काठमाडौं । टेस्लाका कार्यकारी तथा एलन मस्कका लामो समयदेखि नजिकका सहयोगी ओमिद अफशारले कम्पनी छाडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । विश्वव्यापी माग सुस्त भइरहेका बेला टेस्लाबाट अर्को वरिष्ठ कर्मचारीको बहिर्गमन भएको हो ।
अफशार सीईओको अफिसको हिस्सा थिए र सन् २०२३ देखि युरोप र उत्तर अमेरिका क्षेत्रको बिक्री तथा उत्पादनको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनले सन् २०१७ मा टेस्लामा काम सुरु गरेका थिए र चाँडै मस्कका विश्वासिलो पात्र बनेका थिए । टेक्सास गिगाफ्याक्टोरीजस्ता ठूला योजनामा उनले केन्द्रीय भूमिका खेलेका थिए ।
स्रोतहरूले अफशारले किन कम्पनी छाडे भन्ने विवरण दिन सकेनन् । उनले यसै साता सामाजिक सञ्जाल एक्समा टेस्लासम्बन्धी पोस्ट गरेका थिए र बुधबारसम्म उनका एक्स र लिंक्डइन प्रोफाइलमा अझै टेस्ला कार्यकारीको पद उल्लेख गरिएको थियो ।
युरोप र उत्तर अमेरिकामा टेस्लाका पुराना मोडल गाडीप्रति ग्राहकको चासो घट्दै गएको छ भने प्रतिस्पर्धी कम्पनीहरूले सस्तो मूल्यका विकल्पहरू ल्याएका छन् । यस्तो पृष्ठभूमिमा अफशारले टेस्ला छाडेका हुन् ।
टेस्लाको आन्तरिक कामकाजसँग परिचित दुई जनाका अनुसार एलन मस्क वाशिंगटनतर्फ केन्द्रित भइरहँदा अफशारले यस वर्ष थप जिम्मेवारी सम्हालेका थिए ।
एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारको खर्च कटौती अभियानमा नेतृत्व गरेपछि टेस्लालाई समय नदिएको भन्दै लगानीकर्ता र विश्लेषकहरू चिन्तित बनेका थिए ।
सोमबार अफशारले एक्समा अष्टिनमा सुरु भएको रोबोट्याक्सीलाई ‘टेस्लाका लागि साँच्चिकै ऐतिहासिक दिन ! ’ भनेका थिए र थपेका थिए- ‘हामी सबैलाई अगाडि बढाउनुभएकोमा धन्यवाद, एलन !’
अतीतमा अफशारले मस्कसँग बिदाहरू र रातभर काम गरेको अनुभवसमेत एक्समा बाँडेका थिए, विशेष गरी सन् २०१८ मा मोडल ३ गाडीको उत्पादन तीव्र भइरहँदा । उनले मार्च महिनाको एक पोस्टमा लेखेका थिए- ‘त्यो बेला हामी कारखानामै बस्थ्यौं, साँच्चिकै २४/२७’
टेस्लाका पूर्व मिड-लेभल बिक्री प्रबन्धक म्याथ्यु लाब्रोट भन्छन्, ‘अफशार मस्कसँग धेरै नजिक थिए र पछि उत्तर अमेरिका तथा युरोप क्षेत्रको बिक्री-उत्पादनको नेतृत्वमा पुगेका थिए ।’
उनका अनुसार बिक्री घट्न थालेपछि आन्तरिक रूपमा ठूलो दबाब थियो, खासगरी युरोपमा यो समस्या गम्भीर बनिरहेको थियो ।
लाब्रोटले मस्कको आलोचना गरेपछि उनी कम्पनीबाट बाहिरिएका थिए ।
ब्लूमबर्ग न्यूजले अफशारको बहिर्गमनबारे सबैभन्दा पहिले रिपोर्ट गरेको थियो, जसले टेस्लाका उत्तर अमेरिकी मानव संसाधन निर्देशक जेना फेरुआले पनि कम्पनी छाडेको जनाएको छ । अफशारको बहिर्गमन पुष्टि गर्ने तीनमध्ये दुई जनाले फेरुआले पनि त्यही समयमा कम्पनी छाडेको बताए ।
तीमध्ये एक जनाले अफशार र फेरुआ नजिकका सहकर्मी भएको बताउँछन् । जसकारण दुवैले एकै समयमा कम्पनी छाड्नु अचम्मको विषय होइन । अर्का स्रोतका अनुसार फेरुआ अफशारकी प्रत्यक्ष एचआर सल्लाहकार थिइन् ।
अफशारको बहिर्गमन टेस्लामा विगत १४ महिनामा भएका एकपछि अर्को उच्चस्तरीय बहिर्गमनहरूमध्ये पछिल्लो हो । कम्पनीले हजारौं कर्मचारी हटाउँदै एआई-आधारित सेल्फ-ड्राइभिङ प्रविधि र रोबोटिक्सतर्फ ध्यान केन्द्रित गर्न थालेपछि यस्ता संरचनात्मक परिवर्तनहरू भएका हुन् ।
यस अवधिमा रोबोट, ब्याट्री र सार्वजनिक नीति विभागका नेताहरू पनि बाहिरिए । टेस्लाको ह्युमनाइड रोबोट ‘अप्टिमस’ टोलीका प्रमुख मिलान कोभाकले यसै महिना टेस्ला छाडेको घोषणा गरेका थिए र ब्याट्री विभागका शीर्ष कार्यकारी विनीत मेहताले मे महिनामा कम्पनी छाडेका थिए ।
मुख्य ब्याट्री इन्जिनियर ड्र्यु बाग्लिनो, सुपरचार्जिङ विभाग प्रमुख रेबेका टिनुच्ची, र सार्वजनिक नीति प्रमुख रोहन पटेल पनि सन् २०२४ को वसन्तमा टेस्लाबाट बाहिरिएका थिए ।
मस्कले मे महिनाको अन्त्यतिर वाशिंगटनको भूमिका समाप्त गरेपछि केही लगानीकर्तालाई ब्रान्ड इमेजबारेको चिन्ता कम भएको थियो । तर वर्षको सुरुवातमा टेस्लाको सेयर मूल्य केही बढेपनि अहिलेसम्म करिब १९ प्रतिशतले घटिसकेको छ । प्रारम्भिक वृद्धिको कारण ट्रम्पको विजयले रोबोट्याक्सीका लागि नियामकीय बाटो खुल्ने आशा थियो ।
आइतबार टेस्लाले टेक्सासको अष्टिनमा आफ्नो पहिलो सेल्फ(ड्राइभिङ ट्याक्सी सेवा सुरु गरेको छ । विश्लेषकहरूका अनुसार यस सेवा विस्तार गर्न अन्य सहरहरूमा जाँदा सुरक्षा र प्रविधिसम्बन्धी चुनौतीहरू आउन सक्ने सम्भावना छ ।
स्वचालित ड्राइभिङ फिचरकै कारण दुर्घटना ? टेस्लाविरुद्ध मृतक परिवारको मुद्दा
अब बिना ड्राइभर ट्याक्सीमा यात्रा, मस्कको रोबोट्याक्सी सार्वजनिक