काठमाडौं । ललितपुर महानगरपालिकाले सार्वजनिक पोलमा विज्ञापनको पर्चा टाँसेर फोहोर गरेको आरोपमा एग्रो थाई फुड प्रालिलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ ।
महानगरले आइतबार सो कम्पनीलाई जरिवाना गर्दै सम्बन्धित पक्षलाई आगामी दिनमा यस्ता गतिविधि नगर्न चेतावनी दिएको छ ।
उक्त कम्पनीबाट उत्पादन भएको इनर्जी ड्रिङ्कको विज्ञापन पर्चा ललितपुरका विभिन्न सडक किनारका पोलहरूमा टाँसिएको थियो ।
महानगरले जारी गरेको रसिदमा ‘अनाधिकृत विज्ञापन’ शीर्षक उल्लेख गरिएको छ । महानगरका अनुसार यस्ता अनधिकृत पर्चा टाँस्ने कार्यले शहरको सौन्दर्य र सरसफाइमा नकारात्मक प्रभाव पार्ने भएकाले कडाइका साथ कारबाही गरिँदै आएको छ ।
ललितपुर महानगरले पछिल्ला दिनमा सडक, पोल र सार्वजनिक स्थलमा अनधिकृत रूपमा पर्चा, पोस्टर र ब्यानर टाँस्नेविरुद्ध नियमित अनुगमन र जरिवाना अभियान सञ्चालन गर्दै आएको छ ।
