काठमाडौं । चिनियाँ अटो निर्माता विश्वव्यापी शून्य उत्सर्जन सवारीसाधन (जेडईभी) बजारमा तीव्र गतिमा अग्रस्थानमा पुगिरहेका छन् ।
अन्तर्राष्ट्रिय क्लिन ट्रान्सपोर्टेसन काउन्सिल (आईसीसीटी) ले गरेको अनुसन्धानले यस्तो देखाएको हो ।
हाल विश्वव्यापी विद्युतीय सवारीसाधन बजारमा प्रमुख खेलाडीहरूबीच तीव्र प्रतिस्पर्धा चलिरहेको छ ।
आईसीसीटीको प्रतिवेदनअनुसार चीनले विद्युतीय सवारीसाधन रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेलेको छ, किनभने चीनमा वार्षिक १ करोड १० लाखभन्दा बढी विद्युतीय सवारीसाधन बिक्री भइरहेका छन्, जुन विश्वव्यापी विद्युतीय सवारीसाधन बिक्रीको आधाभन्दा बढी हो ।
यस वर्ष पहिलो पटक चीनमा एक महिनामा नै १० लाखभन्दा बढी विद्युतीय सवारीसाधन बिक्री भएका छन्, जुन घरेलु माग र चिनियाँ निर्माताहरूको लक्षित निर्यात प्रयासका कारण सम्भव भएको अनुसन्धान संस्था रो मोसनले बताएको छ ।
चीनमा आधारित अटो निर्माताहरूले जेडईभी क्षेत्र कभरेजमा शीर्ष ५ स्थान ओगटेका छन् र विद्युतीय सवारीसाधन बिक्री सेयरमा शीर्ष ६ मध्ये ५ स्थान ओगटेका छन् । जीली र एसएआईसीजस्ता कम्पनीहरूले पहिले नै आफ्नो २०२५ को लक्ष्यभन्दा एक वर्ष अघि नै ५० प्रतिशत ईभी बिक्री सेयर पुरा गरिसकेका छन् ।
बीवाईडीले २०२४ मा पहिलो पटक विश्वव्यापी ब्याट्री विद्युतीय सवारीसाधन ९बीईभी० बिक्रीमा टेस्लालाई उछिनेको छ । बीवाईडीको बीईभी बिक्रीमा २५ प्रतिशत वृद्धि र बीईभी तथा प्लग(इन हाइब्रिड विद्युतीय सवारीसाधन (पीएचईभी) संयुक्त बिक्रीमा ४७ प्रतिशतले वृद्धि भएको अनुसन्धानले जनाएको छ । दुबै कम्पनीहरू आईसीसीटीको रेटिङमा ‘लीडर्सको श्रेणीमा पर्छन् ।
‘चीनमा आधारित अटो निर्माता विश्वव्यापी रूपमा विस्तार भइरहँदा अन्य अग्रणी विश्वव्यापी निर्माताहरूले पनि आफ्नो रूपान्तरण प्रक्रिया छिटो गर्न दबाब महसुस गरिरहेका छन्, नत्र प्रतिस्पर्धात्मक स्थान गुमाउने जोखिम छ,’ आईसीसीटीका अध्यक्ष तथा सीईओ ड्र्यु कोडज्याकले भने ।
‘पूरै विश्व अटो उद्योगका लागि अब यो केवल भविष्यका लक्ष्य पूरा गर्ने कुरा होइन- यो अहिलेको बजारमा प्रतिस्पर्धी रहने कुरा हो,’ उनले थपे ।