लगातार भासिने समस्याले इलाम-राजदुवाली सडक तत्काल नखुल्ने

काठमाडौं । गत असोज १८ गतेको वर्षापछि पहिरोका कारण अवरुद्ध मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका-९ स्थित इलाम-राजदुवाली सडक खण्ड तत्काल सञ्चालनमा ल्याउन नसकिने भएको छ । जटिल भू-संरचनाका कारण सडक खुलाउन नसकिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताए । उनका अनुसार सडक खुलाउने प्रयास निरन्तर भइरहे पनि भू-स्खलन र लगातार सडक भासिने समस्याले कठिनाइ भएको हो । 

‘सडक खुलाउने प्रयास निरन्तर भइरहेको छ, तर भू-संरचनाको जटिलताका कारण तत्काल सञ्चालनमा ल्याउने अवस्था छैन,’ प्रजीअ नेपालले भने । 

सडक अवरुद्ध भएपछि विगत ९ दिनदेखि झापा, इलाम, पाँचथर र ताप्लेजुङका यात्रु तथा सवारी आवागमनमा समस्या भएको छ । यसैबिच, वैकल्पिक मार्गको पहिचान गरी साना सवारी सञ्चालनको तयारी सुरु गरिएको प्रजीअ नेपालले बताए । तत्कालका लागि आइतबार तिल्केनी-बज्रदेवी-नामसालिङ-नयाँबजार-फिक्कलको रुटमा साना सवारी सञ्चालनमा ल्याइएको भएपनि सोमबारदेखि तिल्केनी-सिमलगो सडक खण्ड हुँदै साना सवारी सञ्चालन गर्ने तयारी भइरहेको प्रजीअ नेपालले जानकारी दिए ।

‘तिल्केनी-सिमलगोलाई सडक अन्तर्गत जोगमाई खोलामा सडक डिभिजनमार्फत ह्युमपाइप राखेर डाइभर्सनको काम आइतबारदेखि नै सुरु गरिएको छ । सम्भवतः सोमबार देखि सो सडक हुँदै साना सवारी सञ्चालन हुनेछन्,’ उनले भने ।

ठूला तथा माल वाहक सवारीका लागि भने हालसम्म उपयुक्त वैकल्पिक मार्ग पहिचान गर्न नसकिएको नेपालको भनाइ छ । तिल्केनी-बज्रदेवी-नामसालिङ-नयाँबजार-फिक्कल र तिल्केनी-सिमलगोलाई सडकमा तीव्र मोड र साँघुरोका कारण ठूला सवारीका लागि कठिनाइ हुने अवस्था रहेको उनले बताए ।

सडक डिभिजन कार्यालय इलामले मेची राजमार्गको राजदुवाली सडक खण्ड पुनः निर्माणको काम हालका लागि स्थगन गरेको छ । राजदुवालीमा भू-संरचनाका कारण समस्या भएको र तत्काल वैकल्पिक मार्गमा नै श्रोत साधन र जनशक्ति परिचालन गर्नुपर्ने भएकाले राजदुवाली सडक खण्ड पुनः निर्माण स्थगन गरिएको सडक डिभिजनका सूचना अधिकारी इञ्जिनियर अर्जुन घिमिरेले बताए ।

‘हामी अहिलेसम्म राजदुवाली खण्ड खुलाउने प्रयासमा लाग्यौँ, तर सफल हुन सकेनौँ । अहिले वैकल्पिक मार्गमा स्रोत सधान र जनशक्ति परिचालन गरेका छौँ, त्यो सकेपछि पुनः राजदुवाली खण्ड पुनः निर्माणमा लाग्नेछौँ,’ घिमिरेले भने ।

पुवा खोलामा स्थानीयद्वारा काठको पुल निर्माण

इलाम सदरमुकामदेखि झापाको बिर्तामोड जोड्ने छोटो दुरीको मेची करिडोर (केचना-कञ्चनजङ्घा सडक) अन्तर्गत पुवा खोलामा स्थानीय बासिन्दाले श्रमदानमार्फत काठको पुल निर्माण गरेका छन् । इलाम नगरपालिका-९ भाङटार र वडा नं. ११ सोयाक जोड्ने पुवा खोलाको बेलिब्रिज गत असोज १८ गतेको भीषण वर्षापछि आएको बाढीले बगाएपछि गाउँलेहरूले वैकल्पिक रुपमा काठको मोटरेबल पुल तयार गरेका हुन् ।

स्थानीय युवा रोशन राईको नेतृत्वमा सोयाकबासी र नेपाली सेनाको सहयोगमा ५० फुट लम्बाइ र ८ फिट चौडाइको काठको पुल निर्माण गरिएको हो । पुल निर्माणका लागि स्थानीयबासीले पाँच दिन लगातार श्रमदान गरेका थिए ।

बाढीले बेलिब्रिज बगाएपछि सदरमुकामसँग सडक सञ्चाल विच्छेद भएकाले तत्कालका लागि काठको पुल निर्माणमा जुटेको अभियानका नेतृत्वकर्ता राईले बताए । 

Share News