काठमाडौं । राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था विराटनगरको सम्पत्ति दायित्व ५७ करोड ३८ लाख रुपैयाँ पुगेको छ । शनिबार आयोजित संस्थाको २७औँ वार्षिक साधारणसभामा सहकारीको कुल सम्पत्ति दायित्व आर्थिक वर्ष २०८१/८२ मा ५७ करोड ३८ लाख ५७ हजार ४५४ रुपैयाँ पुगेको अध्यक्ष जीवन काफ्लेले बताए ।
संस्थाको अघिल्लो आव २०८०/८१ मा ४८ करोड ४ लाख रुपैयाँ रहेकामा गत आवमा त्यसमा सुधार गर्न सफल भइएको र चालु आव २०८२/८३ मा यसलाई वृद्धि गरेर ६३ करोड ९० लाख १७ हजार ३०२ रुपैयाँ पुर्याइने लक्ष्य रहेको बताए ।
गत आवमा वार्षिक लक्ष्यको ९४ प्रतिशत अर्थात् ५१ करोड ४३ लाख ५ हजार ५६९ रुपैयाँ आम्दानी गरेको उनले बताए ।
यस्तै, सहकारीको निक्षेप ४४ करोड ४३ लाख ११ हजार ७०९ रुपैयाँ रहेको छ भने ऋण लगानी ३५ करोड ८८ लाख ७२ हजार ९९४ रुपैयाँ रहेको छ । विसं २०५५ साउन ४ मा स्थापित सहकारीमा हाल १ हजार ८९३ जना सेयर सदस्य रहेका छन् ।
यस सहकारीले गत आवमा नेपाल निजामती कर्मचारी सङ्गठन केन्द्रीय समिति, राष्ट्रिय सहकारी बैंक र प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयबाट उत्कृष्ट सहकारीको पुरस्कारसमेत प्राप्त गरेको संस्थाका सचिव ओमराज सुवेदीले बताए ।