कमजोर मागले फरारीको दोस्रो ईभी २०२८ सम्मका लागि स्थगित

काठमाडौं । फरारीले आफ्नो दोस्रो पूर्ण रूपमा विद्युतीय मोडेल कम्तीमा २०२८ सम्मका लागि सारेको छ ।  उक्त मोडेल २०२६ मा आउने भनिएको थियो । 

उच्च प्रदर्शन लक्जरी विद्युतीय सवारीहरूको कमजोर मागका कारण यस्तो निर्णय गरिएको दुई जना नजिकका स्रोतहरूले रोयटर्सलाई बताए ।

पेट्रोल इन्जिनका लागि प्रसिद्ध फरारीले २०१९ देखि हाइब्रिड मोडेलहरू बेच्दै आएको छ र यस वर्ष अक्टोबरमा पहिलो विद्युतीय गाडी तीन चरणमा सार्वजनिक गर्ने योजना बनाएको छ, जसको विश्वस्तरीय सार्वजनिक प्रिमियर अर्को वर्षको हुनेछ ।

विद्युतीय गाडीमा आवाजको कमी र विद्युतीय ब्याट्रीहरूको भारीपनका साथै पेट्रोल इन्जिनको जस्तो निरन्तर शक्ति नहुनाले अटो निर्माता कम्पनीहरूका लागि चुनौतीपूर्ण बनेको छ । 

फरारीको गोप्य योजनाअनुसार दोस्रो विद्युतीय मोडेल सन् २०२६ को अन्त्यतिर ल्याउने भनिएको थियो । तर अब त्यो २०२८ भन्दा अघि नआउने स्रोतहरूले बताएका छन् । एक स्रोतका अनुसार विद्युतीय स्पोट्र्स गाडीका लागि वास्तविक र दिगो माग हाल छैन ।

स्रोतका अनुसार बजारमा चासो कम भएकाले फेरारीलाई दोस्रो विद्युतीय गाडीको लागि आफ्नै प्रविधि अझ विकसित गर्न समय मिल्नेछ, तर मुख्य कारण भने कमजोर माग नै हो ।

फरारीले यसबारे कुनै टिप्पणी गर्न मानेन । दुवै स्रोतहरूले विषयको संवेदनशीलताका कारण नाम गोप्य राख्न चाहे ।

फेरारीले दीर्घकालीन रूपमा विद्युतीय गाडी बेच्ने योजना सार्वजनिक गरिसकेको छ तर पहिलो विद्युतीय मोडेल बाहेक थप योजना कम्पनीले सार्वजनिक गरेको छैन ।

अन्य स्पोर्ट्स गाडी निर्माताहरूले पनि ग्राहकको चासोको अभावका कारण विद्युतीय योजनाहरू ढिलाइ गरेका छन् वा कटौती गरेका छन् ।

फरारीको इटालीयन प्रतिस्पर्धी ल्याम्बोर्घिनी (फक्सवागन समूहको एक हिस्सा) ले गत डिसेम्बरमा आफ्नो पहिलो विद्युतीय मोडेल २०२८ सट्टा २०२९ मा ल्याउने घोषणा गर्यो । जर्मनीको पोर्शेले पनि आफ्नो विद्युतीय मकान एसयूभी र टायकन मोडेलको कमजोर बिक्रीका कारण विद्युतीय योजनामा कटौती गरेको छ ।

यसै वर्ष स्टेलान्टिसको लक्जरी ब्रान्ड मासेराटीले आफ्नो एमसी २० स्पोट्र्स गाडीको विद्युतीय संस्करणको योजना रद्द गर्यो ।

इटालीको मारानेल्लोमा रहेको फरारी कम्पनीले दोस्रो विद्युतीय मोडेलको योजना दुई पटक ढिलाइ गरिसकेको छ । सुरुमा एक वर्षले सारेको थियो तर अहिले त्यो मोडेल २०२८ भन्दा पहिले आउने छैन । उसले उच्च प्रदर्शन विद्युतीय गाडीको माग हाल ‘शून्य रहेको समेत बताएको छ ।

स्रोतका अनुसार फरारीको दोस्रो विद्युतीय मोडेललाई कम्पनीले आफ्नो विद्युतीय रणनीतिका लागि वास्तविक परिवर्तनको रूपमा हेरेको छ भने पहिलो मोडेललाई कम मात्रामा उत्पादन हुने, सांकेतिक उपलब्धि हुने मोडेलका रूपमा लिएको छ जुन २०२६ मा सार्वजनिक हुनेछ ।

फरारीको पहिलो विद्युतीय मोडेल, जसलाई एप्पलका पूर्व मुख्य डिजाइन अधिकारी जोनी आइभले समेत सह-डिजाइन गरेका हुन्, यसको मूल्य ५ लाख अमेरिकी डलरभन्दा बढी हुने जनाइएको छ । स्रोतले यो मोडेललाई फरक किसिमको फेरारी मोडेल भएको बताउँदै आकारमा सामान्यभन्दा ठूलो हुने तर एसयूभी भने नहुने जनाएको छ ।

स्रोतका अनुसार दोस्रो विद्युतीय मोडेल फेरारीको साधारण मोडेलहरू जस्तै पाँच वर्षको अवधिमा ५ हजार देखि ६ हजार युनिट डेलिभर गर्ने रणनीतिसँग मिल्ने गरी डिजाइन हुनेछ, तर हाल ग्राहकको चासो कमजोर भएकाले त्यो दिगो छैन ।

फेरारीले अक्टोबर ९ मा लगानीकर्ताहरूका लागि नयाँ दीर्घकालीन व्यवसायिक योजना सार्वजनिक गर्नेछ ।

चिनियाँ अटो उद्योगले विद्युतीय बजारमा नयाँ कीर्तिमान राख्दै

बीवाईडीविरुद्ध जीली र ग्रेट वाल एकजुट, मूल्य युद्धले तात्यो बजार
 

Share News