विज्ञापन व्यवसायलाई तहसनहस पार्दै एआई

मोबाइल वर्ल्ड कंग्रेसमा प्रदर्शन गरिएको एक एआई सहायक ।

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) ले विज्ञापन व्यवसायलाई ध्वस्त पार्दै गइरहेको  यस उद्योग सम्बन्ध नेताहरूले बताएका छन् । यसले लगानीकर्ताहरूलाई चिन्तित तुल्याएको छ । 

विज्ञापन बजार नयाँ जेनेरेटिभ एआई उपकरणहरूको उदयबाट चुनौतीमा परेको छ ।  यसको सहयोगमा छिटो गतिमा सामग्री उत्पादन गर्न सकिन्छ । पछिल्ला केही वर्षमा ओपनएआई र गुगलका एआई इमेज जेनेरेटरहरू चर्चित भएका छन् ।

‘मलाई लाग्छ यो एआई अवरोधले हरेक उद्योगका लगानीकर्तालाई अशान्त बनाइरहेको छ र हाम्रो व्यवसायलाई पूर्ण रूपमा तहस–नहस गरिरहेको छ,’ बेलायती विज्ञापन समूह डब्ल्यूपीपीका बिदा हुँदै गरेका सीईओ मार्क रिडले सीएनबीसीसँग भने ।

डब्ल्यूपीपी प्रमुखको रूपमा आफूले राजीनामा दिने घोषणा गरेपछि पहिलो अन्तर्वार्तामा रिडले भने, ‘एआईले हाम्रो व्यवसायलाई पूर्ण रूपमा क्रान्तिकारी बनाउने छ ।’

‘एआईले विश्वभरको विशेषज्ञता सबैलाई निकै सस्तोमा उपलब्ध गराउने छ,’ उनले लण्डन टेक सप्ताहमा भने, ‘उत्तम वकिल, उत्तम मनोवैज्ञानिक, उत्तम रेडियोलोजिस्ट, उत्तम अकाउन्टेन्ट र यत्तिकै राम्रो विज्ञापन क्रिएटिभ र मार्केटिङ विज्ञ पनि एआईद्वारा नै सञ्चालन हुनेछ ।’

रिडले बताएअनुसार अहिले डब्ल्यूपीपीका ५० हजार कर्मचारीहरूले कम्पनीकै एआई(सञ्चालित मार्केटिङ प्लेटफर्म डब्ल्यूपीपी ओपन) प्रयोग गरिरहेका छन् ।

रिडका अनुसार विज्ञापन व्यवसायको क्रिएटिभ क्षेत्रमा संरचनात्मक दबाबले उद्योगमा एकीकरण (कन्सोलिडेसन) बढाइरहेको छ र कम्पनीहरूले ब्रिफ तयार पार्नेदेखि मिडिया योजना बनाउन र अभियान सुधार गर्नेसम्म सबै कुरामा एआईले प्रभाव पार्ने कुरा स्वीकार्नै पर्ने हुन्छ ।

पछिल्लो वर्ष जुनमा प्रकाशित फरेस्टरको एक रिपोर्टले देखायो कि ६० प्रतिशतभन्दा बढी अमेरिकी विज्ञापन एजेन्सीहरूले जेनेरेटिभ एआई प्रयोग गरिसकेका छन् र थप ३१ प्रतिशतले यसको उपयोगबारे अनुसन्धान गरिरहेका छन् ।

‘विशाल रूपान्तरण’

रिडको यो धारणा एक्लो होइन । एआईको प्रभावले विज्ञापन क्षेत्रमा ‘विशाल रूपान्तरण’ तुल्याइरहेको फ्रेन्च विज्ञापन कम्पनी पब्लिसिस ग्रुपका सीईओ मोरिस लेभीले पेरिसमा आयोजित भिभा टेक सम्मेलनमा बताए ।

उनले बताएअनुसार एआई इमेज र भिडियो जेनेरेशन उपकरणहरूले सामग्री उत्पादनलाई निकै छिटो बनाइरहेका छन् भने स्वचालित मेसेजिङ प्रणालीहरूले पहिले कहिल्यै नभएको स्तरमा व्यक्तिगत सन्देश पुर्याउन सकेका छन् ।

तर पब्लिसिस प्रमुखले जोड दिए कि एआईलाई केवल एउटा उपकरणका रूपमा हेर्नुपर्छ, जसले मानिसको जीवनलाई सहज बनाउन सहयोग गर्छ ।

‘हामीले एआईलाई एउटा उपकरणभन्दा बढी ठान्न हुँदैन,’ उनले भने ।

र, एआईले केही जागिरहरूमा असर पुर्याउन सक्ने भए तापनि लेवीको ठम्याइमा यसले नोक्सानभन्दा बढी नयाँ अवसरहरू सिर्जना गर्नेछ ।

‘के एआईले मलाई प्रतिस्थापन गर्नेछ र केही जागिर नष्ट गर्नेछ ? हो, एआईले केही जागिरहरू नष्ट गर्नेछ,’ लेभीले स्वीकार गरे । ‘अझ महत्वपूर्ण कुरा के हो भने एआईले जागिरहरू रूपान्तरण गर्नेछ र नयाँ जागिरहरू सिर्जना गर्नेछ। त्यसैले कुल परिणाम सम्भवतः सकारात्मक नै हुनेछ,’उनले थपे ।

उनको भनाइमा यो कुरा इन्टरनेट र स्मार्टफोनजस्ता विगतका प्रविधिहरूले श्रम क्षेत्रमा पुर्याएको प्रभाव जस्तै हुनेछ।

‘अझ धेरै स्वतन्त्र काम हुने छ,’ लेभीले भने ।

तर गार्टनरकी विश्लेषक निकोल डेन्मन ग्रीनले भने ब्रान्डहरूले उपभोक्ताहरूमा नकारात्मक प्रतिक्रिया उत्पन्न हुन नदिन सावधानी अपनाउनुपर्ने बताइन्, किनकि धेरै उपभोक्ताहरूले मानव सिर्जनात्मकतामा एआईले असर पार्ने डर व्यक्त गरेकी छन् ।

गार्टनरको गत सेप्टेम्बरको एक सर्वेक्षणअनुसार ८२ प्रतिशत उपभोक्ताले जेनेरेटिभ एआई प्रयोग गर्ने कम्पनीहरूले नाफा घटे पनि मानव जागिर जोगाउन प्राथमिकता दिनुपर्ने बताएका छन् ।

‘विज्ञापनमा एआई के गर्न सक्छ भन्नेभन्दा के गर्नुपर्छ भन्नेमा ध्यान केन्द्रित गर्नुपर्छ,’ ग्रीनले सीएनबीसीलाई भनिन् ।

‘यसले के गर्नुपर्छ भने नयाँ र मौलिक ज्ञान सिर्जना गर्न, विविध र साना समूहसम्म पुग्नका लागि अनौठो कार्यान्वयन गर्न, ‘मार्केटिङ’ को सीमाना फराकिलो बनाउन र ब्रान्डलाई अझ भिन्न, उपयोगी र सान्दर्भिक व्यक्तिगत अनुभव दिन सहयोग गर्नुपर्छ - जसमा हाइपर-पर्सलाइजेसनको वाचा पनि पूरा होस्,’ उनले भनिन् ।

Share News