काठमाडौं । मनाङकी रीता थापा (परिवर्तित नाम) पोखराको मणिपाल अस्पतालमा काम गर्न थालेको चार वर्ष भयो । तीन वर्षे पिसिएल नर्सिङ सकेकी उनलाई एक वर्ष काम गरेर बिएस्सी नर्सिङ गर्ने चाहना थियो । पोखरामा रहेको मणिपाल अस्पतालले नर्सको आवश्यकता भन्दै दरखास्त मागेको देखेपछि उनले आवेदन दिइन् । अस्पतालले तोकेको मापदण्ड अनुसार लिएको उनको नाम निस्कियो ।
तर, सेवा सुविधा भने निकै कम थियो । उनले काममा प्रवेश गर्दा ९ हजार पारिश्रमिक दिने सम्झौता भयो । पारिश्रमिक चित्त नबुझे पनि उनले काम सुरु गरिन् । अस्पतालले अनुभव र कामका आधारमा तलब बढाउँदै जाने भनेपछि तलब बढ्ने उनको आशा थियो । एक वर्षपछि उनको तलब बढ्यो तर २ हजार रुपैयाँ ।
९ हजारबाट सुरु गरेको तलब एक वर्षपछि ११ हजार भयो । त्यसपछि पनि पटक पटक तलब बढ्दा चार वर्षमा तलब १५ हजार पुगेको छ । रीतालाई यति पैसामा काम गर्ने मन छैन ।
‘छोडेर जाँदा पनि काम पाउनै गाह्रो काम पाउँदा तलब पाउनै गाह्रो नर्सिङ पढेर पनि नामको मात्र भयो न पैसा, नत काम सहज,’ उनले गुनासो गर्दै भनिन् ।
उनी अब नर्सहरूको पारिश्रमिकका विषयमा सरकार र अस्पताल सञ्चालक दुवैले गम्भीर रुपमा लिनुपर्ने बताउँछिन् । लाखाैं पैसा खर्च गरेर पढेका नर्सलाई १०÷१५ हजारमा काम गर्न सकिने अवस्था नरहेको धारणा उनको छ ।
मणिपाल अस्पतालमै काम गर्ने अर्की नर्सको पीडा पनि उस्तै छ । एक वर्ष सरकारी अस्पतालमा करारमा काम गरेकी उनी अहिले मणिपाल अस्पतालमा काम गरिरहेकी छन् । जनकपुरको कलेजबाट पिसिएल नर्सिङ गरेकी उनले सरकारी अस्पतालको करारमा नाम निकालिन् । तर, त्यो समय एक वर्षका लागि मात्र थियो । उनी एक वर्ष काम गरेर बिएस्सी नर्सिङ पढिन् ।
बिएस्सी नर्सिङ सकेपछि उनले पोखराको मणिपाल अस्पतालमा काम सुरु गरिन् । पिसिएल सकेर सरकारी अस्पतालमा ३५ हजार तलब खाइरहेकी उनलाई बिएस्सी सकेपछि तलब अझ बढी होला भन्ने अपेक्षा थियो । तर, उनले मणिपालमा प्रवेश गर्दा १४ हजारबाट सुरु गर्नुपर्यो ।
‘पढाइ र अनुभवको आधारमा पारिश्रमिकको अपेक्षा गरेकी थिएँ, यहाँ त १४ हजार पारिश्रमिकले काम गर्नुपर्यो,’ उनी भन्छिन्, ‘अहिले तीन वर्ष भइसक्यो तलब बढेर १६ हजार भएको छ, यो पैसाले के खाने, कसरी कोठा भाडा तिर्नु ? यो पारिश्रमिकले नेपालमा काम गर्न गाह्रो छ ।’
उनले पिसिएल र बिएस्सी नर्सिङ पढ्दा २२ लाख भन्दा बढी खर्च लागेको थियो । २२ लाख खर्च गरेर पढेको शिक्षाबाट १५ हजारको काम नभेट्नुले नर्सहरूको मनोबल घट्दै गएको उनको भनाइ छ ।
‘तीन वर्षे पिसिएल गरें, एक वर्ष करारमा काम गरें, फेरि बिएस्सी नर्सिङ गरेर १४÷१५ हजारमा काम गरेर बस्नुपर्ने भनेको अति नै अन्याय हो, कामको पनि ओभरलोड हुन्छ, यो बापतको कुनै सुविधा छैन,’ उनले भनिन् ।
मणिपालमात्र होइन देशभरका निजी अस्पतालमा काम गर्ने नर्सहरूको पीडा यस्तै हो । पढाइमा लाखाैं पैसा खर्च गरेर बनेका नर्सहरूले १४÷१५ हजारमा दिनको १२ घण्टासम्म काम गर्नुपरिरहेको छ । जबकी सरकारले श्रमिकहरूको मासिक पारिश्रमिक १९ हजार ७ सय अनिवार्य गरेको छ । एउटै नर्सले धेरै जना बिरामी हेर्नुपर्ने, आठ घण्टाभन्दा बढी काम गर्नुपर्ने समस्याका बावजुत उचित पारिश्रमिक नपाउँदा काम गर्न निकै समस्या भएको उनीहरूको भनाई छ ।
कास्कीको मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेज अस्पतालमा कार्यरत नर्सहरूले सुरु गरेको आन्दोलन देशभर फैलिएको छ । मोरङको बिराट मेडिकल कलेजदेखि धनगढी र अत्तरियाका निजी अस्पतालका नर्सहरू पनि आन्दोलनमा छन् । उनीहरूले तिहारमा पनि आफ्नो आन्दोलन जारी राखेका छन् । नर्सहरूले श्रम गरे अनुसारको उचित ज्याला पाउनुपर्ने माग गरेका छन् । असोज ३१ गतेबाट सुरु भएको आन्दोलन अहिले पनि जारी छ । यो आन्दोलन बिस्तारै देशभर फैलिरहेको छ ।
पिरैपिरमा नर्सहरू
नर्सहरूको श्रमको कुरालाई लिएर आन्दोलन हुन थालेको धेरै समय भइसक्यो । बेला–बेला नर्सहरू धर्नामा बस्ने, आन्दोलन गर्ने काम पनि भइरहेका छन् तर उनीहरूको माग अहिलेसम्म पुरा हुन सकेको छैन । काठमाडौं उपत्यकामै पनि नाम चलेको ठूला र निजी अस्पतालले पनि नर्सहरूको श्रम शोषण गरिरहेको बुझिएको छ ।
दिनरात नभनी बिरामीको सेवा गर्दै आएका नर्सहरूले आफ्नो पारिश्रमिकको कुरा उठाउँदा पनि जागिर धरापमा पर्ने डर रहेको सुनाउँछन् । नाम नबताउने सर्तमा निजी अस्पतालमा कार्यरत एक नर्स भन्छिन्, ‘काम नगरौं यत्रो पैसा खर्च ऋण लिएर पढिएको छ, गरौं धेरै पैसा पाइँदैन, पैसा कम भयो भन्ने आवाज उठाउने बित्तिकै अस्पताल सञ्चालक र प्रशासनको नजरमा परिन्छ ।’
उनी अब भने जागिर धरामा परे पनि माग पूरा गराएरै छोड्ने बताउँछिन् । नर्सहरूका अनुसार आन्दोलन गर्दा उनीहरूमाथि नै धम्की आइरहेको छ । अर्की एक नर्स भन्छिन्, ‘तपाईंहरूको अनुभव पत्रमा चरित्र खुलाएर सार्वजनिक गरिदिन्छु, अस्पताललाई जति घाटा भएको छ यो सबै तपाईंहरूले नै बेहोर्नुपर्छ भन्ने धम्की आएको छ, हामीले यति गरिसकेपछि अब लड्नै पर्छ भन्ने भएर आन्दोलन पनि जारी राखेका छौं ।’
उनी यस्तो थ्रेटले मानसिक रुपमा असर परिरहेको बताउँछिन् । ‘कसैलाई व्यक्तिगत रुपमा धम्की आइरहेको छ, कसैलाई समूहमा धम्की दिइरहेको छ, यस्तो पाराले सिधै हाम्रो मानसिक रुपमा असरी गरिरहेको छ, उनी भन्छिन्, ‘यो कुरा नउठाऔं भने कसरी नउठाउनु हामीमाथि श्रम शोषण भइरहेको छ, चुप लागेर बसौं भने यत्रो काम गरेर पेट पाल्न सकिने अवस्था छैन, अब आफ्नो लागि भए पनि बोल्नुपर्छ भन्ने लागेर आन्दोलनमा लागेका हौं ।’
नर्सहरूले आफूहरु खुसी हुनुपर्ने कुनै कारण नरहेको बताउँदै कुनै पनि कुराबाट सन्तुष्ट हुनुपर्ने अवस्था आवाज उठाउन बाध्य भएको बताएका छन् । उनी नेपाली नर्स सेवा सुविधाकै कारण देश छोडिरहेको बताउँदै रहरले भन्दा बाध्यताले नै विदेश जानुपरिरहेको बताउँछिन् ।
नर्सिङ संघको पनि ऐक्यबद्धता
नर्सहरूको आन्दोलनमा नेपाल नर्सिङ संघले पनि ऐक्यबद्धता जनाउँदै आन्दोलन सुरु गरेको छ । संघले पटक–पटक निजी मेडिकल तथा अस्पताल सञ्चालकदेखि सरकारलाई समेत ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै आन्दोलन घोषणा गरेको हो ।
नर्सिङ पेशाकर्मीहरूकाे हक र अधिकार सुनिश्चित गर्दै आम नागरिकको सुरक्षित र स्तरीय स्वास्थ्यसेवा उपभोग गर्न पाउने मौलिक अधिकार प्राप्त वातावरण सिर्जना गर्दै आइरहेको संघले नर्सहरूको मागमा सहमति जनाउँदै आन्दोलन घोषणा गरेको संघले जनाएको छ । संघका अध्यक्ष चन्द्रकला शर्माले कयौँ पटक यो विषयमा आवाज उठाउँदा पनि सुनुवाइ नभएको भन्दै आन्दोलन गर्नुपरेको बताएकी छन् । उनले यो विषयमा निरन्तर प्रयास गर्दा पनि लागु नभएको भन्दै आन्दोलन सुरु गरेको बताइन् ।
आन्दोलन अन्तर्गत पहिलो चरणको कार्यक्रम जारी छ । संघले असोज ४ गतेदेखि ११ गतेसम्म देशभरका अस्पताल तथा स्वास्थ्य शैक्षिक संस्थाहरूमा कालोपट्टि बाँधेर काम गरिरहेको जनाएको छ । संघले १२ गतेदेखि दिनको दुई घण्टा अत्यावश्यक बाहेकका नर्सिङ सेवा बन्द गर्ने बताएको छ ।
संघका महासचिव देवका आचार्य नेपाली नर्सहरू पहिलेदेखि नै श्रम शोषणमा परिरहेको बताउँदै उनीहरूको हितका दागि पनि लड्न आवश्यक भएको बताउँछिन् । नेपालमा नर्सहरूलाई काम गर्ने राम्रो वातावरण नै नभएको भन्दै नेपालको समग्र स्वास्थ्य क्षेत्र सुधारका लागि पनि नर्सहरूको उचित सम्मान आवश्यक रहने बताउँछिन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्सहरूको पारिश्रमिकका विषयमा आवाज उठाइरहेको बताएको छ । नर्सहरूले श्रमअनुसारको मुल्य नपाएको गुनासो बढेपछि मन्त्रालयले निजी अस्पताल तथा सञ्चालकहरूलाई सरकारी अस्पताल सरह भत्ता उपलब्ध गराउन निर्देशन दिएको थियो ।
यो भन्दा अगाडि दिएको निर्देशन कार्यान्वन नगरेको भन्दै मन्त्रालयले गत असोज २४ गते फेरि सरकारी सेवा सरह पारिुश्रमिक दिन आग्रह गरेको थियो । तर निजी अस्पताल र मेडिकल सञ्चालकहरूले भने मन्त्रालयले दिएको निर्देशन अनुसार नर्सहरूलाएई सेवा दिन नसक्ने प्रतिक्रिया दिएको थियो ।
निजी अस्पताल मेडिकलको आफ्नै सीमित स्रोत साधन भएकाले सरकारले दिएको निर्देशन अनुसार तत्काल सबै नर्सलाई २४ हजार भत्ता उपलब्ध गराउन सक्ने अवस्था नरहेको बताएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको निर्देशनमा ध्यानाकर्षण गर्दै सञ्चालकहरूले पारिश्रमिक बढाउन नसक्ने बताए पनि मन्त्रालयले निजी अस्पतालका सञ्चालकहरूलाई छलफलमा बोलाएको थियो ।
असोज २ गते दिनभर मन्त्रालयमा भएको छलफलमा कुनै निश्कर्ष ननिस्केपछि सरकारले ७ वटै प्रदेशमा छलफलका लागि समिति गठन गर्ने निर्णय गरेको थियो । यो समितिले अब काम सुरु गर्ने मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री शुसीला कार्कीले पनि नर्सहरूको उचित पारिश्रमिक बढाउन निर्देशन दिएकी थिइन् ।
नर्सहरूले पारिश्रमिक माग गरिरहने, मन्त्रालयले पटक पटक निर्देशन दिइरहने तर सञ्चालकहरूले कार्यान्वन गर्न नसकिने प्रक्रिया चलेको लामो समय भइसक्यो । यही समस्याले नेपाली नर्सहरू विदेश रोजिरहेका छन् । स्वदेशमा १० हजार कमाइरहेका नर्सहरू विदेश गएर लाख बढी कमाइरहेका छन् । यसले एकातिर स्वदेशमा बस्ने नर्सहरूको मनोबल कमजोर पारिरहेको छ भने नर्सहरूलाई बढी विदेशको बाटो देखाइरहेको छ ।
नर्सिङ संघका अध्यक्ष प्रोफेसर चन्दकला शर्मा अब नेपाली नर्सहरूको कुन्ठा विष्फोट हुने खतरा बढेको बताउँछिन् । आन्दोलनमा उत्रेका नर्सहरूलाई पूर्णरुपमा समर्थन रहेको भन्दै उनीे अब नेपाली नर्सहरू विष्फोटको रुपमा बाहिर आउने खतरा बढेको बताउँछिन् ।
उनी भन्छिन्, ‘नर्सहरूको श्रम शोषण धेरै भयो , हामीले पटक-पटक ध्यानाकर्षण गरायौं तर सुनुवाइ भएन अब उहाँहरू विष्फोटको रुपमा बाहिर आउनुहुन्छ, जुन निजी अस्पताल र नागरिक सबैका लागि राम्रो हुँदैन ।’
गत वर्षको मंसिरमा पनि नर्सहरूको पारिश्रमिकका विषयमा मन्त्रीस्तरीय परिपत्र भएको थियो । तर, कार्यान्वन भएन । त्यसपछि नर्सिङ संघले पनि पटक/पटक ध्यानाकर्षण गराउँदै आएको थियो । तर, सुनुवाइ अहिलेसम्म नभएको शर्मा बताउँछिन् ।
‘हामीले स्वास्थ्य सचिवलाई भेट्यौ, मन्त्रालयमै छलफल गर्यौं, यही विषय प्रधानमन्त्रीलाई भेट्न गयौं तर भेट्न सकेनौं माग पत्र दर्ता गरायौं शर्मा भन्छिन्, ‘प्रधानमन्त्रीज्युले पनि निर्देशन दिनुभएको छ । तर कार्यान्वन भएन । निजी मेडिकल सञ्चालकहरू यसमा अटेरी भए । जुन रामे होइन ।’
एउटै नर्सले जनरल वार्डमा २० देखि २५ जनासम्म बिरामी हेर्नुपर्ने बाध्यता छ आईसीयूमा एउटा नर्सले एक जना बिरामीलाई हेर्नुपर्ने हुन्छ तर नेपालमा ४/५ जना हेर्नुपर्ने बाध्यता छ ।