हवाई आक्रमणमार्फत ‘शान्ति’ ल्याउने अजीव समय

काठमाडौं । अन्य देशमाथि आक्रमण गर्नु शान्तिको कारण बन्न सक्छ भन्ने कुरा सोच्दा पनि अजीब लाग्छ, तर शनिबारदेखि मध्यपूर्वमा अचानक चर्किएको तनाव पछाडि यही तर्क देखिन्छ । र अहिले चाँडै युद्धविरामको चर्चा भइरहेको छ ।

शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आणविक भट्टीहरूमा हवाई आक्रमणको अनुमति दिए, जसले अमेरिकालाई इजरायलको तेहरानसँगको युद्धमा प्रवेश गरायो ।

आइतबार इरानका विदेशमन्त्री अब्बास आराग्चीले तेहरानले आफ्नो सार्वभौमिकता, हित र जनतालाई जोगाउनका लागि ‘सबै विकल्प सुरक्षित राखेको’बताए ।

सोमबार इरानले अमेरिकाविरुद्ध बदला स्वरूप कतारस्थित अमेरिकी सैन्य आधारमा क्षेप्यास्त्र आक्रमण र्गयो ।

र सोमबार साँझ अमेरिकामा ट्रम्पले युद्धविरामको घोषणा गरे ।

ट्रम्पले ट्रुथ सोशलमा इजरायल र इरानले ‘’पूर्ण र सम्पूर्ण युद्धविराम’ मा सहमति जनाएको र यसले ‘१२ दिनको युद्धको आधिकारिक अन्त्य’ गर्ने बताएका छन् । दुई देशबीचको युद्ध जुन १२ मा इजरायलले इरानमाथि आक्रमण गर्दा सुरु भएको थियो ।

उनले मंगलबार मध्यरातदेखि युद्धविराम लागू हुने बताएका छन् । तर इरान र इजरायल दुबै पक्षले ट्रम्पको युद्धविराम समयतालिका सार्वजनिक रूपमा पुष्टि गरेका छैनन् । 

यो सामान्य खाली भाषणबाजी मात्रै होइन भन्ने संकेत देखिन्छ । ट्रम्पका अनुसार इरानले कतारस्थित अमेरिकी सैन्य बेसमा गरिने आक्रमणको बारेमा अमेरिकालाई पहिले नै जानकारी दिएको थियो । यो ‘अपेक्षित बदला आक्रमण’ थियो भन्ने कुरा रिपब्लिकन हाउस स्पिकर माइक जोनसनले पनि भनेका छन् ।

न्यू योर्क टाइम्सका अनुसार इरानका तीनजना अधिकारीहरूले पुष्टि गरेअनुसार कतारले पनि इरानबाट पहिले नै चेतावनी पाएको थियो । इरानको राष्ट्रिय सुरक्षा परिषद्ले आफ्नो क्षेप्यास्त्र आक्रमणले ‘हाम्रो मित्रवत र दाजुभाइ राष्ट्र कतार वा त्यसका सम्मानित जनतालाई कुनै खतरा नपुर्याएको’ जनाएको छ ।

यसलाई सारमा भनिँदा यो नै ‘शक्तिमार्फत शान्ति ल्याउने रणनीति’ हो भनेर आरबीसी क्यापिटल मार्केट्सकी ग्लोबल कमोडिटी रणनीतिक प्रमुख हेलीमा क्रफ्टले सीएनबीसीलाई बताइन् ।

सबै पक्षले आफ्नो शक्ति देखाउने गरी सावधानीपूर्वक नियन्त्रित र प्रतीकात्मक प्रहार साटासाट गरेर मध्यपूर्वको तनाव कम हुने सानो सम्भावना देखिएको छ ।

मित्र इरानलाई बचाउने कि आफ्नो नाफा हेर्ने ? संकटमा रुस

इरान-इजरायल संघर्ष र अमेरिकी हस्तक्षेपले तेल बजारमा नयाँ संकट

इरान-इजरायल युद्धमा अमेरिकाको सीधा हस्तक्षेप, मध्यपूर्वमा संकट गहिरिँदै

Share News