काठमाडौं । चीनले विदेशी संस्थाहरूलाई युआन प्रयोग गर्न अझ धेरै उपायहरू अपनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकी डलरप्रतिको अन्तर्राष्ट्रिय विश्वास कमजोर हुँदै गएको अवस्थामा चीनले मौका समातेको हो ।
विज्ञहरूका अनुसार यो कदम अमेरिकी डलर (ग्रीनब्याक) लाई चुनौती दिनका लागि लिइएका हुन्, यद्यपि डलर अझै पनि विश्वको प्रमुख मुद्रा रहँदै आएको छ । सन् २०२५ मा अमेरिकी डलर इन्डेक्स ९ प्रतिशतभन्दा बढीले घटेको छ भने युआन (विदेशी बजारमा कारोबार हुने) डलरको तुलनामा २ प्रतिशतभन्दा बढी मजबुत बनेको छ ।
बेइजिङले डलरमाथिको निर्भरता घटाउने रणनीति तीव्र बनाएको संकेतस्वरूप चीनको केन्द्रीय बैंक (पीपल्स बैंक अफ चाइना) का गभर्नर पान गोङशेङले गत हप्ता प्रतिष्ठित लुजिआझुई फोरममा ‘एकल सार्वभौम मुद्रामाथिको अत्यधिक निर्भरता कसरी घटाउने’ भन्ने विषयमा मन्तव्य दिएका थिए ।
उनीहरूले शाङ्घाईमा डिजिटल युआन अन्तर्राष्ट्रियकरणका लागि केन्द्र स्थापना गर्ने योजना र युआन आधारित विदेशी मुद्रा फ्युचर्स कारोबार प्रवर्द्धन गर्ने योजना पनि घोषणा गरे । चीनले पहिले नै डिजिटल मुद्रा बजारमा ल्याइसकेको छ, जसले केही कागजी मुद्रा र सिक्काको स्थान लिइसकेको छ ।
चीनको पछिल्लो रणनीति प्रायः फ्युचर्स बजारमा केन्द्रित छ ।
शाङ्घाई, डालियान र झेङ्झाउ स्टक एक्सचेन्जहरूले योग्य विदेशी संस्थागत लगानीकर्ताहरूले अब मुख्य भूमिमा सूचीबद्ध थप १६ फ्युचर्स र अप्सन्स सम्झौताहरूमा कारोबार गर्न पाउने संयुक्तरूपमा घोषणा गरेका छन् । यसमा प्राकृतिक रबर, सिसा र टिनजस्ता वस्तुहरू समावेश छन् ।
यसअघि पनि विदेशी लगानीकर्ताहरूका लागि दर्जनौं नयाँ फ्युचर्स सम्झौताहरू थपिएको थियो । नानहुआ फ्युचर्सका विश्लेषक झोउ जिईका अनुसार यसले अन्तर्राष्ट्रिय संस्थाहरूका लागि हेजिङ्ग विकल्पहरू मात्र बढाउँदैन, युआनको विश्वव्यापी वस्तु मूल्य निर्धारण प्रणालीमा प्रभाव पनि बढाउँछ ।
युआनलाई अझ बढी अन्तर्राष्ट्रिय बनाउने अर्को प्रयासस्वरूप शाङ्घाई फ्युचर्स एक्सचेन्जले मे महिनाको अन्त्यतिर युआनमा कारोबार हुने सम्झौताहरूको लागि विदेशी मुद्रालाई कोलेटरल (जमानत) को रूपमा प्रयोग गर्न दिने प्रस्तावमा सुझाव मागेको छ ।
अरू केही हालका कदमहरू पनि छन्, जस्तै अक्टोबर ९ देखि योग्य विदेशी लगानीकर्ताहरूले एक्सचेन्ज ट्रेडेड फन्ड (ईटीएफ) अप्सनमा कारोबार गर्न पाउने, जसको उद्देश्य हेजिङ्ग हो । यसै वर्ष विदेशी वित्तीय संस्थाहरूका लागि स्थानीय खाता खोल्दा लाग्ने ५०० युआन शुल्क मिनाहा गर्ने निर्णय पनि भएको थियो ।
जनवरीमा मोर्गन स्ट्यान्लीले चीनमा आफ्नै पूर्ण स्वामित्वको ब्रोकर फर्म खोली स्थानीय स्तरमा वस्तु बजार फ्युचर्स सेवाहरू दिन पाउने अनुमतिको घोषणा गरेको थियो । उनीहरूले यसलाई इक्विटी र फिक्स्ड इनकम बजारमा पनि विस्तार गर्ने योजना बनाएका छन् ।
यद्यपि विदेशी संस्थाहरूले चीनमा लगानी गर्न चाहन्छन्, तर पूँजी निकासीमा कडा नियन्त्रण र प्रणालीको पारदर्शिता अभावले लगानीमा ठूलो रोक लगाएको छ ।
बीसीए रिसर्चका प्रमुख रणनीतिकार म्याट गर्टकेनका अनुसार ‘चीनको कानुनी शासन अमेरिकीभन्दा कमजोर छ र यसले विदेशी लगानीकर्ताका लागि अमेरिका जस्तो गहिरो र तरल सम्पत्तिको बजार उपलब्ध गराउँदैन ।’
विश्वव्यापी भुक्तानी प्रणालीमा चीनको प्रभाव
चीनले लामो समयदेखि विदेशमा युआन क्लियरिङ बैंकहरूको जाल फैलाउँदै आएको छ र अन्तरदेशीय बैंक भुक्तानी प्रणाली (सीआईपीएस) लाई प्रवर्द्धन गर्दै आएको छ ।
अमेरिकी फेडरल रिजर्भको हालैको विश्लेषणअनुसार धेरैजसो चिनियाँ बैंकहरूले विकासोन्मुख मुलुकहरूलाई डलरको साटो युआनमा ऋण दिन थालेका छन् ।
चीनले युआनमा द्विपक्षीय व्यापारको भुक्तानीलाई पनि प्रवर्द्धन गर्दै आएको छ र फेब्रुअरीमा हङकङस्थित व्यवसायहरूलाई युआनमा वित्तीय पहुँच दिन १०० अर्ब डलरको योजना घोषणा गरिएको थियो ।
यूरेशिया ग्रुपकी चीन निर्देशक ड्यान वाङका अनुसार, ‘चीनले डलरको प्रयोग घटाउने प्रयास तीव्र पारेको देखिन्छ, यद्यपि प्रगति असमान छ ।’ उनले चीन र अन्तर्राष्ट्रिय ऊर्जा तथा वस्तु कम्पनीहरूबीच युआनमा क्रस–बोर्डर भुक्तानी बढेको उल्लेख गरिन् ।
चिनियाँ कम्पनीहरूले विदेशमा व्यापार बढाइरहेका छन्, विशेषतः अनलाइन व्यापारमा संलग्न साना कम्पनीहरूले युआनको प्रयोग बढाइरहेका छन् । उदाहरणका लागि, स्टार्टअप कम्पनी फन्डपार्कका अनुसार उनीहरूको साझेदारहरू गोल्डम्यान स्याच्स र एचएसबीसीले विदेशमा युआन राखेका कारण ग्राहकहरूले चीनभित्र र बाहिर सजिलै कारोबार गर्न सक्छन् ।
फन्डपार्कका चीन महाप्रबन्धक बेयर हुआका अनुसार युआनको प्रयोग अझै सीमित भए पनि वृद्धि भइरहेको छ। चिनियाँ अधिकारीहरूले युआनमा लिइने ऋणको ब्याजमा सब्सिडी पनि दिइरहेका छन् ।
मे महिनामा युआनको प्रयोग केही घटेको देखिएको छ । स्वीफ्टको आरएमबी ट्र्याक्रका अनुसार युआनले विश्वव्यापी भुक्तानी मूल्यको २.८९ प्रतिशत हिस्सा ओगटेको थियो, जुन पाँचौं स्थानबाट घटेर छैठौं स्थानमा पुगेको हो ।
उता अमेरिकी डलरको हिस्सा ४८.४६ प्रतिशत थियो, युरोपेली युरोको २३.५६ प्रतिशत ।
चीनको युआन प्रवर्द्धनसँगै एसियाली मुलुकहरू पनि डलरमाथिको निर्भरता घटाउँदै गएका छन् । यसमा भू–राजनीतिक तनाव, मौद्रिक नीतिमा फेरबदल र मुद्रा हेजिङको प्रयोग वृद्धि मुख्य कारण हुन् ।
डोनाल्ड ट्रम्पका नीति अनिश्चितताले गर्दा डलरमा व्यापक गिरावट आएको छ, विशेषतः अप्रिलमा यो वर्षकै सबैभन्दा ठूलो गिरावट देखिएको थियो ।
स्टेट स्ट्रीट मार्केट्सका वरिष्ठ विश्लेषक निङ सुनका अनुसार, ‘हाम्रो तथ्यांकअनुसार युआनमा लगानी बढेको देखिन्छ, खासगरी संस्थागत लगानीकर्ताहरूबाट, जसले अझै युआनमा कम लगानी गरेका छन् ।’
अनेकन प्रतिबन्धको बाबजुत पनि रुसी अर्थतन्त्रको धमाकेदार उडान
हवाई आक्रमणमार्फत ‘शान्ति’ ल्याउने अजीव समय