इरान-इजरायल युद्धमा अमेरिकाको सीधा हस्तक्षेप, मध्यपूर्वमा संकट गहिरिँदै

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार घोषणा अमेरिकाले इरानका आणविक केन्द्रहरूमा आक्रमण गरेको घोषणा गरेका छन् । यससँगै अमेरिका इजरायलको पुरानो शत्रु र क्षेत्रीय शक्तिसँगको युद्धमा मुछिएको छ।

‘केही बेरअघिमात्रै अमेरिकी सेनाले इरानी शासनका तीन प्रमुख आणविक केन्द्रहरू- फोर्डो, नातान्ज र इस्फाहानमा विशाल हमला गरेको छ,’ ट्रम्पले ह्वाइट हाउसबाट सम्बोधन गर्दै भने ।

अमेरिकी नौसेनाका सब्मेरिनहरूले पनि इरानमा ३० भन्दा बढी टोमहक मिसाइल प्रहार गरेको दुई रक्षा अधिकारीहरूले एनबीसी न्यूजलाई जानकारी दिएका छन् ।

ट्रम्पले भने, ‘अमेरिका र इजरायलले सँगै एउटा टोलीको रूपमा काम गरे । सायद कुनै पनि टोलीले यति राम्रोसँग कहिल्यै काम गरेको थिएन । हामीले हाम्रो मित्र राष्ट्रमाथिको यो भयावह खतरा हटाउने दिशामा ठूलो फड्को मारेका छौं ।’

राष्ट्रपतिले अमेरिकी सेनालाई बधाई दिँदै भने, ‘यो अपरेसन जस्तो अपरेसन संसारले धेरै दशकदेखि देखेको थिएन । आशा छ, अब यसरी उनीहरूको सेवा लिनु परोस् भन्ने आवश्यकता नपरोस् ।’

‘अब या त शान्ति हुनेछ अथवा इरानका लागि त्योभन्दा ठूलो विपद् आउनेछ जुन हामीले पछिल्ला आठ दिनमा देखेका छौं । सम्झनूस्, अझै धेरै निशाना बाँकी छन्,’ ट्रम्पले थपे ।

शनिबार ट्रम्पले ह्वाइट हाउसको सिचुएसन रूमबाट आक्रमणको विवरण हेरे, जहाँ उनीसँग राष्ट्रिय सुरक्षा टोली र निकटतम सहयोगीहरू पनि थिए ।

राष्ट्रपतिले सबैभन्दा पहिले शनिबार सामाजिक सञ्जालमार्फत आक्रमणको घोषणा गरेका थिए र लेखेका थिए, ‘प्राथमिक साइट फोर्डोमा पूर्ण बम आक्रमण गरिएको छ ।’

शनिबारको यो कदमले अमेरिका र इरानबीच प्रत्यक्ष सशस्त्र संघर्ष सुरु गराएको छ, जसले तेहरानको आणविक कार्यक्रम नष्ट गर्न र शासन परिवर्तन गर्न इजरायलको प्रयासमा अमेरिकाको संलग्नता झनै बढाएको छ ।

अमेरिकी आक्रमणपछि ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग कुरा गरेको ह्वाइट हाउसका एक अधिकारीले एनबीसी न्यूजलाई जानकारी दिए ।

इरानमाथि आक्रमण गर्ने निर्णयले अमेरिकी सेनालाई फेरि मध्यपूर्वमा सक्रिय युद्धमा तानिएको छ- जुन ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा टाढा रहने वाचा गरेका थिए ।

यो निर्णय ४८ घण्टा अगाडिसम्मको स्थितिबाट ठूलो मोड हो, किनकि ट्रम्पले भनेका थिए कि अमेरिका इजरायल र इरानबीचको विवाद कूटनीतिक रूपमा समाधान हुन दुई हप्ता कुर्नेछ ।

‘इरानसँग वार्ता हुने सम्भावना अझै धेरै छ वा छैन भन्नेमा आधारित भएर म अर्को दुई हप्ताभित्र निर्णय लिनेछु,’ ट्रम्पले बिहीबार ह्वाइट हाउसबाट जारी गरेको विज्ञप्तिमा भनेका थिए ।

भित्रभित्रै ट्रम्प प्रशासन इरानसँग आणविक कार्यक्रमबारे सम्झौता गर्न प्रयासरत थियो र पछिल्ला केही महिनामा ट्रम्पले नेतान्याहुलाई हमला नगर्न सुझाव दिएको बताइएको थियो ।

तर अब त्यो कूटनीतिक बाटो बन्द हुनसक्छ । इरानी सर्वोच्च नेता आयातोल्ला अली खामेनीले भर्खरै भनेका थिए, ‘अमेरिकी सेनाले सैन्य रूपमा प्रवेश गरेमा त्यसको क्षतिपूर्ति कहिल्यै गर्न नसक्ने क्षति हुनेछ ।’  

‘यदि उनीहरू सैन्य रूपमा भित्रिए भने त्यसको नोक्सानी कहिल्यै नभरिने गरी हुनेछ,’ उनले इरानी सरकारी टेलिभिजनमार्फत जारी वक्तव्यमा थपे ।

अमेरिकी आक्रमणपछि इरानले अमेरिकासँग कसरी बदला लिने भन्ने विषय अझै स्पष्ट भएको छैन ।

आरबीसी क्यापिटल मार्केट्सका ग्लोबल कमोडिटी रणनीतिक प्रमुख हेलिमा क्रफ्टका अनुसार तेहरानले होरमुजको जलडमरूमध्यमा बारुदी सुरुङहरू राखेमा त्यसको प्रत्यक्ष असर विश्व अर्थतन्त्र र आपूर्ति शृंखलामा पर्नेछ ।

इरान र ओमानबीचको यो साँघुरो जलडमरूमध्यबाट संसारको करिब २० प्रतिशत कच्चा तेल ट्याङ्करमार्फत ओसारिन्छ ।

यदि सुरुङहरू राखिए भने जलडमरूमध्य बन्द हुनसक्छ, किनकि जहाजहरूले सुरुङहरू कहाँ राखिएका छन् भनेर थाहा पाउने छैनन् ।

‘हामीले पहिले नै इरानले जहाजका ट्रान्सपोन्डरहरूलाई धेरै आक्रामक रूपमा जाम गरिरहेको रिपोर्ट पाएका छौं,’ क्रफ्टले सीएनबीसीको ‘फास्ट मनी’ कार्यक्रममा बताइन् । 

कतारइनर्जी र ग्रीक शिपिङ मन्त्रालयले आफ्ना जहाजहरूलाई सकेसम्म जलडमरूमध्यबाट टाढा रहन पहिले नै सचेत गराइसकेका छन् ।

शनिबार अमेरिकी आक्रमणपछि यस्ता थप चेतावनीहरू आउने अपेक्षा गरिएको छ ।

ट्रम्प र उनका पूर्ववर्ती अमेरिकी राष्ट्रपतिहरूले सधैं इरानलाई आणविक हतियार राख्न नदिने अडान लिँदै आएका छन् ।

आफ्नो पहिलो कार्यकालमा ट्रम्पले ओबामा प्रशासन र अन्य राष्ट्रहरूले २०१५ मा इरानसँग गरेको आणविक सम्झौताबाट अमेरिका बाहिर निकालेका थिए र त्यसले अमेरिका सुरक्षित नगर्ने र तेहरानलाई प्रशोधन गर्ने योजना रोकिने सुनिश्चित नगर्ने जिकिर गरेका थिए ।

इजरायलले सधैं इरान आणविक हतियार बनाइरहेको दाबी गर्दै आएको छ र यसअघि पनि हमला गर्ने धम्की दिएको थियो । तर अहिलेसम्म तेलअविवले लक्षित हत्या र साइबर आक्रमणसम्म मात्रै सीमित राखेको थियो ।

मार्चमा ट्रम्पकी राष्ट्रिय गुप्तचर निर्देशक तुलसी गब्बार्डले कंग्रेससमक्ष भनेकी थिइन् कि अमेरिकी गुप्तचर निकायको मूल्याङ्कन अनुसार ‘इरानले अहिले आणविक हतियार निर्माण गरिरहेको छैन र सर्वोच्च नेता खामेनीले सन् २००३ मा स्थगित गरेको आणविक हतियार कार्यक्रम पुनः सुरु गर्न स्वीकृति दिएका छैनन् ।’  

तर ट्रम्पले आफ्नै क्याबिनेट अधिकारीको मूल्याङ्कनलाई पटकपटक अस्वीकार गर्दै आएका छन् ।

‘म उनलाई के भनिन् भन्नुमा चासो राख्दिनँ। मलाई लाग्छ उनीहरू एकदम नजिक पुगेका थिए,’   ट्रम्पले गत साता एयर फोर्स वनमा भनेका थिए ।

Share News