काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सेप्टेम्बर महिनाभित्र भारत भ्रमण गर्ने सम्भावना न्यून रहेको भारतीय सञ्चारमाध्यम ‘द प्रिन्ट’ ले जनाएको छ । ओली सत्तामा आएदेखि अहिलेसम्म भारतको आधिकारिक भ्रमण गरेका छैनन् । उनी विसं २०८१ असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
स्रोतहरूले द प्रिन्टलाई दिएको जानकारीअनुसार नेपाली मिडियाले पहिलो पटक उल्लेख गरेअनुसार १५ सेप्टेम्बरमा भ्रमण हुने सम्भावना छैन । भ्रमणको समयतालिकासँगै समस्या रहेको उनीहरूको भनाइ छ । यसै साताको सुरुतिर चीनको तिआनजिनमा सम्पन्न शाङ्घाई सहयोग संगठन (एससीओ) सम्मेलनको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र ओलीबीच छोटो भेट भएको थियो ।
‘तिआनजिनमा नेपालका प्रधानमन्त्री श्री केपी ओलीसँग भेट्दा खुसी लाग्यो । भारत–नेपाल सम्बन्ध गहिरो र विशेष छ,’ मोदीले आइतबार सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा लेखेका थिए ।
हालैका दिनमा काठमाडौंले भारत र चीनबीच लिपुलेक नाकामार्फत व्यापार पुनः सुरु गर्ने तयारीबारे कडा आपत्ति जनाउँदै आएको छ । यो नयाँ दिल्लीका लागि सहज विषय नभएको बताइएको छ । सन् २०२० मा नेपालले संविधान संशोधनमार्फत नक्सा परिमार्जन गरी लिपुलेक, कालापानी र लिम्पियाधुरालाई नेपालको भू-भागमा समावेश गरेको थियो । भारतले भने ती दाबी अस्वीकार गर्दै आएको छ ।
गत शनिबार ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँगको द्विपक्षीय भेटवार्तामा लिपुलेक नाकामार्फत भारत–चीन व्यापारको विषय उठाउँदै उक्त क्षेत्रलाई नेपालको भू-भागका रूपमा मान्यता दिन आग्रह गरेका थिए ।
यसअघि २० अगस्टमा नेपालका परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी भारतलाई ‘सडक निर्माण/विस्तार तथा सीमापार व्यापारजस्ता गतिविधि नगर्न’ अनुरोध गरेको थियो । तर नयाँ दिल्लीले उक्त विज्ञप्ति अस्वीकार गर्दै भन्यो, ‘यस्ता दाबीहरू ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैनन् ।’
सोही दिनमै भारत र चीनबीच विशेष प्रतिनिधिहरूको बैठकमा लिपुलेक, नाथु ला र शिप्कि ला नाकामार्फत व्यापार पुनः सुरु गर्ने समझदारी भएको थियो ।
सीमापार व्यापार कोभिड–१९ महामारीपछि र २०२० को गलवान संघर्षपछि बन्द भएको थियो । तर पछिल्ला हप्तामा नयाँ दिल्ली र बेइजिङबीच सम्बन्ध सुधारका लागि विश्वास निर्माण गर्ने उपायहरूमा ध्यान दिइएको छ ।
यसअघि अगस्ट महिनामा भारतका परराष्ट्र सचिव विक्रम मिस्रीले काठमाडौं भ्रमण गर्दै चिकित्सा तथा सैनिक सामग्री प्रदान गरेका थिए, जसलाई दुई देशबीच निरन्तर सम्पर्कको संकेतका रूपमा लिइएको थियो । नेपाल–भारतबीचको परम्परागत नजिकको सम्बन्धलाई दृष्टिगत गर्दा ओलीको अहिलेसम्मको भारत भ्रमण नहुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
ओलीले पदभार सम्हालेपछि चीन दुई पटक भ्रमण गरिसकेका छन् । सन् २०२४ डिसेम्बरको आधिकारिक भ्रमणसँगै ३० अगस्टदेखि ३ सेप्टेम्बरसम्म तिआनजिन र बेइजिङको भ्रमण गरेर उनले एससीओ प्लस सम्मेलनमा भाग लिएका थिए र जापानी आक्रमणविरुद्धको चिनियाँ प्रतिरोध युद्धको ८०औं विजय दिवस कार्यक्रममा समेत सहभागी भएका थिए ।
प्रधानमन्त्री मोदीले गत अप्रिलमा बैंककमा सम्पन्न बिम्स्टेक सम्मेलनको अवसरमा ओलीसँग द्विपक्षीय भेट गरेका थिए । दुबै नेताहरू २०२४ मा न्युयोर्कमा सम्पन्न ‘युनाइटेड नेशन्स समिट अफ द फ्युचर’ को अवसरमा पनि भेटेका थिए ।
गत मार्चमा ओली देशभर फैलिएका राजतन्त्र समर्थक प्रदर्शनका कारण दबाबमा परेका थिए, जसले पूर्वराजा ज्ञानेन्द्र शाहलाई फर्काउने माग गरेको थियो । त्यतिबेला मिडियामा आएको समाचारअनुसार प्रधानमन्त्री ओलीले ती प्रदर्शनलाई भारतले समर्थन गरेको आशंका गरेका थिए । तर बैंककमा भएको भेटमा भारतीय प्रधानमन्त्रीले नेपालमा लोकतन्त्रलाई समर्थन गर्ने नयाँ दिल्लीको प्रतिबद्धता स्पष्ट गरेका थिए । (भारतीय मिडिया द प्रिन्टबाट अनुदित तथा सम्पादित)
सान्दर्भिक सामग्री :
चीनको सैन्य परेडमा विश्वको नजर, अमेरिकासँग झन् बढ्दै तनाव
हाँसोभित्र लुकेको कुटनीति : पुटिन, मोदी र सी जिनपिङको तिआनजिन संवाद
‘शीतयुद्ध मानसिकता’ अस्वीकार, चिनियाँ राष्ट्रपति सीको एआईमा सहकार्य गर्न आह्वान
भारतको त्रिदेशीय सन्तुलन : शुल्क, तेल र असजिलो हस्तमिलन