काठमाडौं । अमेरिकाले तेहरानका आणविक भट्टीहरूमा बमबारी गरेपछि इरानले सहयोगका लागि रुससँग गरेको आग्रहमाथि सोमबारसम्म पनि विश्वभर चासोपूर्वक निगरानी भइरहेको छ । तर यस्तो अवस्थामा समेत मस्कोले आफ्नो रणनीतिक मित्रलाई तत्काल कुनै ठोस सहयोग गर्ने सम्भावना भने कमै देखिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘पूर्ण विनाश’ भनेर वर्णन गरेका ती आक्रमणले इरानलाई विश्वमञ्चमा भएका थोरै मित्र राष्ट्रहरूमध्ये रुसबाटै आशा राख्न बाध्य बनाएको छ । इरानका विदेशमन्त्री अब्बास आराघची सोमबार मस्को पुगेका छन् र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग गम्भीर छलफल गर्ने बताइएको छ ।
इरानले युक्रेन युद्धमा रुसलाई सैन्य ड्रोन र प्रविधिको ठूलो सहयोग गरेको छ, तर विश्लेषकहरूले भन्छन्- अब मस्कोले त्यसको सट्टामा इरानलाई फिर्ता दिने जति धेरै केही छैन, न दिने सम्भावना नै छ ।
बेरनबर्ग बैंकका प्रमुख अर्थशास्त्री होल्गर श्मिडिङले सोमबार एक टिप्पणीमा भनेका छन्, ‘इरानले पुटिनको युक्रेनविरुद्धको युद्धलाई हतियार र प्रविधिले व्यापक रूपमा सहयोग गरेको छ । अब विदेशमन्त्री आराघचीले मस्को पुगेर पुटिनसँग त्यसको सट्टा फिर्ता माग्न सक्नेछन् ।’
‘तर पुटिनसँग केही शब्दबाहेक धेरै दिन सक्ने छैनन् । युक्रेनमाथि जारी आक्रमणका लागि उनलाई आफ्नै हतियारहरू चाहिन्छ,’ उनले थपे ।
त्यसका साथै रुसलाई इरानलाई खुसी राख्न र सहयोग गर्न अनि यता अमेरिकी राष्ट्रपति ट्रम्पसँग सम्बन्ध राम्रो बनाउन बीचमा सन्तुलन मिलाउनुपर्ने समस्या पनि छ ।
श्मिडिङले भने, ‘यदि पुटिनले इरानको पक्षमा काम गरेको अवस्थामा ट्रम्प रिसाउन सक्छन् अनि रुसमाथि नयाँ कडा प्रतिबन्ध लगाउन सक्छन् वा पुटिनको शक्तिलाई अरू तरिकाले कमजोर पार्न सक्छन् ।’
हालसम्म मस्कोको प्रतिक्रियालाई हेर्दा स्थिति सामान्य जस्तै छ । रुसले इरान र इजरायललाई वार्तामार्फत शान्तिपूर्ण समाधान खोज्न आग्रह गरेको छ ।
केही पाउँदा केही गुमाउँदै
विश्लेषकहरू भन्छन्- इरानको द्वन्द्वले पक्कै पनि केही हदसम्म युक्रेनको सन्दर्भमा रुसलाई फाइदा पुर्याउन सक्छ किनकि यसले पश्चिमा ध्यान र स्रोतहरू युक्रेनबाट हटाउँछ । तेलको मूल्य बढ्दा तेल निर्यात गर्ने रुसका लागि युद्धकोषमा अझै आम्दानी हुने सम्भावना पनि छ ।
तर अर्कोतर्फ रुस अर्को मध्यपूर्वी मित्र राष्ट्र कमजोर हुँदा आफ्नै प्रभाव क्षेत्र पनि गुमाउँदैछ । गत वर्ष सिरियामा बशार अल असदको सत्ता पल्टिएपछि मस्कोले त्यहाँका हवाई र नौसैनिक बेसहरू पनि संकटमा पारिसकेको छ ।
इरान अत्यधिक अस्थिर भएमा रुसले त्यहाँका सम्भावित लाभदायी लगानी र पूर्वाधार परियोजनाहरू समेत गुमाउनेछ । अहिले मस्कोको लागि सबैभन्दा ठूलो प्रश्न भनेकै- इरानलाई सहयोग गर्दा वा छोड्दा के कति नाफा वा घाटा हुन्छ भन्ने हो ।
कार्नेगी रसिया युरेसिया केन्द्रका इरानी विदेश तथा गृह नीति विज्ञ निकिता स्मागिन भन्छिन्, ‘मस्कोले मध्यपूर्व युद्धलाई के रूपमा बुझ्ने भन्नेमा अझै निश्चित छैन ।’
‘पछिल्लो तीन वर्षमा रुसले इरानमा धेरै परियोजनामा लगानी गरेको छ, जुन अहिले खेर जान सक्छ । तर अर्कोतर्फ मस्कोले मध्यपूर्वको अस्थिरताबाट तेलको मूल्य बढेर र युक्रेनमा चासो घटेर फाइदा उठाउने आशा राखेको छ,’ उनले थपिन् ।
स्मागिनले भने अनुसार रुसले इरानलाई सैन्य सहयोग दिने सम्भावना त छैन नै बरु हालै इरानमा लगानी गरेको तेल ग्यास, पूर्वाधार र पारवहन परियोजनामा परेको खतरा नै मस्कोका लागि ठूलो चुनौती बनेको छ ।
स्मागिनले थपे, ‘इजरायली कारवाही सुरु हुनुभन्दा केही दिनअघि मात्रै तेहरानका रुसी राजदूतले रुस इरानको सबैभन्दा ठूलो वैदेशिक लगानीकर्ता भएको बताएका थिए । राजदूतले रकम भने खुलाएका थिएनन् । तर गत वर्ष रुसी लगानी २.७६ अर्ब डलर अनुमान गरिएको थियो । तेल ग्यास परियोजनामा मात्र रुसले झण्डै ८ अर्ब डलर लगानी गर्ने योजना बनाएको थियो ।’
अब ती सबै योजनाको भविष्य नै अन्योलमा परेको छ ।
सान्दर्भिक सामग्री :
इरान-इजरायल संघर्ष र अमेरिकी हस्तक्षेपले तेल बजारमा नयाँ संकट
इरान-इजरायल युद्धमा अमेरिकाको सीधा हस्तक्षेप, मध्यपूर्वमा संकट गहिरिँदै