काठमाडौं । ललितपुरस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालका स्वास्थ्यकर्मीलाई मंगलबार निर्धक्क भएर काम गर्न मन लागेन । आइतबारदेखिको तनावले सोमबार डरलाग्दो अवस्था सिर्जना भएपछि मंगलबार शान्त हुँदा पनि काम गर्न उनीहरुको मनमा डर लागिरहेको थियो । अस्पताल तोडफोडसँगै स्वास्थ्यकर्मीलाई नै हातपात गर्दा काम गर्न मनै नलागेको एक चिकित्सकले गुनासो गरे ।
सोमबार अस्पतालमा गरेको ढुंगा मुढा आन्दोलनले त्रसित कर्मचारीहरूलाई मानसिक रुपमा काम गर्न समस्या परेको उनी बताउँछन् । चिकित्सकहरू हर प्रयासबाट ज्यान बचाउन नसक्दा आफन्तहरूको कुटपिट सहनुपर्ने भन्दै उनी यस्ता घटनाले चिकित्सकको काम गर्ने मनोबलमा असर पर्ने बताउँछन् ।
‘बिरामीको अवस्था कतिखेर कस्तो हुन्छ भन्न सकिँदैन,’ उनी भन्छन्, ‘मृत महिला पनि अस्पताल आउँदा अवस्था सामान्य थियो तर सुत्केरी भइसकेपछि एक्कासि अवस्था बिग्रियो हामीले गरेको हर प्रयासबाट बचाउन सकिएन, आखिर नहुनुपर्ने दुःखद कुरा उनको मृत्यु भयो ।’
उनले बच्चा जन्माइसकेपछि भएको अत्यधिक रक्तस्रावले चिकित्सकको हरप्रयासलाई निराशामा परिणत गरेको बताए । उनी भन्छन्, ‘कुनै पनि चिकित्सकले जानाजान मान्छेको प्राण लिँदैन बरु कहिलेकाँही हामीले गरेको अथक प्रयास असफल भइदिन्छ यो केशमा पनि त्यस्तै भयो ।’
मृतकका आफन्त आएर सोमबार किष्ट अस्पताल तोडफोड गरेपछि यो कार्य रोक्न प्रहरीको बाक्लो उपस्थिति बढाइयो । भिड नियन्त्रणमा नआएपछि प्रहरीले अस्पतालमै अश्रुग्यास प्रहार गर्नुपरेको थियो ।
के हो घटना ?
खोटाङको हलेसी तुवाचुङ नगरपालिका ९ की ३४ वर्षकी मिनाश्री राई गएको शुक्रबार किष्ट अस्पताल पुगिन् । बच्चा जन्माउने मिति पुगिसकेपछि चिकित्सकले उनलाई ९ गते अस्पताल बोलाएको थियो । किष्ट अस्पतालमै चेकजाँच गराउँदै आएकी उनी चिकित्सकले बोलाएपछि अस्पताल पुगिन् । दिनभरी अवस्था सामान्य नै थियो ।
तर, बिस्तारै उनलाई ब्यथा लाग्न थाल्यो । उनले राती ९ बजे नर्मल रुपमा बच्चा जन्माइन् । बच्चा जन्माइसकेपछि पनि उच्च रक्तश्राव भयो । चिकित्सकको प्रयासले रगत रोकिएन । अन्ततः उनको मृत्यु भयो । सामान्य अवस्थामा आफै हिँडेर अस्पताल पुगेकी मिनाश्रीको मृत्यु भएको खबरले आफन्त आत्तिए ।
उनीहरूले अस्पतालको लापरबाहीले ज्यान गएको भन्दै आक्रोशित भए । उनीहरू उपचारमा दक्ष चिकित्सक नभई सिकारु विद्यार्थीलाई संलग्न गराउँदा यस्तो अवस्था आएको बताउँछन् । मिनाश्रीको मृत्यु भएको खबर उनका आफन्तले थाहा पाए र सबै जना अस्पताल पुगेर अस्पताल जिम्मेवार नभएको बताउन थाले ।
आक्रोशमा आएका मृतकका आफन्तले अस्पताल तोडफोड गर्न थाले । अस्पताल तोडफोड हुनथालेपछि प्रहरी तैनाथ गरियो । आफन्तहरूले आफै लापरबाही गर्दै ज्यान पनि लाने प्रहरी बोलाएर दमन पनि गर्ने भन्दै फेरि आक्रोश पोखे । आक्रोशले अस्पताल तोडफोडमात्र गरेनन् स्वास्थ्यकर्मीमाथि पनि कुटपिट भयो । सोमबार राती दुईपक्षबीचको सम्झौताले मंगलबार आन्दोलन मत्थर भएको हो ।
दुई साताअघि भक्तपुरको मध्यपुर थिमीमा पनि यस्तै घटना भएको थियो । त्यहाँ पनि एक सुत्केरीको मृत्यु भएपछि आफन्तहरूले अस्पतालमा आन्दोलन गरेका थिए । असोज २९ गते खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४ कि तारा घिमिरे बस्तोलाको मृत्यु भयो । ताराको पनि मिनाश्रीको जस्तै थियो । घरबाट आफै स्कुटर चलाएर अस्पताल पुगेकी ताराको अवस्था सामान्य थियो ।
अस्पताल पुगेपछि उनलाई भर्ना गरियो । पछिल्लो दिन बिहान ८ बजे नर्मल रुपमा बच्चा जन्मियो । तर उनको रक्तस्राब बढी भएको थियो । चिकित्सकको लगातार उपचारपछि पनि उनको रक्तस्राव रोकिएन ।
चिकित्सकले पाठेघर नै फालेर अप्रेसन गर्नुपर्ने भनेपछि पाठेघर फालियो । तर, रगत रोकिएन । त्यसपछि उनको मृत्यु भयो । ताराको मृत्यु भएपछि उनका आफन्तहरू अस्पताल पुगे । अवस्था सामान्य रहेन । मृतकका आफन्तले अस्पतालको लापरबाहीले ज्यान गएको भन्दै आन्दोलन गर्न थाले ।
उनीहरूले चिकित्सकको लाइसेन्स नै खारेज गर्नुपर्ने भन्दै अस्पतालमा नाराजुलुस लगाए । उनीहरू शव बुझ्न तयार भएनन् । पछि अस्पताल प्रशासन र मृतकका आफन्तबीच वार्ता भयो । वार्तामा ताराले जन्माएको बच्चा २१ दिन अस्पतालको रोहबरमा राख्ने र २५ लाख रुपैयाँ क्षेतिपुर्ति दिने सहमति भएपछि अवस्था सामान्य भयो ।
‘हामीले ५० लाख माग गरेका थियौं, अस्पतालले २५ लाख दिने भनेपछि मानवताको नाताले हामी पनि लचक भयौं अहिले बच्चा अस्पतालमै चिकित्सकको निगरानीमा छ अब २१ दिनको दिन हामी लिन जान्छौं,’ मृतकका आफन्तले भने ।
यी त पछिल्लो १२ दिनको अवधिमा देखिएका दुई घटनामात्र हुन्, यस्ता घटना नेपालमा प्रायः हरेक महिना भइरहने गर्छन् । कहिले सुत्केरी महिलाको मृत्यु, कहिले बच्चाको मृत्यु त कहिल्यै अन्य बिरामीको मृत्यु भएको भन्दै अस्पताल तोडफोड गरिएका घटना भइराख्ने गर्छन् ।
गत वैशाखमा सिराहको गोलबजारमा रहेको वर्धमान अस्पतालमा पनि अवस्था यस्तै भएको थियो । मिर्चैया नगरपालिका ११ सितापुरकी ३० वर्षकी रामकाशी यादवको सुत्केरी भइसकेपछि अस्पतालमै मृत्यु भएको थियो । सुत्केरी ब्यथा लागेर अस्पताल पुगेकी उनको बच्चा जन्मिसकेपछि मृत्यु भएको भन्दै त्यहाँ पनि प्रदर्शन भएको थियो ।
प्रदर्शनकारीले अस्पताल तोडफोड गर्न थालेपछि अवस्था नियन्त्रण गर्न अस्पतालमा प्रहरी परिचालन गर्नुपरेको थियो । केही दिनको प्रयासपछि प्रशासन र आफन्तहरूबीच सहमति भएको थियो ।
आमाको मृत्यु होस् या बच्चाको या बृद्ध तन्नेरी अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भयो भने नेपालमा स्वास्थ्यकर्मीमाथि नै कुटपिट हुन्छ । यस्ता घटनाले चिकित्सकहरूको मनोबलमा असर पर्ने चिकित्सकहरू बताउँछन् ।
नेपाल चिकित्सक संघ स्थानीय जनसमुदायबाट हुने यस्ता घटनाले चिकित्सकलाई काम गर्न समस्या भएको बताउँछ । संघका अध्यक्ष डा. अनिलविक्रम कार्की जानजान कुनै अस्पताल वा चिकित्सकले यस्तो काम गर्न नसक्ने भन्दै स्वास्थ्यकर्मीमाथि हुने दुर्व्यवहारका घटना असैह्य भएको बताउँछन् । चिकित्सकबाट पनि कहिलेकाँही त्रुटी हुने बताउँदै उनी गल्ती नै भएको शंका लागे कानूनी बाटो अपनाउन सक्ने बताउँछन् ।
‘हामीले डाक्टरलाई भगवान ठान्छौं, उ भगवान होइन मानव हो, मानवबाट कहिलेकाँही गल्ती हुन्छन्, यस्ता गल्तीको छानबिन कानुन प्रक्रियाबाट हुनुपर्छ, स्वास्थ्यकर्मी कुट्दैमा अस्पतालमा तोडफोड गर्दैमा समस्या समाधान हुँदैन, बरु झनै बल्झिन्छ,’ उनले भने ।
जनस्वास्थ्य विद् डा. समिरमणी दिक्षित यस्तो अवस्था बिरामी र चिकित्सककै कारण निम्तिने गरेको बताउँछन् । उनी भन्छन्, ‘नेपालमा दुई प्रकारका स्वाथ्यकर्मी छन् । एकथरी स्वास्थ्यकर्मी थोरै संरचनालाई पनि राम्रो प्रयोग गरेर मनभित्रैबाट केही गरु भन्ने खालका छन् । किनकि नेपालमा संरचना उपकरणहरू सधै राम्रो पाइँदैन, अर्को चिकित्सा क्षेत्रमा यति धेरै पैसा खर्च गरेर पढेको कसरी असुल्ने भन्ने सोच भएकाहरू छन् । जहाँ उपचारमा पनि लापरवाही गरेको पाइन्छ ।’
उनी दोस्रो किसिमका डाक्टरका कारण यस्ता समस्याहरू आउने गरेको बताउँछन् । उनी भन्छन्, ‘दोस्रो प्रकारका चिकित्सकका कारण कहिलेकाँही पहिलो प्रकारका चिकित्सकलाई पनि अप्ठेरो पर्ने गर्छ र नराम्रो अनुभव भोग्नुपर्ने हुन्छ । स्वास्थ्य क्षेत्रमा चिकित्सकहरूले आफ्नोतर्फबाट मिहिनेत गर्छन् तर कहिलेकाहीँ यस्तो भइदिन्छ कि गर्दागर्दाै पनि प्रयास असफल भइदिन्छ । भएभरको प्रविधि चलाउँदा पनि केही सीप लाग्दैन यस्तो बेला स्वास्थ्यकर्मीलाई कुटपिट गर्नु अस्पतालमा तोडफोड गर्नु गलत हो ।’ उनी यो कुरा जनमानसले पनि बुझि दिनुपर्ने बताउँछन् ।
‘विदेशमा सामान्य होस् या गम्भीर खालका बिरामी अस्पताल आइसकेपछि अस्पताल प्रशासन स्वास्थ्यकर्मी वा बिरामीका आफन्तहरूसँग कुरा गरिन्छ । हामी यो–यो गर्न सक्छौ यसका लागि सम्भावना यो-यो हुन्छ , यति गर्दा ठिक हुन पनि सक्छ नहुन पनि सक्छ यसका लागि पूर्णरुपमा जिम्मा लिन सक्दैनौं तर हाम्रो तर्फबाट पूर्णरुपमा मिहिनेत रहन्छ भन्ने सूचना दिनुपर्छ । उनी नेपालमा पनि यस्तै गर्नुपर्ने आवश्यकता रहेको बताउँछन् ।
नेपालका अस्पतालले यस्तो प्रयास नगर्दा पनि यस्ता समस्याहरू हुने गरेको उनको भनाइ छ ।
‘नेपालमा कम्युनिकेशन कमजोर छ,’ उनी भन्छन्, ‘बिरामीहरू ठूलो आशाका साथ अस्पताल पुग्छन् । तर, जब आफूले आशा गरेको हुँदैन तब आवेगमा आएर यस्तो घटना हुन्छ ।’ उनी यसका लागि अस्पतालले छुट्टै कर्मचारी राखेर भए पनि काम सुरु गर्नुपर्ने आवश्यकता रहेको बताउँछन् ।