सुदूरपश्चिम प्रदेशका उद्योगमन्त्री चौधरीलाई राजीनामा दिन दबाब, पद नछाडे बर्खास्त गर्ने चेतावनी

काठमाडौं । सुदूरपश्चिम प्रदेशका  उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई पदबाट राजीनामा दिन दबाब दिएको बुझिएको छ । नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य रहेका मन्त्री चौधरीलाई प्रदेशका मुख्यमन्त्री कमल शाहले राजीनामा दिन दबाब दिएको खुलेको हो । 

चौधरी एक महिनाअघि मात्रै  उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मन्त्रीका रुपमा नियुक्त भएका थिए । नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री रहेका लक्ष्मण किशोर चौधरीलाई अनियमितताको आरोप लागेपछि उनलाई हटाएर रामेश्वर चौधरीलाई मन्त्रीको जिम्मेवारी दिइएको थियो । 

अहिले पार्टीभित्रबाटै उनलाई राजीनामा दिन दबाब दिइएको छ । पार्टीको आग्रहअनुसार मुख्यमन्त्री शाहले पनि उनलाई पदबाट राजीनामा दिन दबाब दिएको बुझिएको हो । अहिले नागरिक उन्मुक्ति पार्टी भित्रको आन्तरिक विवादको सिकार उक्त पार्टीका मन्त्रीहरू हुने गरेको नेताहरूले बताउने गरेका छन् । 

चौधरीलाई मन्त्रीबाट किन हटाउन लागिएको हो भन्ने विषय भने खुल्न सकेको छैन । प्रदेशका एक मन्त्रीले अहिले मुख्यमन्त्री कमलबहादुर शाह र मन्त्री चौधरीबीच यस विषयमा छलफल भइरहेको बताए । 

Share News