काठमाडाैं । ‘एक रुपैयाँ कसैलाई मागेर चलाउन नपरोस्, जति सकिन्छ आफ्नै बलबुतामा त्यो पनि इमानदार तरिकाले गर्नुपर्छ,’ यही सोचले करोडौंका मालिक बनेका व्यक्ति हुन् ज्ञानेन्द्रमान सिंह कार्की । जिन्दगीका आरोह–अवरोह पार गर्दै एउटा चिकित्सकबाट मालिक बनेका उनी चिकित्सा क्षेत्रमा प्रतिष्ठित चिकित्सकको रूपमा चिनिन्छन् ।
स्त्रीरोग विशेषज्ञको रूपमा दक्षता राख्ने कार्कीले अहिलेसम्म कतिलाई नयाँ जीवन दिए त्यसको हिसाब छैन । स्त्रीरोग सम्बन्धी विशेषज्ञ खासै नभएको बेलामा उनी विशेषज्ञका रूपमा काम गरिरहेका थिए । स्त्रीरोग सम्बन्धी विशेषज्ञ औंलामा गन्न सकिने अवस्था डा. भोला रिजाल पछिको विशेषज्ञ सायद उनै थिए ।
एउटा चिकित्सकको रूपमा स्वास्थ्य क्षेत्रमा प्रवेश गरेका कार्की अहिले स्वास्थ्य संस्थाको मालिक बनेका छन् । अझ रोचक त के छ भने एउटा सरकारी अस्पतालबाट सेवा सुरु गरेका उनी अहिले निजी स्वास्थ्य संस्थाको पक्षमा पैरवी गरिरहेको पाइन्छ ।
नेपालमै निजी स्वास्थ्य संस्था नभएको बेला डा. कार्कीले पूर्वाञ्चल क्षेत्रमा निजीको बीजारोपण गरेका थिए । एउटा पुरानो घरको एक बेडबाट सुरु गरेको उनको स्वास्थ्य यात्रा अहिले एक हजार बेडमा पुगेको छ । कार्कीले बिरामीलाई सेवामात्र होइन, बिरामीलाई सेवा गर्ने जनशक्ति पनि उत्पादन गर्दै आएका छन् ।
पेशाले एउटा चिकित्सक सर्जन, व्यवसायी विराट मेडिकल कलेजको अध्यक्ष, एशोसियसन अफ प्राइभेट मेडिकल कलेज एण्ड डेन्टल हस्पिटलको अध्यक्ष, प्रोफेसरलगायत धेरै भूमिकामा रहेका कार्कीले कसरी सफलता हात पारे कतिपयलाई कौतुहलता पनि छ । उनी भने निरन्तरको प्रयास काम प्रतिको लगाव र मिहिनेतले यो स्थानमा पुग्न सकेको बताउँछन्।
विभिन्न पदमा रहेका कार्की अहिले पनि आफ्नो मुख्य भूमिका पढ्ने र पढाउने रहेको बताउँछन् । त्योभन्दा बाहेक उनी शल्यचिकित्सा पनि गर्छन् । पहिलेको जस्तो ओपीडीमा समय दिन पाउँदैनन् । सुरुवाती दिनमा हप्ताको सात दिन महिनाको तीस दिन, वर्षको ३ सय ६५ दिनमा नै उपचारमा उनी उपचारमा व्यस्त हुन्थे । उनले २० वर्षसम्म यो कामलाई निरन्तरता दिए । त्यसपछि आफ्नै संस्था सञ्चालनमा ल्याएका हुन् ।
प्रसूति गृहबाट सेवामा प्रवेश
आजभन्दा ३९ वर्ष पहिले सन् १९८६ मा डा. कार्की रसियाबाट एमडी सकेर नेपाल फर्के । नेपालमा निजी अस्पताल थिएनन् । सरकारी अस्पताल, वीर, प्रसूति गृह, पाटन अस्पताल र टिचिङमात्र थिए । विज्ञता भएपनि काम पाउन निकै सकस थियो । सोर्सफोर्स सबै प्रयोग गर्दा पाउने सम्भावना हुन्थ्यो । उनले जागिरका लागि वीर अस्पताल निकै धाए । चिनेका मान्छेहरूलाई भेटे । भोलेन्टियरको रूपमा काम पाउन पनि हातखुट्टा ढोग्नुपथ्र्याे । चार पाँच महिना धाउँदा पनि भोलिन्टियर नपाउँदा उनलाई प्रसूति अस्पतालमा काम गर्ने अवसर मिल्यो । तलब एक हजार ५० रुपैयाँ थियो ।
‘लोकसेवा सितिमिति खुल्दैन थियो, खुलेपनि ५÷१० जना मात्र हुन्थे,’ त्यो बेलाको स्मरण गर्दै कार्की भन्छन्, ‘पढेर आएपनि काम गर्न दौडधूप गर्नपर्यो, चिनेको दाइ प्रसूतिमा हुँदा बल्ल त्यहाँ पस्ने मौका पाएँ ।’
एक वर्ष प्रसूतिमा काम गरिसकेपछि कार्की पाटन अस्पतालमा गए । अस्पतालमा काम गर्दागर्दै उनी तीन वर्षे एमएस गर्न रसिया पुगे । रसियाबाट पढाइ सकेर उनले फेरि प्रसूतिमै काम गरे । त्यतिबेला उनको तलब २ हजार ६ सय रुपैयाँ थियो ।
त्यतिबेलासम्म केही निजी क्लिनिक पनि खुलिसकेका थिए । सरकारी अस्पताल, निजी अस्पतालमा काम गर्दा कार्कीले पैसा पनि राम्रै कमाउन थालिसकेका थिए । तर आमाको मृत्युपछि उनी विक्षिप्त भए । २०४९ सालमा आमाको मृत्युपछि उनी आफ्नै ठाउँ विराट नगरमा फर्किने निधोमा पुगे ।
दमक घर, रसियन केटीसँग प्रेम
कार्कीको घर पूर्वको झापा दमक हो । दमकमा जन्मे पनि हुर्काइ बढाइ विराटनगर भयो । उनलाई दमक बसेको त्यति याद छैन । उनी तीन वर्ष हुँदा उनका बुवाको निधन भएको थियो ।
बुवाको निधनपछि घरको जिम्मेवारी उनका ठूलदाइ रिद्धबहादुर कार्कीले सम्हाले । जो अहिले स्वर्गीय भइसकेका छन् । दाइ उनीभन्दा ६ वर्षमात्र ठूला थिए । ‘बुवालाई देख्न पाइनँ तर बुवाको रूपमा दाइलाई देखेँ, मेरो जीवनको हरेक कुरा मेरो दाइले गाइड गर्नुभयो, आज जे छु त्यसमा सबैभन्दा ठूलो हात मेरो दाइको छ,’ कार्कीले भने ।
कार्की विराटनगरमा राधाकृष्ण माविमा पढे । उनलाई ८ वर्षको हुँदा चार कक्षामा भर्ना गरिएको थियो । १३ वर्षको हुँदा एसएलसी पास गरिसकेका थिए । तर उनले उमेर बढाएर १६ वर्ष बनाएका थिए । एसएलसीपछि ५–६ महिना विराटनगरमै पढे । त्यसपछि दार्जिलिङ पढ्न गए ।
दार्जिलिङमा आइएसी गरे । मेडिसिनको लागि पनि तयारी गरिराखे । चार वर्षको बिएसी कोर्समा उनले बटनी विषय लिएर पढे । बिएसीपछि उनी एमएसीको तयारी गरिरहेका थिए । तर चिकित्सा शिक्षाका लागि नेपालमा पनि बुझिरहेका थिए । बिएसीको अन्तिम नतिजा आएको थिएन । उनका दाइ उनलाई लिन दार्जिलिङ पुगे । दाइसँगै कार्की नेपाल फर्के ।
नेपाल आएपछि नागरिकता बनाउनेदेखि अन्य कागजात बनाउनेका काममा लागे । कार्कीलाई सहयोग गर्ने उनका दाइ थिए । कागजात जम्मा पारिसकेपछि उनी दाइसँगै काठमाडौं आए, काठमाडौं आउँदा बाटो अहिलेको जस्तो राम्रो थिएन । अंकलको घरमा बसे । भिसा आएपछि उनी सन् १९७९ मा रुस गए । उनी रुसको मक्सोमा रहेको सेन्टपिटर्सवर्गमा १० वर्ष पढ् । त्यहीँ नै एममए, एमएस र पीएचडी गरे । उनी भन्छन्, ‘मेरो युवा अवस्था तत्कालीन सोभियत संघमा बित्यो । नेपालको बारेमा बुझ्ने जान्ने अवसर विद्यार्थी उमेरमा पाउन सकिनँ ।’
रुसमा त्यो बेला शिक्षा, स्वास्थ्य सेवादेखि आवतजावत फ्री थियो । नागरिकले पैसा कमाएर थुपारेका हुँदैन थिए । एक डलरमा एक महिनाभरिको आवतजावतलाई पुग्थ्यो । सहरका बस, ट्रली, मेट्रो सबै नागरिकले सित्तैमा चढ्न पाउँथे । नेपाली रसियन धेरै साथीहरू भइसकेका थिए । विश्वविद्यालयभित्र छात्रछात्राको होस्टेल थियो ।
पढ्ने छात्राछात्राको सख्या बढी छात्राकै थियो । कार्कीको सँगै पढ्ने एउटा केटीसँग प्रेम बस्यो । ती केटी थिइन् इरिना । इरिना र उनमा दुवै एकै कक्षामा पढ्थे तर समूह फरक थियो । उनी रुसकै नागरिक हुन् । दुई तीन वर्षसम्म एकअर्काको वास्ता थिएन । त्यसपछि उनीहरू नजिक हुन थाले । सन् १९८७ मा उनीहरूले विवाह गरे । त्यो बेला रुसमा विहे गर्दा हामी अब परिपक्क भयौं, बिहे गर्छौ भनेर विवाह व्युरोमा गएर निवेदन दिनुपथ्र्यो । निवेदनपछि व्यूरोले समय दिन्छ । त्यो समयमा बिहे गर्नुपर्छ । उनले केही साथी र इरिनाको आमा भाइहरू जम्मा भएर म्यारिज ब्यूरोमा गएर बिहे गरे । बिहेपछि कार्की र इरिना नेपालमा सँगै बस्न पाएनन् । उनी रसियामै बसेर छोरा हुर्काउन थालिन् भने यता कार्की नेपालमा काम गर्न थाले ।
श्रीमतीप्रति कृतज्ञ
कार्कीकी श्रीमती पनि पेशाले चिकित्सक हुन् । उनले कहिल्यै ज्ञानेन्द्रको काममा हस्तक्षेप गरिनन् बरु उनलाई सहयोग गरिन् । नेपालमा अस्पतालमा काम गरेर काठमाडौंमा इरिनालाई राख्न सकिने अवस्था थिएन । ‘आर्थिक अवस्था कमजोर भनौं भने काजीसापको छोरा थिएँ, गाउँमा बाको करौडौंको सम्पत्ति थियो तर, मलाई बाको सम्पत्तिको होइन, आफ्नै सम्पत्तिमा रमाउनुपर्छ भन्ने थियो,’ कार्कीले भने ।
कार्कीले आजसम्म घरको पैसा ९ सय डलर मात्र खर्च गरेको बताए । उनी भन्छन्, ‘त्यो पनि पढाइको खर्च गरेको थिएँ, आफ्नो व्यक्तिगत कामको लागि कहिल्यै घरमा पैसा मागिनँ ।’
केही महिनाको नेपाल बसाइपछि इरिना छोरा लिएर रसियामै गइन् । उनले कुनै गुनासो गरिनन् ।
श्रीमतीको सल्लाहले नेपाल फर्के
पाटनमा काम गर्दा एमएसको लागि छात्रवृत्तिमा कार्कीको नाम निस्कियो । उनी फेरि रुस गई त्यहाँ तीन वर्ष पढे । पढाइ सकेपछि नेपाल जाने कि रुसमै बस्ने भन्ने श्रीमान श्रमतीबीच छलफल भयो । कार्कीलाई रुसमै काम गर्न अफर पनि आएको थियो । अब के गर्ने नेपाल फर्किने वा रुसमै बस्ने ? कार्कीले सोध्दा उनकी श्रीमतीले भनिन्, ‘रुसमै बस्ने हो भने कसैले चिन्दैनन्, सधैं विदेशी भएर चिनिन्छ । राम्रो, नराम्रो जस्तो भए पनि आफ्नै देश जानुपर्छ ।’
इरिनाले आफ्नै देश फर्किन कर गरेपछि सन् १९९१ कार्की श्रीमती छोरासहित नेपाल फर्किए र प्रसूतिगृहमा एक वर्ष काम गरे ।
रुसमा नसिकेको कुरा प्रसूति गृहमा सिक्न पाउँदा
कार्कीले तीन वर्ष प्रसूति गृहमा काम गरे । त्यहाँ काम गर्दा उनलाई धेरै कुरा जान्ने सिक्ने अवसर पाए । त्यतिबेला नै जटिलभभन्दा जटिल सर्जरी प्रसूतिमा सुरु भइसकेको थिए । उनले मिहिनेत गरेर पढेअनुसार जस्तोसुकै सर्जरी गर्न तम्तयार रहन्थे ।
तर नेपाल आएर एउटा नयाँ कुरा सुने– आङ खस्ने समस्या । जुन विषय कार्कीले न पढेका थिए न सुनेका थिए । आङ खसेको व्यक्ति देखेका पनि थिएनन् । तर उनले काम गर्दा अस्पतालमा आधा बढी बिरामी आङ खसेको समस्या ल्याएर आउँथे ।
‘म एकातिर क्यान्सरको जटिल शल्यक्रिया गर्थे, तर मिनी ल्याब गर्न आउँदैनथ्यो,’ कार्की भन्छन्, ‘मैले विदेश गएर ठूलोठूलो कुरा सिकेको रहेछु, ससानो उपचार र समस्याबारे अनभिज्ञ रहेछु, रुसमा यस्ता कुरा र अप्रेसन न सुन्न पाइयो, न देख्न पाइयो ।’
उनी प्रसूतिमा काम गरेपछि यस्ता सानासाना कुरा जान्ने, सिक्ने अवसर पाएको बताउँछन् ।
‘ठूला कुरा रुसमै सिकेर आए पनि ससाना समस्याबारे यही सिक्ने अवसर पाएँ,’ उनी भन्छन्,‘ जीवन भन्ने कुरा ससाना कुराले बनेको हुँदो रहेछ, म ठूलो काम गर्छु भनेर घमण्ड कसैले नगरे पनि हुने रहेछ, त्यसैले म प्रसुतिगृहप्रति कृतज्ञ छु । जहाँ धेरै सिक्ने अवसर पाइयो ।’
आमाको मृत्यपछि विराटनगर फर्किँदा
आमाको मृत्युपछि कार्की विक्षिप्त भए । कार्कीको यस्तो अवस्था देखेर इरिनाले हिम्मत दिइन् । रसियाबाट नेपाल आएकी इरिनाले उनलाई काठमाडौंबाट विराटनगर फर्काइन् । उनले अब आफ्नै ठाउँमा गएर केही गर्नुपर्छ भन्दै हौसला दिइन् ।
विराटनगरमा कार्कीले चिनेका एक जना चिकित्सक थिए । जो अहिले स्वर्गीय भइसके । कार्कीले तिनलाई सोधे– विराटनगर आउँदा कसो होला ? उनले कार्कीको विज्ञता थाहा पाइसकेपछि तुरुन्त आइहाल्न भने । त्यो बेला विराटनगरमा प्रसूति रोग विज्ञ थिएनन् । पूर्वाञ्चलमै जम्मा चारजना मात्र थिए । उनले बोलाइसकेपछि कार्की विराटनगर गए । विराटनगर पुगेका कार्कीले कोशी अञ्चल अस्पतालमा काम सुरु गरे ।
कोशी अस्पतालमा बिरामीको चाप धेरै स्रोतसाधन कम थियो । अप्रेसन थिएटर दुईवटा पूराना थिए भने गाइनोको अप्रशेनका लागि आज नाम लेखाउँदा तीन वर्षपछि पालो आउँथ्यो । उनलाई अचम्म लाग्यो । उनले लिस्ट हेरे । त्यहाँ इमरजेन्सी बाहेक १० जना विरामीको मात्र अप्रेसन गरिने गरेको थाहा पाए ।
उनी भन्छन्, ‘वर्षको पूण्यतिथि सकिन्थ्यो तर अप्रेशनको पालो आउँदैन्थ्यो । बिरामीको अवस्था देखेर मलाई नरमाइलो लाग्यो, त्यसपछि मैले आफ्नो मिहिनेत बढाए ।’
स्रोतसाधन अभावले बिरामीले समयमै सेवा नपाउँदा कार्कीलाई पीडा हुन्थ्यो । त्यसपछि उनलाई लाग्यो– अब आफ्नै अस्पताल सञ्चालन गर्नुपर्छ । आफूप्रति गर्न सक्छु भन्ने विश्वासले उनी आफैले अस्पताल सञ्चालन गर्ने निर्णय गरे । उक्त निर्णयमा श्रीमतीले पनि साथ दिइन् ।
घरभाडामा एउटा बेड
कुरा २०५१ सालको हो । कार्कीले घरभाडामा लिएर एक बेड राख्दा धेरैले पागल भने । दिनभरि कोशी अस्पतालमा काम गर्थे । त्यहाँको काम सकेर राति आफ्नो अस्पतालमा काम गर्थे । अस्पतालमा न स्रोत साधन थिए न त बत्ती नै । बिरामी राख्ने बेड पनि हल्लिन्थ्यो । २० रुपैयाँको दुई सय वाटको बत्ती किनेर उनले अप्रेसन गर्थे । कार्की कोशी अस्पतालमै काम गर्ने केही नर्स, चिकित्सलाई पनि सँगै ल्याउँथे । राति बिरामीको अप्रेशन गर्थे । दुई महिना यसरी नै काम गरे । बेडको संख्या बढाउँदै गए ।
अस्पताल सुरु गरेका एक हप्तामा सात जना बिरामी भर्ना भए । उपचार गरेको पैसा जम्मा गरी उनी भारतको पटना गए । यहाँबाट उनले करिब ३ लाखको अप्रेशनका लागि आवश्यक पर्ने सामान ल्याए ।
डा. कार्कीले आफ्नै अस्पताल खोले भन्दै पूर्वाञ्चलभरि हल्ला भयो । अस्पताल राम्रो चल्न थालेपछि उनी कोशी अस्पतालबाट बिदा लिने योजनामा पुगे ।
कोशी अस्पतालमा त्यो बेलासम्म चिकित्सकको संख्या पनि केही बढिसकेको थियो । व्यवस्थापनसँग कुरा गरेर अब आफ्नै अस्पताल सञ्चालन गर्ने भन्दै उनले बिदा मागे ।
‘मैले कोशीमा तीन वर्ष काम गर्दा एक पैसा लिइनँ, आएको पैसा पनि सार्थीहरूलाई नै खानुहोस भन्थे,’ उनी भन्छन्, ‘एक बेडबाट सुरु गरिसकेको अस्पतालको बेड र बिरामी पनि बढ्दै गए त्यसपछि म आफ्नै अस्पतालमा व्यस्त हुन थालेँ ।’
अहिले पनि बेलाबेला चिकित्सकलाई सरकारी अस्पतालमा काम गर्ने तर बिरामीलाई आफ्नो निजी क्लिनिकमा लिएर जाने आरोपहरू आउँछ । कतै तपाईंले पनि सरकारीमा काम गरेर बिरामै यसैगरी आफ्नो क्लिनिकमा त बोलाउनुभएन भन्ने प्रश्नमा उनी भन्छन्, ‘जब म अस्पतालमा काम गर्थेँ आफ्नो सय प्रतिशत काममा दिन्छु, मैले त्यो बेला पनि त्यही गरे, कहिले विद्यार्थीलाई यहाँ आउनुहोस, त्यहाँ नजानुहोस भनिनँ, अस्पतालमा हुँदा अस्पतालमै व्यस्त भएँ, आफ्नो क्लिनिकको समयमा आफ्नै क्लिनिकलाई दिएँ ।’
उनी आफूले कहिले आफ्नो पेशा र बिरामीलाई पैसा कमाउने दृष्टिले नहेरेको दावीसमेत गर्छन् ।
दुइटा साथीसँगको सहकार्यमा नर्सिङ होम
७ बेड क्षमता भएको अस्पताललाई कार्कीले अर्को ठूलो घरमा सारेर २२ बेडको बनाए । त्यो बेलासम्म पूर्वाञ्चलमा निजी क्लिनिकहरू थिएन । कार्कीको कामको प्रसंसा हुन थालेपछि कार्कीका दुईजना साथीले अब राम्रो नर्सिङ होम सञ्चालन गरौं भन्ने प्रस्ताव राखे । प्रस्ताव राख्नेमा एकजना चिकित्सक डा. आरके साबु र अर्को एकजना अरुण राठी जो राम्रो व्यापारी हुन् । तीन जनाले करिब १ करोड लगानी गरे । त्यसपछि विराट नर्सिङ होम सञ्चालनमा आयो । त्यसलाई ५० बेडको बनाइयो । धेरैले विराटनगरमा किन यत्रो अस्पताल चल्छ त सम्म भने । तर नागरिकले विश्वास गर्दै गए । अस्पताल राम्ररी चल्न थाल्यो ।
अस्पताल निकै खर्चालु व्यवसाय हो । पैसा जम्मा हुनेबित्तिकै नयाँ प्रविधि ल्याइहाल्नुपथ्र्यो । अस्पताल राम्रो चल्दा पनि पैसाको व्याजसमेत हातमा नपर्दा दुईजना साथीहरू आतिन्थे । कार्कीले धैर्य रहन आग्रह गर्दा पनि दुवै तयार भएनन् । केही वर्षपछि चिकित्सक सावुले पैसा मागे । कार्कीले सावा व्याजसहित फर्काइदिए । त्यसपछि मराठीले पनि त्यसै असन्तुष्टि जनाउन थाले । पाँच वर्षपछि उनको हिसाब पनि पुरा गरे । त्यसपछि उनी एक्लैले हाँके ।
नर्सिङ होम राम्रो चलेपछि कार्कीले काठमाडौंमा आएर ग्लोबल अस्पताल सञ्चालन गरे ।
टाँट पल्टेको नोबेलको नेतृत्व
कार्कीको नर्सिङ होम राम्ररी चलिरहेको थियो । सन् २००९ मा नोबेल कलेज बन्द हुने अवस्थामा आयो । लिलाम हुने अवस्थामा आइसकेपछि डा. सुनिल शर्माले संस्था बचाइदिन आग्रह गरे । हामी मिलेर चलाउनुपर्यो भन्ने प्रस्ताव राखेपछि शर्मा र कार्कीले ५०÷५० प्रतिशत लगानी गरेर सुचारु गरे । संस्थाको अध्यक्ष कार्की थिए भने सुनिल शर्मा एमडी थिए । डुब्न लागेको नोबेल कलेज डेढ वर्षपछि खुट्टा टेक्ने अवस्थामा पुगेको थियो ।
केही समयपछि उनलाई शर्मासँग काम गर्न मन लागेन । शर्मा आफैले चलाउने अड्डी कसे । कार्कीले आफ्नो साउँव्याज लिएर सहमतिमै छुटिने कुरा गरे ।
उनी भन्छन्, ‘मैले जस्तो सोचेको थिएँ त्यो भन्दा २० औं गुणा त्यो संस्थालाई शर्माले धेरै माथि लगे, आज नोबेल नेपालको एक उत्कृष्ट मेडिकल कलेजमा पर्छ, मलाई निकै खुसी लाग्छ ।’
मेची महकाली यात्रा सुरु
नोबेल मेडिकल कलेजबाट बाहिरिसकेपछि कार्कीले मेची महाकाली यात्रा सुरु गरे । देशभरका मेडिकल कलेज तथा नर्सिङ होम हेरे । २०१० मा उनले मेडिकल कलेज सञ्चालन गर्ने योजना बनाए । उनले काठमाडौंमा भएको ग्लोबल अस्पताल र हेल्थ कलेज बेचे । त्यो बेला आर्थिक रूपमा समस्या हुने अवस्था थिएन । राम्रो भइसकेको थियो । त्यो बेला ठूलो छोरा अष्टे«लिया पढ्न गइसकेका थिए ।
कलेज सञ्चालन गर्दा लोन दिन बैंकले गर्ने असहयोग र राजनीतिक स्वार्थ फरक छ । कार्की एनआईसी, सिभिल बैंंकमा पुगे । सिभिल बैंंकका सीईओ किशोर महर्जनलाई भेटे । उनले सहयोग गरेपछि बल्ल लोन पाए ।
पैसा पाइसकेपछि कार्कीले १६ विगाह जग्गा किने । संरचना तयार गरे । प्रधानमन्त्री सुशील कोइराला थिए । डा.गोविन्द केसीको विरोध सुरु हुन थालेको थियो । कलेजको रुपमा मान्यता लिन पनि निकै दौडधुप गर्नुपर्यो । त्यो बेला काठमाडौं विश्वविद्यालयका उपकुलपति रामकण्ठ मकाजु थिए । शिक्षामन्त्री चित्रालेखा यादव थिइन् । उनी विभिन्न प्रयासका बावजुत २०१४मा बल्ल मेडिकल कलेज सञ्चालनमा आएको बताए ।
नम्बर वान दाबी
२०१४ मा स्थापना भएको विराट मेडिकल कलेज २०२५ मा निजी क्षेत्रमा अहिले नम्बर एक भएको दाबी गर्छन् कार्की । भौतिक संरचना, विद्यार्थीको संख्या फ्याकल्टी, प्रविधिमा, नतिजाको आधारमा १० वर्षमा नेपालको नम्बर वान कलेज बनाएको दावी गर्छन् उनी । उनी विराट मेडिकल कलेज यो स्तरमा आउनु आफ्नो मात्र योगदान नरहेको बताउँछन् । उनी मेडिकल कलेजमा आवद्ध सबै व्यक्ति कर्मचारीको साथ र सक्रियताले भएको बताउँछन्।
हजार बेड सञ्चालनमा
एउटा मेडिकल कलेजका लागि ५ सय बेड आवश्यक पर्छ । विराट मेडिकल कलेजसँग पनि पाँच सय बेडको अनुमति छ तर, अस्पताल एक हजार बेड सञ्चालनमा ल्याएको छ । अस्पतालको क्षमता १ हजार २ सय बेडको हो । पाँच सयको अनुमति भएपनि हजार बेड चलाउन पाइन्छ । विराट मेडिकल कलेजमा नेपालको सबैभन्दा बढी १ सय ३० सिट छ । एमबीबीएस, एमडीएमएसका दक्ष जनशक्ति तयार गरिरहेको छ । कार्की छोटो समयमै नेपालको सबैभन्दा हाइटेक प्रविधि आफ्नो अस्पतालसँग रहेको दाबी गर्छन् ।
विराट मेडिक कलेजमा अहिले प्रत्यक्ष दुई हजार कर्मचारी छन् । दुई सय बढी कन्सलटेन्ट छन् । आईसीयू, एनआईसीयू पीआईसीयूसीसीयू गरेर तीन सय बढी छन् । एक सय बेडको इमरजेन्सी बेड छ । उनी समेय सापेक्षरूपमा आफूलाई विकास गर्दे लगिरहेको बताउँछन् । हरेक दिन दुई हजार बढी बिरामी ओपीडीमा आउने गरेका छन् भने तीन सय, चार सय बढी बिरामी भित्र हुन्छन् । महिनामा ५० देखि ६० हजा नागरिकलाई सेवा दिन्छ भने वर्षमा करिब ८ लाख मानिसलाई सेवा लिने गरेको छ ।
बजारभन्दा ६ किलोमिटर टाढा अस्पताल खोल्दा यसको वरिपरी राम्रा चिया पसल थिएनन् । अहिले त्यो ठाउँ सहर भएको छ । बुढींगगा गाउँपालिको जग्गाको भाउमात्र बढेन, पालिकाको रंग नै फेरियो । व्यवसाय चल्न थाले । भारतबाट ठूलो संख्यामा उपचारका लागि नेपाल आउनेको संख्या ठूलो छ । पूर्वाञ्चलको जनसंख्या करिब ५०–६० लाख मात्र हो । अहिले सबैभन्दा प्रतिस्पर्धा पनि त्यही छ । पाँचवटा मेडिकल कलेज छन् । ठूलो कोशी अस्पताल छ । दूर दराजमा पनि अस्पताल बनिसकेका छन् । त्यसको बावजुत पनि यो अस्पताल राम्रो चलिरहेको छ । २० देखि ३० प्रतिशत बिरामी अहिले भारतबाट उपचारका लागि आउँछन् ।
दक्ष जनशक्ति उत्पादन
विराटले प्रत्येक वर्ष सय जना चिकित्सक उत्पादन गर्छ भने त्यही अनुपातमा, बीएसी नर्सिङ, एमडीएमएस तयारी गर्छ । नेपालमा पहिले दुई हजार विद्यार्थीमात्र पढ्न पाउँथे । अहिले २ हजार ६ सय विद्यार्थी नेपालमा पढिरहेका छन् । २ हजार ६ सयमा ७ सय विदेशी विद्यार्थी छन् । त्यसमा पनि धेरै भारतबाट आउँछन् । १ हजार ९ सय नेपाली विद्यार्थीको सिटमा ६ सय छात्रवृत्ति गरी जम्मा एक हजार १३ सय विद्यार्थीलाई मात्र प्रतिस्पर्धामा भाग लिएर पढ्न पाउँछन् ।
जबकि यो वर्ष १ हजार ८ सय विद्यार्थीले एमबीबीएस पढ्न परीक्षा दिएका थिए । कार्की नेपालमा ७ सय मात्र नभइ ७ हजार बढी विद्यार्थी ल्याउन दिनुपर्ने माग गर्छन् । उनी यसका लागि सरका निकाय, सरकारी व्यक्तिलाई भेट्दाभेट्दा थाकेको बताउँछन् ।