विपिन जोशी जिवित नरहेको जानकारी, भिडियो कन्फ्रेन्समा इजरायली सुरक्षा अधिकारीले के–के भने ?

काठमाडौं । हमासको नियन्त्रण रहेको भनिएका विपिन जोशी जीवित नरहेको खुलेको छ । इजरायली सेनाका अधिकारीले विपिन जिवित नरहेको जानकारी गराएका हुन् । 

इजरायलका सुरक्षा अधिकारीहरुले सोमबार बिहान इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका विपिनका दाजु किशोर र इजरायलको प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरुलाई भिडियो कन्फरेन्समा जोडेर विपिन जीवित नरहेको जानकारी गराएका हुन् । 

राजदुत पण्डितले विपिन जिवित नरहेको जानकारी गराएको बताए । ‘इजरायलका सुरक्षा अधिकारीले विपिन ईज नो मोर भने,’ उनी अब जिवित छैन भन्ने बुझ्न सकिन्छ,’ पण्डितले भने । 

उनका अनुसार विपिनको शव प्राप्त भइ नसकेको र बहुराष्ट्रिय सेनाले टनेलभित्र खोजिरहेको छ । त्यसपछि इजरायलले पछिल्लो अपडेट दिइसकेको छैन । विपिन जोशीलाई ७ अक्टोबर २०२३ मा हमासले बन्धक बनाएर लिएर गएको थियो ।

हमासले आज छाड्न लागिएका २० जनाको सूचीमा पनि विपिनको नाम छैन । यसअघि विपिनको रिहाईका लागि भन्दै उनको परिवार र नेपाल सरकारले पनि समन्वय गर्दै आइरहेको थियो । सरकारको पहलमा विपिनकी आमा र बहिनी यसअघि इजरायल पनि गएका थिए । 

Share News