काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) चिप निर्माण गर्ने कम्पनी एनभीडीयाले दिनदिनै नयाँ इतिहास बनाउँदै छ । ४ ट्रिलियन डलरको बजार पूँजीकरण (मार्केट क्याप) बनाई विश्वको पहिलो कम्पनी बनेपछि यस कम्पनीले अर्को नयाँ रेकर्ड कायम गरेको हो ।
अमेरिकाको एसएन्डपी ५०० इन्डेक्समा एनभीडीयाको हिस्सेदारी ८ प्रतिशत पुगेको छ । अमेरिकामा सन् १९८१ मा यस किसिमको रेकर्ड राख्न सुरु भएको थियो यद्यपि अहिलेसम्म कुनै कम्पनी यो स्तरमा पुग्न सकेको थिएनन् ।
जसरी एनभीडीयाको सेयर बढिरहेको छ त्यसले देखाउँछ कि आगामी दिनहरूमा यो कम्पनीले धेरै नयाँ रेकर्डहरू बनाउन सक्छ ।
एनभीडीयाको बजार पूँजीकरण अहिले ४.४५५ ट्रिलियन डलर पुगेको छ ।
अमेरिकाको इतिहासमा यसअघि केवल एक कम्पनी मात्र एसएन्डपी ५०० इन्डेक्समा ७ प्रतिशतभन्दा माथि पुगेको थियो । आइफोन बनाउने कम्पनी एप्पलले सन् २०२३ मा यो उपलब्धि हासिल गरेको थियो ।
२००० को डट-कम बबलको समयमा समेत कुनै कम्पनीले यसरी एसएन्डपी ५०० इन्डेक्समा आफ्नो प्रभुत्व जमाउन सकेका थिएनन् । सन् १९९९ मा माइक्रोसफ्टको र सन् २००० मा जनरल इलेक्ट्रिकको हिस्सेदारी ४ प्रतिशत थियो भने सन् १९८४ मा आईबीएमको हिस्सेदारी ६ प्रतिशत थियो ।
विशेषज्ञहरूका अनुसार अहिले विश्वमा एआई क्रान्तिको सुरुवात मात्र भएको छ । आगामी दिनहरूमा जसरी विश्वमा एआईको प्रयोग बढ्नेछ, त्यसैगरी एनभीडीया र चिप निर्माण गर्ने अन्य कम्पनीहरूको सेयरमा पनि तीव्र वृद्धि हुनेछ ।
विज्ञहरू आगामी दुई वर्षमा एनभीडीयाको सेयर ३०० डलरसम्म पुग्न सक्ने बताउँछन् । केही महिनामै कम्पनीको सेयरमा ठूलो उछाल आएको छ । अप्रिलमा यसको मूल्य करिब ९५ डलर थियो भने अहिले यो करिब १८३ डलरसम्म पुगेको छ ।
एनभीडीया सन् १९९३ मा अमेरिकामा स्थापना भएको एक प्रख्यात टेक कम्पनी हो जसको सुरुवाती उद्देश्य कम्प्युटर ग्राफिक्सका लागि उच्च प्रदर्शनका ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) विकास गर्नु थियो ।
समयसँगै यसको प्रविधि केवल गेमिङ र ग्राफिक्ससम्म सीमित रहेन बरु वैज्ञानिक अनुसन्धान, डेटा सेन्टर, स्वचालित सवारीसाधन र हालको एआई क्रान्तिको मेरुदण्ड बन्न पुग्यो ।
एनभीडीयाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङ हुन् । उनी कम्पनीका सह-संस्थापक पनि हुन् । उनले प्राविधिक क्षेत्रमा ऐतिहासिक सफलता हात पारेका छन् ।
सन् १९६३ मा ताइवानको ताइनानमा जन्मिएका हुआङ ९ वर्षको उमेरमा अमेरिका पुगेका थिए । बाल्यकालमा होटलमा वेटर र विद्यालयमा क्लीनरको काम गर्दै उनले पढाइ जारी राखे । उनले ओरेगन स्टेट युनिभर्सिटीबाट विद्युत इन्जिनियरिङमा स्नातक र स्ट्यानफोर्ड विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् ।
सन् १९९३ मा क्रिस मलाचोव्स्की र कर्टिस प्राइमसँग मिलेर हुआङले एनभीडीया स्थापना गरेका थिए ।
प्रारम्भिक संघर्षपछि कम्पनीले सन् १९९९ मा ‘जिफोर्स २५६’ बजारमा ल्याउँदै जीपीयू प्रविधिमा क्रान्ति ल्याएको थियो ।
कालो लेदरको ज्याकेट लगाइ सार्वजनिक कार्यक्रममा उपस्थित हुने हुआङलाई उद्योग विश्लेषकहरूले ‘एआई युगको प्रमुख पात्र’ का रूपमा व्याख्या गर्छन् ।