फेसबुक–इन्स्टाग्राम मानसिक स्वास्थ्यका लागि हानिकारक ? मेटाले रोक्यो आफ्नै अनुसन्धान

काठमाडौं । फेसबुकको माउ कम्पनी मेटाले आफ्नै प्लेटफर्मले प्रयोगकर्ताको मानसिक स्वास्थ्यमा नकारात्मक असर पारेको देखाउने आन्तरिक अनुसन्धान बीचमै रोकिदिएको सनसनीपूर्ण खुलासा अदालतमा दायर दस्तावेजले गरेको छ ।

शुक्रबार सार्वजनिक भएको कानुनी दस्तावेजका अनुसार मेटाले २०१९ को अन्त्यतिर सुरु गरेको ‘प्रोजेक्ट मक्र्युरी’ मा फेसबुक र इन्स्टाग्राम प्रयोग एक महिना बन्द गर्ने उपभोक्ताहरूको व्यवहार विश्लेषण गरिएको थियो । प्रारम्भिक नतिजाले फेसबुक छाड्नेहरूले एक सातामै चिन्ता, एकलोपन र सामाजिक तुलना कम महसुस गरेको देखाएको थियो।

तर यिनै नतिजाले मेटालाई ‘निराश’ बनायो र कम्पनीले अनुसन्धानै रोक्ने निर्णय गरेको उजुरीमा उल्लेख छ । नतिजा सार्वजनिक नगरी मेटाले बरु कङ्ग्रेसमै झुट बोलेको दाबी उजुरीमा उल्लेख छ ।

यो खुलासा अहिले अमेरिकामा चलिरहेको ठूलो मुद्दासँग जोडिएको छ, जहाँ विद्यालय, अभिभावक र विभिन्न राज्यका कानुनी अधिकारीहरूले मेटा, युटुब, स्न्याप र टिकटक विरुद्ध बालबालिकाको मानसिक स्वास्थ्य बिगार्ने प्रवृत्तिबारे उजुरी दर्ता गरिरहेका छन् । उजुरीकर्ताको आरोप छ–  कम्पनीहरूले समस्या थाहा हुँदाहुँदै पनि कारबाही गरेनन् र बरु शिक्षक तथा अधिकारीहरूलाई भ्रममा पारे ।

मेटाका प्रवक्त्ता एन्डी स्टोनले दाबीहरूलाई गलत बुझाइमा आधारित भ्रामक आरोप भन्दै खारेज गरेका छन् ।

उनको भनाइमा कम्पनीले दशकभन्दा बढी यस्ता समस्यामा अनुसन्धान, अभिभावकसँग संवाद र किशोर सुरक्षाको लागि ठोस कदमहरू उठाउँदै आएको छ।

गुगलले पनि उजुरीमा लगाइएका आरोपलाई पूर्ण गलत बुझाइ भन्दै अस्वीकार गरेको छ।

उसका अनुसार युट्युब मुख्यतः टीभीमा हेर्ने स्ट्रीमिङ सेवा हो, सामाजिक सञ्जाल नै होइन ।

स्न्याप र टिकटकले भने तत्काल प्रतिक्रिया दिएका छैनन् ।

उजुरीमा मेटाका एक कर्मचारीलाई उद्धृत गर्दै भनिएको छ, नतिजा नराम्रा थिए । हामीले यो लुकायौं । के यो चुरोट कम्पनीहरूले हानिकारक थाहा पाउँदा पनि लुकाएको जस्तै देखिँदैन ?

एन्डी स्टोनले सामाजिक सञ्जालमा भने अध्ययन ‘त्रुटिपूर्ण’ भएको र नतिजाबाट ‘कारण–परिणाम’ सिद्ध हुन्न भनी प्रतिक्रिया दिएका छन् । उनका अनुसार ‘फेसबुक प्रयोग हानिकारक छ’  भन्ने विश्वास गरेका मानिसहरूलाई प्रयोग छोड्दा राम्रो महसुस भयो ।

स्टोनले यस्तो नतिजा अन्य सार्वजनिक अनुसन्धानसँग मेल खाने बताउँदै यसले प्लेटफर्म प्रयोगको वास्तविक असर नदेखाउने स्पष्ट पारे ।

१ ट्रिलियनको नयाँ प्याकेज होइन, २०१८ को पे डिलले टेस्ला संकटमा

एकै दिनमा ६ प्रतिशत ! क्रिप्टोकरेन्सी बजारमा वर्षकै सबैभन्दा ठूलो गिरावट

इन्डोप्यासिफिक क्षेत्रमा प्रभाव बढाउने दौडमा रूस, भारतसँग समुद्री व्यापार बढाउन पहल

Share News