मस्कको ‘रोबोट्याक्सी’परीक्षणमा गम्भीर गल्ती, टेक्सासका सडकमा ‘ट्राफिक हैरानी’

काठमाडौं । टेस्लाले टेक्सासको अष्टिनमा सुरु गरेको पहिलो सार्वजनिक ‘रोबोट्याक्सी’ परीक्षणमा गम्भीर ट्राफिक समस्या देखिएको छ । कम्पनीले छानेका केही प्रयोगकर्ताले सार्वजनिक गरेका भिडियोहरूमा पहिलो केही दिनमै यस्ता समस्याहरू देखिएका हुन् ।

टेस्लाका प्रमुख कार्यकारी एलन मस्कले कम्पनीको भविष्य स्वचालित गाडी प्रविधिसँग जोडेका छन् । अहिले टेस्लाको बिक्री घटिरहेको अवस्थामा उनले यो सेवा अमेरिकाभर विस्तार गर्ने योजना सार्वजनिक गरेका छन् । मस्कले २०२६ को दोस्रो अर्धसम्म ‘पुरै स्वचालित रूपमा चल्ने लाखौं टेस्लाहरू’ सञ्चालनमा आउने दाबी गरेका छन् ।

परीक्षणमा सामेल भएका टेस्लाका प्रशंसकहरूले समस्या नभएको घण्टौंको यात्रा भिडियोमा देखाए पनि केही गम्भीर समस्याहरूले अमेरिकी ट्राफिक सुरक्षा नियामकहरू र सवारी विशेषज्ञहरूलाई चासोको विषय बनाएको छ ।

गलत लेनमा प्रवेश गर्नु, यात्रुहरूलाई छ लेनको सडकको बीच वा जंक्शनमा झारिदिनु, अचानक ब्रेक लगाउनु, अत्यधिक गतिमा चलाउनु, फुटपाथ चढ्नुजस्ता समस्या देखिएका छन् ।

एउटा भिडियोमा टेस्लाको रोबोट्याक्सी उल्टो दिशातर्फको लेनमा करिब ६ सेकेन्डसम्म गुडेको देखिन्छ । अर्को घटनामा गाडीले बिना बाधा अचानक ब्रेक लगाउँछ, यात्रु अगाडि लड्छन् र सामान भुइँमा खस्छ । अर्को भिडियोमा गाडी प्रहरीको गाडी नजिकै दुईपटक बिनाकारण रोकिन्छ ।

टेस्लाले यस्ता गाडीमा अगाडिको सिटमा मानव सुरक्षा निरीक्षक राखेको छ । एउटा भिडियोमा निरीक्षकले अगाडिको डेलिभरी ट्रक ब्याक गर्न थालेपछि बटन थिचेर रोबोट्याक्सी रोकेको देखिन्छ ।

‘पहिलो दिनमै यति धेरै गल्तीहरूको भिडियो देखिनु अत्यन्तै चासोको कुरा हो,’ क्यानेर्गी मेलोन विश्वविद्यालयका प्रोफेसर तथा स्वचालित प्रविधि विज्ञ फिलिप कुपम्यानले भने ।

टेस्लाले अहिले करिब १० देखि २० वटा मोडल वाई गाडीहरूमा रोबोट्याक्सी सेवा परीक्षण गरिरहेको छ ।

null

स्थानीय प्रशासनको प्रतिक्रिया

अष्टिन सिटी प्रशासनले टेस्लाको समस्याबारे सामाजिक सञ्जालमा आएका विवरणहरूप्रति ध्यान दिएको जनाएको छ । यदि कुनै कानुनी वा सुरक्षासम्बन्धी चिन्ता आयो भने तुरुन्तै टेस्लासँग जानकारी साट्ने बताएको छ । प्रहरी विभाग पनि टेस्लासँग सहकार्य गरिरहेको जनाइएको छ ।

यी घटनाहरू दुर्घटनासम्म नपुगे पनि केही दृश्यहरू सुरक्षालाई प्राथमिकता दिइएको देखिन्छ । प्रिन्सटन विश्वविद्यालयका प्रोफेसर एलन कोर्नहाउजरले भने, ‘सुरुवातमा हेर्दा धेरै ठिकै देखिएको छ । केही अवस्थामा त यी गाडीहरू सामान्य चालकभन्दा राम्रोसँग चलेको देखिन्छ ।’

टेस्लाको यो परीक्षण अन्य कम्पनीभन्दा धेरै सार्वजनिक छ । गुगलको वेमो र जीएमको क्रुजले पनि अष्टिनका सडकमा यस्तै समस्याहरू सामना गरेका थिए । पछिल्ला दुई वर्षमा दर्जनौं घटनाहरूमा रोबोट्याक्सीले सडकको बीचमा गाडी रोकेको, प्रहरीको निर्देशन नमान्ने, आपतकालीन गाडी वा सडक बन्द व्यवस्थापन गर्न नसकेको रेकर्ड गरिएको थियो ।

२०२३ मा एक पैदलयात्रीसँग गम्भीर दुर्घटना भएपछि क्रुजले सेवा बन्द र्गयो । अहिले अमेरिकामा मानव निरीक्षकबिना भाडामा यात्रु चलाउने एकमात्र रोबोट्याक्सी सेवा वेमो हो, जसले हालै अष्टिनमा उबरसँग साझेदारीमा सेवा सुरु गरेको छ ।

एलन मस्कले वर्षौंदेखि टेस्लाको गाडीहरू निकट भविष्यमै पूर्ण स्वचालित हुने वाचा गर्दै आएका छन्, तर अझै त्यो पूर्ण रूपमा कार्यान्वयन भएको छैन ।

हाल टेस्लाले सीमित क्षेत्रभित्र यात्रुहरूलाई ४.२० डलर शुल्कमा सेवा दिइरहेको छ ।

स्वचालित ड्राइभिङ फिचरकै कारण दुर्घटना ? टेस्लाविरुद्ध मृतक परिवारको मुद्दा

अब बिना ड्राइभर ट्याक्सीमा यात्रा, मस्कको रोबोट्याक्सी सार्वजनिक

Share News