सेयर बजारका बादशाह बफेटको नयाँ कदम : कमजोर छवि भएको बीमा कम्पनीमा अर्बौं लगानी

काठमाडौं । धेरै महिनादेखि नगद संकलन गरिरहेका विश्वप्रसिद्ध लगानीकर्ता वारेन बफेटले दोस्रो त्रैमासिकमा आफ्नो पोर्टफोलियोमा ठूलो परिवर्तन गरेका छन् । बफेटको कम्पनी बर्कशायर ह्याथवेले युनाइटेडहेल्थ ग्रुपमा १।६ अर्ब डलरको लगानी गरेको हो । 

ह्याथवेले यस बीमा कम्पनीका ५० लाख कित्ता सेयर खरिद गरेको हो । यो खबर बाहिर आएपछि युनाइटेडहेल्थको सेयर करिब १२ प्रतिशतले बढ्यो । तर बफेटको यस निर्णयलाई लिएर बजारमा आश्चर्य छाएको छ । यसको कारण के भने एक समय विश्वका शीर्ष कम्पनीमध्ये पर्ने युनाइटेडहेल्थको सेयर गत एक वर्षमा आफ्नो उच्चतम स्तरबाट ६० प्रतिशतसम्म घटिसकेको छ ।

हालैको केही समयदेखि युनाइटेडहेल्थको छवि कमजोर बन्दै गएको छ । न्याय विभागले कम्पनीविरुद्ध मेडिकेयर बिलिङसम्बन्धी अनुसन्धान गरिरहेको छ । यसबाहेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले राजीनामा दिएका थिए र नाफासम्बन्धी धेरै चेतावनीहरूसमेत सार्वजनिक भएका थिए । 

यी सबैबीच पनि बफेटले यस कम्पनीमा ठूलो बाजी थापेका छन् । अब युनाइटेडहेल्थ बफेटको पोर्टफोलियोमा सामेल भएको १८औं ठूलो सेयर बनेको छ । शुक्रबार युनाइटेडहेल्थको सेयर ११.९८ प्रतिशतले बढेर बन्द भयो । यससँगै कम्पनीको बजार मूल्य (मार्केट क्याप) बढेर २७५.३३ अर्ब डलर पुगेको छ ।

एप्पलका सेयर बिक्री

यसबीच बर्कशायरले एप्पलका करिब २ करोड सेयर बेचिसकेको छ । यसका कारण आईफोन निर्माता कम्पनीमा बर्कशायरको सेयर मूल्य ९.२ अर्ब डलरले घटेको छ । तर पनि बर्कशायरको पोर्टफोलियोमा एप्पल अझै शीर्ष स्थानमै छ । 

बफेटको कम्पनीले दोस्रो त्रैमासिकमा बैंक अफ अमेरिकाका २.६ करोड सेयर समेत बेचेको छ । अब यस बैंकमा कम्पनीको हिस्सेदारी करिब ८ प्रतिशत मात्रै बाँकी छ । साथै बर्कशायरले टी-मोबाइल यूएसमा गरेको १ अर्ब डलर बराबरको सम्पूर्ण लगानी पनि फिर्ता लिएको छ । यसरी बफेटले टेलिकम क्षेत्रबाट पूर्ण रूपमा हात झिकेका छन् ।

बर्कशायरले नुकोर (स्टिल कम्पनी) र होममेकर लेनारमा पनि लगानी गरेको छ भने डीआर हर्टनका सेयर बिक्री गरिसकेको छ । यसबाहेक बफेटको कम्पनीले लामर एडभर्टाइजिङ (आउटडोर विज्ञापन कम्पनी) र एलिजियन (सेक्युरिटी प्रडक्ट कम्पनी) मा पनि सानो हिस्सेदारी किनेको छ ।

बफेट यो महिनामा ९५ वर्षका हुनेछन् र वर्षको अन्त्यतिर बर्कशायरको सीईओ पदबाट अलग हुने तयारीमा छन् । जूनको अन्त्यसम्म बर्कशायरको सबैभन्दा ठूलो हिस्सेदारी भएका कम्पनीहरू एप्पल, अमेरिकन एक्सप्रेस, बैंक अफ अमेरिका, कोका-कोला र शेवरान रहेका थिए ।

विश्वका सबैभन्दा सफल लगानीकर्तामध्ये एक बफेट मानिन्छन् ।  सन् १९६५ मा उनले बर्कशायर ह्याथवेमा नियन्त्रण लिएपछि यसलाई विश्वकै ठूलो लगानी होल्डिङ कम्पनीमा रूपान्तरण गरेका थिए ।

बफेट दीर्घकालीन लगानी रणनीतिका लागि चर्चित छन् । उनले प्रायः त्यस्ता कम्पनी रोज्छन् जसको व्यवसाय मोडेल स्थिर, ब्रान्ड बलियो र दीर्घकालीन आम्दानी सम्भावना उच्च हुन्छ । यही कारणले उनले कोकाकोला, अमेरिकन एक्सप्रेसजस्ता कम्पनीमा लगानी गर्दै आएका छन् ।

फोर्ब्सका अनुसार बफेट संसारका सर्वाधिक धनी व्यक्तिहरूमध्ये एक हुन् । उनको नेटवर्थ १२० अर्ब डलरभन्दा बढी छ । उनले आफ्नो सम्पत्तिको ९० प्रतिशतभन्दा बढी परोपकारका लागि दान गर्ने प्रतिबद्धता व्यक्त गरिसकेका छन् ।

उनी संसारकै धनी व्यक्तिहरूमध्ये भए पनि अत्यन्तै सादा जीवनशैलीका लागि चर्चित छन् । बफेट अझै पनि १९५८ मा ३१ हजार ५०० डलरमा किनेको आफ्नै पुरानो घरमै बस्छन् । उनलाई फास्ट–फूड, कोकाकोला र साधारण कार मन पर्छ ।

Share News