काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले वर्तमान व्यवस्थामा कुनै पनि मन्त्री, कर्मचारीले सरकारको बजेट बचाएर आफ्नो प्राइभेट कम्पनीमा जम्मा गर्नै नसक्ने बताएका छन् ।
बुधबार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले सरकारी बजेट बचाएर अर्थमन्त्री, सचिवहरूले आफ्नो निजी कम्पनीमा लगानी गरेको भन्ने आरोपको खण्डन गरेका हुन् । एउटा जिम्मेवार निकायमा बसेको करदाताको जिम्मा लिएको व्यक्तिले त्यस्तो हिम्मत नगर्ने समेत बताए ।
‘नेपाल सरकारको १२० अर्बलाई बचाएर तिम्रो आफ्नै कम्पनी, अर्थसचिवको कम्पनीमा लगानी गर्नुभयो भनेर भनियो त्यो सम्भव छैन । वर्तमान व्यवस्थामा कानून बमोजिम सरकारको कुनै पनि मन्त्री, कर्मचारीले सरकारको बजेट बचाएर आफ्नो प्राइभेट कम्पनीमा जम्मा गर्न सक्दैन,’ अर्थमन्त्री खनालले भने ।
उनले पछिल्लो समय गलत सूचनाहरूको बाढीनै आएकाले त्यस्तोमा सांसदहरूलाई विश्वास नगर्न आग्रह गरे ।