काठमाडौं । लक्ष्मी बैंकले स्थापनाको १५ वर्ष पुरा गरेको छ । बैंक सन् २००२ मा विरगञ्जबाट क्षेत्रिय बैंकको रुपमा स्थापित भई सन् २००५ मा राष्ट्रिय स्तरको बैंकको रुपमा स्तरोन्नति भएको थियो ।
बैंकले हाल ३६ जिल्लाका ६८ शाखा तथा ८० भन्दा बढी एटिएम, इन्टरनेट तथा मोबाइल बैंकिङलगायत आधुनिक प्रविधिको माध्यमबाट ठूला पूर्वाधार आयोजना तथा संस्थाहरुदेखि साना तथा मझौला व्यापार तथा व्यक्तिगत ग्राहकहरु समेटेर अर्थतन्त्रको सम्पूर्ण आयामहरुमा आफ्नो सेवा विस्तार गरेको छ ।
विगत १५ वर्षमा लक्ष्मी बैंक खुद्रा, मिड मार्केट, कर्पोरेट र ट्रेजरी जस्ता व्यापारहरुमा आफ्नो पहुँच स्थापित गरेको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा सबल प्रविधिमार्फत लक्ष्मी बैंकले उत्कृष्ट बैंकको रुपमा नेपालको बैंकिङ क्षेत्रमा उच्च स्तर कायम गरेको छ ।
बैंकको पौष २०७३ सम्ममा कूल सम्पत्ति ६४ अर्ब ८ करोड रुपैयाँ तथा खुद मुनाफा ४५ करोड ३ लाख रुपैयाँ रहेको छ । उक्त अवधिमा बैंकको निष्कृय कर्जा १.३१प्रतिशत तथा कर्जा निक्षेप अनुपात ७७.६९ प्रतिशत रहेको छ । हाल बैंकको चुक्ता पूँजी ३ अर्ब १५ करोड रुपैयाँ रहेको छ । बैंकले यस पूँजीमा शतप्रतिशत हकप्रद शेयर पछि १८.२९ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ ।
बैंकले दिगो बैंकिङ अभ्यास अबलम्बन गरेको छ । बैंकले ओरेन्ज लभस् ग्रिनको अवधारणामा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरण मैत्री प्रडक्टहरुको प्रवद्र्धन तथा देशका विभिन्न भागहरुमा वातावरण संरक्षण अभियानहरु सञ्चालन गरेको छ ।