तियानजिन, चीन । चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार शाङ्घाई सहयोग संगठन (एससीओ) का सदस्य राष्ट्रहरूलाई कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा सहकार्य गर्न आह्वान गरेका छन् । उनले भनेका छन्, ‘शीतयुद्ध मानसिकता’लाई अस्वीकार गर्नुपर्छ ।
आजसम्मकै ठूलो भनिएको एससीओ शिखर सम्मेलनमा सी बोलिरहेका थिए, जसमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित २० भन्दा बढी विदेशी नेताहरू तियानजिनमा सहभागी भएका थिए।
चीनले आफूलाई वैश्विक शान्तिदूतको रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेको बेला बैठक भएको हो । यता अमेरिका–चीनबीचको निरन्तर व्यापारिक तनाव, युक्रेनमा रुसी युद्ध र इजरायल–हमास द्वन्द्वको पृष्ठभूमि छ ।
सीले चीनले एससीओका अन्य मुलुकहरूमा ८४ अर्ब डलर लगानी गरिसकेको उल्लेख गर्दै बेइजिङको ‘लुबान’ व्यावसायिक शिक्षा कार्यक्रममा १० हजार विद्यार्थीलाई सहभागी गराउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘यस शिखर सम्मेलनले गुणस्तरीय विकास र सहकार्यको नयाँ चरण सुरु गर्ने अवसर प्रदान गरेको छ ।’
आफ्नो सम्बोधन अघि सीले मोदी र पुटिनसँगै अन्य एससीओ सदस्यहरूसँग समूह तस्बिरमा भाग लिएका थिए ।
यसै हप्तामा सी र पुटिनबीच द्विपक्षीय भेट हुने अपेक्षा गरिएको छ । पुटिन दोस्रो विश्वयुद्ध समाप्त भएको ८० वर्षको अवसरमा बेइजिङमा आयोजना हुने सैनिक परेडमा सहभागी हुन चीनमै बस्ने कार्यक्रम छ ।
सप्ताहन्तमा सीले कम्तीमा १० जना विदेशी नेताहरूसँग भेट गरेका थिए, जसमा टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगान र क्याम्बोडियाका प्रधानमन्त्री हुन मानेटसमेत छन् । शनिबार उनले मोदीसँग भेट्दा दुबै पक्षले प्रतिस्पर्धी नभई साझेदार बन्नुपर्नेमा जोड दिएका थिए ।
भारतको परराष्ट्र मन्त्रालयले भेटपछि विज्ञप्ति जारी गर्दै भन्यो, ‘आपसी सम्मान, आपसी हित र आपसी संवेदनशीलताको आधारमा भारत र चीनबीचको स्थिर सम्बन्ध र सहकार्य दुवै देशका २.८ अर्ब जनताको प्रगति र विकासका लागि अत्यावश्यक छ ।’
यद्यपि एससीओ शिखर सम्मेलनले तत्काल तनाव कम गर्ने ब्रेकथ्रू ल्याउने वा नल्याउने अनिश्चित भए पनि विश्लेषकहरूले भने चीन–भारत सम्बन्ध सुधारले बेइजिङको प्रभाव बलियो बनाउन सक्ने बताएका छन् ।
‘भारतसँगको सम्बन्ध सुधार ठूलो कुरा हो । यसले भारतलाई औद्योगिकीकरण र उत्पादन वृद्धि गर्न आवश्यक बौद्धिक सम्पत्तिमा पहुँच दिन्छ,’ जियोम्याक्रो स्ट्राटेजी बीसीए एसेसका प्रमुख रणनीतिकार मार्को पापिकले इमेलमार्फत भने ।
‘तर दीर्घकालीन रूपमा अमेरिकाले चीनलाई समस्या सृजकको रूपमा चित्रित गर्ने प्रचार युद्ध हार्दै गएको छ । यसले बहुध्रुवीय विश्वलाई अझ मजबुत बनाइरहेको छ,’ उनले थपे ।
‘चीनले आर्थिक सहकार्य र शान्तिका लागि ‘पहल’ लिएको छ,’ सेन्टर फर चाइना एण्ड ग्लोबलाइजेशनका संस्थापक तथा अध्यक्ष हेन्री हुयाओ वाङले भने । उनले चीन–भारत सम्बन्ध पुनःस्थापना गर्ने प्रयासको प्रशंसा गर्दै भारत–पाकिस्तानले पनि त्यस्तै गर्नुपर्ने बताए ।
‘अमेरिकी राष्ट्रपति ट्रम्प धेरै शान्ति ल्याउने प्रयासमा छन्, तर चीनको सहयोग भए हामीले पनि त्यस्तै गर्न सक्छौं,’ वाङले सोमबार सीएनबीसीको द चाइना कननेक्शन कार्यक्रममा भने।
‘चीनले रुससँगको राम्रो सम्बन्धको फाइदा उठाएर युक्रेन युद्धबारे सम्झौता गराउन सहयोग गर्न सक्छ,’ उनले थपे । साथै एससीओ वा चीन–भारत जस्ता सदस्यहरूले सुरक्षा ग्यारेन्टरको भूमिका खेल्न सक्ने उनले जोड दिए ।
एससीओ शिखर सम्मेलनले चीनलाई धेरै देशहरूसँग सम्बन्ध सुधार्ने बाटो खोल्न सक्ने सम्भावना रहेको पापिकले बताए ।
दुई दिने बैठकको अन्त्यमा संयुक्त विज्ञप्ति जारी हुने अपेक्षा गरिएको छ । चीनका शीर्ष कूटनीतिज्ञ वाङ यीले सोमबार बेलुकी पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ ।
भारतको त्रिदेशीय सन्तुलन : शुल्क, तेल र असजिलो हस्तमिलन