मोबाइलबाटै ‘स्टार्ट र अफ’ गर्न मिल्ने डल्फिन : सस्तो मूल्य, आकर्षक फिचर

काठमाडौं । विश्वकै अग्रणी विद्युतीय सवारी निर्माता बीवाईडीले आफ्नो लोकप्रिय ईभी मोडेल डल्फिनको नयाँ संस्करण ‘डल्फिन २०२५’ नेपाली बजारमा ल्याएको छ । बीवाइडीका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले आइतबार राजधानीमा एक कार्यक्रमकाबीच यस मोडेलको औपचारिक लन्च गरेको हो ।

२०२५ को बीवाईडी डल्फिन एउटा स्मार्ट फेसलिफ्ट हो जसले ब्याट्री क्षमता, चार्जिङ क्षमता, सुरक्षा र चालक सहायता प्रणालीमा महत्त्वपूर्ण सुधार ल्याएको छ ।

नयाँ संस्करण ल्याउनुको मुख्य कारण मूल्य नबढाइ उच्च क्षमताको ईभी ग्राहकलाई उपलब्ध गराउनु हो । साथै अटोमोबाइल बजारको प्रतिस्पर्धामा आफूलाई अग्रस्थानमा राख्ने पनि उसको योजना हो ।

फेसलिफ्ट भन्नाले गाडीमा गरिएको एउटा मध्यम स्तरको अपडेटलाई जनाउँछ ।

null

यमुना श्रेष्ठ

कार्यक्रममा साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले नयाँ डल्फिन लञ्च गर्न पाउँदा खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘ नयाँ गाडी लञ्च गर्न पाउँदा हामी निकै खुसी छौं ।  हामी ग्राहकको सेवा सधैं तत्पर छौं । हाम्रो मोबिलिटी अरु कम्पनीभन्दा फरक छ ।’

उनले हालसम्म करिब २ हजार ५ सयभन्दा बढी डल्फिन नेपाली सडकमा गुडिरहेको बताइन् ।

यसैगरी साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले बीवाईडी डल्फिन एउटा गाडी मात्र नभई यो इलेक्ट्रिक जीवनशैलीको वाहक रहेको जानकारी दिए ।

उनले हरेक नयाँ संस्करणमार्फत स्वदेशी ऊर्जाको प्रयोग, शून्य उत्सर्जन र सुरुदेखि सेवा–पश्चातसम्म उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने वातावरण बनाइरहेको जिकिर गरे । 

null

साहिल श्रेष्ठ

सार्वजनिक गाडीको मूल्य ४१ लाख १५ हजार रुपैयाँ तोकिएको छ । यसमा ब्लेड ब्याट्रीको प्रयोग गरिएको छ । यो ब्याट्री पारम्परिक ब्याट्रीभन्दा ६ गुणा हल्का, ५ गुणा कम सेल्फ डिस्चार्ज हुने विशेषतायुक्त छ । यसको आयु १५ वर्षसम्मको हुने दावी छ । 

गाडीमा डीसी चार्जिङ क्षमता छ र ब्याट्रीलाई ३० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

कार्यक्रममा बीवाईडी डल्फिनको विश्वव्यापी रूपमा ८ लाख ३० हजार युनिट डेलिभरी पूरा भएको उपलब्धी पनि मनाइएको थियो । जसअन्तर्गत २ हजार ४९० औं युनिट नेपालमा डेलिभर गरिएको हो । यो उपलब्धि नेपालमा इलेक्ट्रिक मोबिलिटीप्रतिको बढ्दो विश्वासको प्रमाण हो। बीवाईडी डल्फिन नेपालकै सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक ह्याचब्याक बनेको छ ।

नयाँ बीवाईडी डल्फिन २०२५ पुरानो संस्करणको तुलनामा थप स्मार्ट, सुरक्षित र आधुनिक बनाइएको छ । यसपटक डल्फिनमा अगाडि र पछाडिको डिजाइनलाई परिमार्जन गर्दै ठूलो र प्रिमियम देखिने एलईडी हेडलाइट, आकर्षक बम्पर र नयाँ ‘बीवाईडी’ लोगो जडान गरिएको छ । 

पहिलाको ‘बील्ड यूअर ड्रिम’लेटरिङलाई हटाएर कम्पनीले आफ्नो नयाँ ब्रान्डिङलाई प्राथमिकता दिएको छ । ह्वील डिजाइन पनि अपडेट गरी १६ र १७ इन्चका नयाँ अलोय ह्वीलहरू प्रयोग गरिएको छ ।

क्याबिनभित्र १२.८ इन्चको घुम्न सक्ने टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ, जुन एप्पल कारप्ले र एन्ड्रोइड अटो दुवैसँग मेल खान्छ । ड्राइभरका लागि ८.८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर राखिएको छ ।

null

नयाँ डल्फिनमा ४५ किलोवाट आवर ब्याट्री प्याक रहेको छ जसले एकपटकको फुल चार्जमा ३४० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ । यसैगरी यसमा ७० किलोवाट क्षमताको प्रमानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर जडान गरिएको छ । यसले १८० टर्क उत्पादन गर्छ । 

डल्फिनमा मोबाइलबाटै गाडी स्टार्ट अनि अफ गर्न सकिन्छ । गाडीमा बीवाइडी एप पनि इन्स्टल गरिएको छ । 

यसले सुरक्षामा पाँच स्टार यूरो एनक्याप रेटिङ पाएको छ ।

 

पुरानो मोडेलको तुलनामा डिजाइन, ब्याट्री, चार्जिङ, इन्टेरियर र सुरक्षा प्रणालीमा महत्त्वपूर्ण सुधार गर्दै बीवाईडीले डल्फिन २०२५ नेपाली ग्राहकका लागि अझ भरपर्दो र सुविधाजनक बनाएको छ ।

नयाँ संस्करणको डल्फिन ‘आईसीई (पेट्रोलमा आधारित) गाडीहरूलाई प्रतिस्थापन गर्ने रणनीतिक कदम पनि हो ।

बीवाईडीले नेपालमा मात्र नभई यूरोपका विभिन्न देशमा पनि सस्ता ईभीहरू लन्च गर्दै आइरहेको छ । यसले बीवाईडीलाई आफ्नो बजार बिस्तार गर्न, टेस्लालगायतका गाडीसँग प्रतिस्पर्धा गर्न र आगामी ईभी प्राविधिमा अग्रसर बनाउँछ ।

सन् २०२१ मा पहिलो पटक चीनमा सार्वजनिक भएको बीवाइडी डल्फिन मोडेल हालसम्म युरोपेली देशहरूदेखि एसियाका विभिन्न मुलुकहरूमा समेत सफलतापूर्वक स्थापित भइसकेको छ । 

नेपालमा पनि यो मोडेल अत्यन्तै लोकप्रिय बनिसकेको छ । सन् २०२४ मा मात्र १ हजार ३५५ युनिट डल्फिन गाडी नेपालमा आयात गरिएको थियो, जुन सो वर्ष सबैभन्दा धेरै आयात भएको मोडेलमध्येको एक हो । विशेषतः कम्प्याक्ट ईभी सेग्मेन्टमा मात्र हेर्दा कुल आयातको झण्डै ३७ प्रतिशत हिस्सा डल्फिनको रहेको देखिन्छ ।

सन् २०२५ को पहिलो पाँच महिनामा डल्फिनको आयात संख्या कुलतः दोस्रो स्थानमा पुगेको भए पनि आफ्नो सेग्मेन्टमा अझै पनि एक तिहाइभन्दा बढी बजार हिस्सा ओगट्न सफल भएको छ ।

यसरी निरन्तर लोकप्रियतालाई कायम राख्न र ग्राहकको अपेक्षालाई अझ उत्कृष्ट रूपमा सम्बोधन गर्न, कम्पनीले डल्फिनको परिष्कृत संस्करण नेपाली बजारमा ल्याउने निर्णय गरेको हो ।

नेपालमा विद्युतीय सवारीप्रति जनचासो तीव्ररूपमा बढ्दो छ । यसका प्रमुख कारणहरूमध्ये सरकारको कर छुट नीति, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, र सहर केन्द्रित आवागमन आवश्यकताहरू हुन् ।

बीवाईडीको स्थापना सन् १९९५ मा ब्याट्री निर्माता कम्पनीको रूपमा भएको थियो । त्यस समय कम्पनीको मुख्य फोकस रिचार्जेबल ब्याट्री उत्पादनमा केन्द्रित थियो । यसले कम्पनीलाई ईभी उद्योगमा प्रवेश गर्दा इन–हाउस ब्याट्री टेक्नोलोजी प्रयोग गर्ने दुर्लभ क्षमता दिएको थियो । जुन आज ईभीको सबैभन्दा महँगो र महत्वपूर्ण हिस्सा बन्न पुगेको छ । 

बीवाईडीले आफ्नो ईभी उत्पादनमा इलेक्ट्रिक मोटर, ब्याट्री, कन्ट्रोल सिस्टमदेखि गाडीको ढाँचासमेत सबैलाई इन-हाउस नै निर्माण गर्ने नीति अपनाएको पाइन्छ । 

चीन सरकारको विद्युतीय सवारी अनुदान नीति, कर छुट, र चार्जिङ पूर्वाधारमा लगानीले कम्पनीलाई घरेलु बजारमा छिटो विस्तार गर्न ठूलो फाइदा पुर्याएको छ ।  बीवाईडीले यस अवसरलाई भरपुर उपयोग गर्दै हजारौं युनिट सवारीसाधनहरू उत्पादन र बिक्री गरिररहेको छ । 

Share News