसलाई मानव भ्रष्टाचार र अकुशलताले अझै गम्भीर बनाएको देखियो ।

मार्च २८ मा म्यानमारमा गएको भूकम्पले ३ हजार ६०० भन्दा बढीको ज्यान लियो, करिब २ लाख मानिस विस्थापित भए र टाढाको बैंककसम्म निर्माणाधीन गगनचुम्बी भवन ढल्दा दर्जनौंको मृत्यु भयो । श्रीलंका, थाइल्यान्ड, इन्डोनेसिया, भियतनाम, मलेसिया र फिलिपिन्समा बाढी, पहिरो र आँधीले लाखौंलाई प्रभावित गर्यो र १ हजार ६०० भन्दा बढीको ज्यान गयो ।

यसमा आगलागी पनि थपियो । वर्षको अन्त्यतिर हङकङको ताइ पोस्थित वाङ फुक कोर्ट अपार्टमेन्टमा भएको भयावह आगलागीले संसारभर टेलिभिजन पर्दामा डरलाग्दा दृश्य देखायो । काम नगर्ने फायर अलार्म र कमजोर निर्माण सामग्रीले कम्तीमा १६० जनाको ज्यान गएको यो घटनालाई सहरकै सबैभन्दा घातक आगलागीमध्ये एक बनायो ।

मिश्रित वर्ष : जेनजी आन्दोलन

मीम, ह्यासट्याग र रिल्ससहित जापानी एनिमे तथा मंगा शृंखला ‘वन पिस’ बाट चर्चित ‘जोली रोजर’ झन्डा फहराउँदै परिवर्तनको चाहना बोकेका जेनजी युवाहरूका लागि २०२५ मिश्रित रह्यो ।

१९९७ देखि २०१२ बीच जन्मिएका यी युवाहरू नेपाल, इन्डोनेसिया, फिलिपिन्स, माल्दिभ्स र नयाँ आसियान सदस्य राष्ट्र तिमोर–लेस्टेसम्म सडकमा उत्रिए, जहाँ भ्रष्टाचार, नातावाद र आर्थिक असमानताविरुद्ध प्रदर्शन भए । नतिजा भने मिश्रित नै रहे यद्यपि एसियाभर उनीहरूको असन्तोष साझा थियो ।

जेनजीले नेपालमा सरकार ढाल्न सफल भए । अघिल्लो वर्ष बंगलादेशमा पनि यही पुस्ताले सरकार पतनमा मुख्य भूमिका खेलेको थियो । अन्य देशमा २०२५ मा साना–साना सहमति हासिल भए । तर वर्षको अन्त्यसम्म आइपुग्दा प्रश्न उही रह्यो— इन्टरनेट युगमै हुर्किएको पहिलो पुस्ता जेनजीले यो ऊर्जा कायम राखेर रचनात्मक परिवर्तनका लागि दिगो आन्दोलन बनाउन सक्छ कि सक्दैन ?

भ्रष्टाचार जरा गाडिएका प्रणाली सुधार्ने, यथास्थितिप्रतिको युवाको गहिरो निराशा कम गर्ने र थप आर्थिक अवसर सिर्जना गर्ने राजनीतिक शक्तिको आशा अझै बाँकी छ । ‘वन पिस’ का पात्र मन्की डी. लुफीको भनाइ सापटी लिँदै– ‘जोखिम नलिए भविष्य निर्माण गर्न सकिँदैन ।’

राम्रो वर्ष : एसियाको ‘बाँसजस्तो आर्थिक रणनीति’

वर्षको अन्त्यतिर सुस्त भए पनि बढ्दै गरेका एसियाली अर्थतन्त्रहरूमा लचिलोपन देखियो । ट्रम्पका ‘लिबरेसन डे’ ट्यारिफहरू सामना गर्न क्षेत्रका नेताहरूले उच्च हावामा झुक्ने बाँसजस्तै लचकदार रणनीति अपनाए ।

यसले ‘बाँसजस्तो आर्थिक रणनीति’ लाई सफल बनायो । व्यावहारिकताका लागि परिचित एसियाली देशहरूले नयाँ विश्व आर्थिक यथार्थलाई व्यवस्थापन गर्न सके । परिणामस्वरूप अमेरिकी ट्यारिफहरू प्रारम्भिक प्रस्तावभन्दा घटे, व्यापार संरचना पुनर्संयोजन भए र नयाँ आर्थिक रणनीतिहरू विकसित भए ।

यसको उदाहरण भारत, क्यानडा र अस्ट्रेलियाबीच प्रविधि र नवप्रवर्तनमा भएको सहकार्य सम्झौता हो, जसले एसियाली देशहरूको आफ्नै ‘आर्ट अफ द डिल’ झल्काउँछ ।

एशियाली विकास बैंकका अनुसार आर्थिक पुनःसमायोजनले विकासशील एसियालाई करिब ५ प्रतिशतको वृद्धिदर कायम राख्न सहयोग गर्यो । यसले एसियालाई विश्वकै सबैभन्दा तीव्र गतिमा बढ्ने क्षेत्रको रूपमा कायम राख्यो ।

सबैभन्दा राम्रो वर्ष : चिनियाँ ‘सफ्ट पावर’

यदि प्रविधि र सिर्जनात्मक सामग्री नै नयाँ सफ्ट पावर हुन् भने २०२५ ले ‘मेड इन चाइना’ पनि यस दौडमा बलियो प्रतिस्पर्धी हुन सक्ने देखायो । बेइजिङले अमेरिका र कोरियासँगै सफ्ट पावर महाशक्तिको सूचीमा स्थान बनायो ।

वर्षको सुरुवात जनवरीको अप्रत्याशित घटनाबाट भयो( कम लागतको एआई मोडल ‘डीपसिक’ सार्वजनिक । जसले च्याटजिपिटी र अमेरिकी प्रविधि प्रभुत्वमा मोहित संसारलाई चकित पार्यो । वर्षको अन्त्यतिर ‘लाबुबु’ ले विश्वभर तहल्का मच्चायो, यहाँसम्म कि न्यूयोर्कको प्रसिद्ध मेसी’ज थ्यांक्सगिभिङ डे परेडमा समेत देखियो । लाबुबु हङकङका कलाकार तथा लेखक कासिङ लुङद्वारा सिर्जित ‘द मन्स्टर्स’ समूहको पात्र हो ।

यसैगरी, बीवाइडी विद्युतीय सवारीदेखि अहिलेसम्मकै सबैभन्दा धेरै कमाइ गर्ने एनिमेटेड फिल्म ‘ने झा २’ (करिब २ अर्ब डलर कमाइ), एनबीए कोर्टमा देखिएका ली–निङ जुत्ता र एसिया तथा अमेरिकाभर तीव्र गतिमा खुलिरहेका लकइन कफी पसलसम्म २०२५ मा चिनियाँ सफ्ट पावरले आफ्नो अद्भूत क्षमता देखायो । त्यसैले यसले एसियामा सबैभन्दा राम्रो वर्षको उपाधि पाएको छ ।

२०२६ सबैका लागि अझ राम्रो, सुरक्षित र शान्तिपूर्ण रहोस् ।

(सीएनबीसीबाट अनुदूति तथा सम्पादित)

Share News