काठमाडौं । टोयोटा मोटरका अध्यक्ष अकीयो टोयोडालाई आगामी बिहीबार जापानी अटोमोबाइल कम्पनीको वार्षिक सेयरधनी बैठकमा एक महत्त्वपूर्ण आपूर्तिकर्तालाई निजीकरण गर्ने ३३ अर्ब डलरको डिलबारे प्रश्नहरू सामना गर्नुपर्ने सम्भावना देखिएको छ ।
यो वर्षको बैठक बिहीबार बिहान १० बजे सुरु हुँदैछ र यो तीन वर्षमा पहिलो पटक हो जब टोयोडाविरुद्ध कुनै सेयरधनी सल्लाहकार संस्था उभिएको छैन ।
तर पनि टोयोटाका संस्थापकका नाति टोयोडाले कम्पनीको सुशासनबारे केही कठिन प्रश्नहरू सामना गर्नुपर्ने देखिएको छ- यदि आपूर्तिकर्ता कम्पनी टोयोटा इन्डस्ट्रीजको यस हप्ता भएको बैठकलाई आधार मान्ने हो भने ।
मंगलबार भएको टोयोटा इन्डस्ट्रीजको बैठकमा सेयरधनीहरूले ४.७ ट्रिलियन येन (३३ अर्ब डलर) को निजीकरण प्रस्तावलाई अल्पसंख्यक सेयरधनीहरूप्रति अनुचित भन्दै असहमति जनाएका थिए । विश्वकै सबैभन्दा बढी बिक्री हुने अटोमोबाइल कम्पनी टोयोटा मोटरले यस आपूर्तिकर्तालाई एक जटिल चरणबद्ध सम्झौतामार्फत निजी बनाउने योजना बनाएको छ, जसअन्तर्गत प्रति सेयर १६ हजार ३०० येनको प्रस्ताव गरिएको छ ।
यो मूल्य टोयोटा मोटरका सेयरधनीहरूका लागि आकर्षक हुन सक्दछ, तर लन्डनस्थित जेनर एसेट म्यानेजमेन्टलगायत आलोचकहरूले उक्त प्रस्तावमा विशेषगरी अल्पसंख्यक सेयरधनीहरूको व्यवहारबारे चिन्ता व्यक्त गरेका छन् ।
'यो निर्णय अल्पसंख्यक सेयरधनीहरूलाई बेवास्ता गरेर गरिएको होइन, बरु सबै पक्षलाई ध्यानमा राखेर गरिएको हो,' टोयोटा इन्डस्ट्रीजका अध्यक्ष कोइची इतोले मंगलबारको बैठकमा भने ।
यो सम्झौताअनुसार एउटा नयाँ होल्डिङ कम्पनी स्थापना गरिनेछ । सूचीकृत नभएको रियल इस्टेट कम्पनी टोयोटा फुडोसानले १८० अर्ब येन लगानी गर्नेछ भने टोयोडाले १ अर्ब येन लगानी गर्नेछन् । टोयोटा मोटरले भने ७०० अर्ब येनको गैर-मताधिकारयुक्त प्रिफर्ड सेयरमा लगानी गर्नेछ ।
मंगलबारको बैठक करिब दुई घण्टा बसेको थियो जुन टोयोटा इन्डस्ट्रीजको इतिहासमै सबैभन्दा लामो बैठक हो । कम्पनीका अनुसार कार्यकारीहरूले लगभग दुई दर्जन प्रश्नहरू उठाएका थिए जुन हालसम्मकै धेरै हो ।
हङकङस्थित ओएसिस म्यानेजमेन्टले मूल्य अझ बढाउन दबाब दिने बताएको छ ।उसले टोयोटा मोटर र टोयोटा इन्डस्ट्रीज दुवैमा सेयर राखेको छ ।
टोयोटाले भनेको छ कि यो अधिग्रहणले टोयोटा इन्डस्ट्रीजलाई समूहका अन्य कम्पनीहरूसँग सहकार्य अझ सशक्त बनाउन मद्दत गर्नेछ । किनभने टोयोटा आफैलाई अब 'मोबिलिटी कम्पनी'का रूपमा रूपान्तरण गर्दैछ ।
यस वर्ष प्रख्यात सल्लाहकार संस्थाहरू ग्लास लुइस र इन्स्टिच्युसनल सेयरधनी सर्भिसेस (आईएसएस) दुवैले टोयोडालाई पुनःनिर्वाचन गर्न सिफारिस गरेका छन् । ग्लास लुइसले विगत दुई वर्ष र आईएसएसले गत वर्ष टोयोडाविरुद्ध सिफारिस गरेका थिए । टोयोडाको पदविको समीक्षामा सुशासनसम्बन्धी व्यापक चिन्ताहरू उठाइएको थियो । तर यसपालिको सिफारिस परिवर्तनको कारण यी सल्लाहकारहरूले स्पष्ट रूपमा भनेका छैनन् ।
टोयोडाप्रतिको सेयरधनी समर्थन पछिल्ला वर्षहरूमा घट्दै आएको छ । उनी २०२४ मा ७२ प्रतिशत मत समर्थनका साथ बोर्डमा पुनःनिर्वाचित भए- जुन टोयोटाको निर्देशकका रूपमा हालसम्मकै न्यून समर्थन भएको उनले स्वयम् भनेका थिए । अघिल्ला दुई वर्षमा यो समर्थन दर क्रमशः ८५ प्रतिशत र ९६ प्रतिशत थियो ।
टोयोडाले २०२४ को जुलाईमा आफ्नै समाचार मिडियासँगको अन्तर्वार्तामा भनेका थिए, 'यदि सेयरधनीहरूको समर्थन अझै घटिरहने हो भने मेरो बोर्डको सिट पनि जोखिममा पर्न सक्छ ।
बीवाईडीविरुद्ध जीली र ग्रेट वाल एकजुट, मूल्य युद्धले तात्यो बजार