काठमाडौं । चीनका अग्रणी विद्युतीय सवारीसाधन (ईभी) निर्माताहरूबीचको तीव्र प्रतिस्पर्धा झन् चर्किएको छ । लामो समयदेखि जारी रहेको बीवाईडी र ग्रेट वाल मोटरबीचको उत्सर्जन मापदण्ड सम्बन्धी विवाद झनै बढेको छ । साथै जीली कम्पनीले पनि बीवाईडीको आक्रामक मूल्य घटाउने रणनीतिलाई आलोचना गरेको छ ।
यो विवाद सन् २०२३ देखि सुरु भएको हो, जब ग्रेट वाल मोटरले बीवाईडीविरुद्ध चिनियाँ नियामक निकायमा उजुरी दर्ता गर्यो । उसले बीवाईडीका दुई सबैभन्दा बढी बिक्री हुने हाइब्रिड मोडेलहरूले उत्सर्जन मापदण्ड पूरा गर्दैनन् भनी उजुरी दर्ता गरेको हो ।
यो मुद्दा पुनः गत महिना उठेको थियो, जब ग्रेट वालका अध्यक्ष वेइ जियानजुनले मूल्ययुद्धको कारण चिन्ता व्यक्त गर्दै नियामक अनुसन्धान अझै सक्रिय रहेको पुष्टि गरे।
बीवाईडीले उनको टिप्पणीलाई 'आतङ्क सिर्जना गर्ने' भन्दै खारेज गर्यो, तर उत्सर्जनसम्बन्धी आरोपबारे भने केही प्रतिक्रिया दिएन । पहिले बीवाईडीले ती दाबी अस्वीकार गर्दै आफ्ना सवारीहरू चीनको उत्सर्जन मापदण्डअनुरूप रहेको बताएको थियो ।
शनिबार जीलीका उपाध्यक्ष भिक्टर याङले चोङ्गकिङ्गमा आयोजित अटो सम्मेलनमा सार्वजनिक रूपमा ग्रेट वालको दाबीको समर्थन गरे । उनले भने, 'हामीले आफ्नै उत्सर्जन परीक्षण गरेका छौं र समान निष्कर्षमा पुगेका छौं । वेइ जियानजुन एक इमानदार व्यक्ति हुन् ।'
ग्रेट वाल मोटरले बीवाईडीका क्विन प्लस र सङ प्लस प्लग-इन हाइब्रिडमा प्रयोग गरिएका गैर-दबावयुक्त इन्धन ट्याङ्कीहरूको विषयमा चिन्ता व्यक्त गरेको हो, जसले प्रेसरयुक्त ट्याङ्कीको तुलनामा तरल इन्धनलाई छिटो वाष्पीकरण गराउँछ ।
बीवाईडीका ब्रान्डिङ र सार्वजनिक सम्बन्ध महाप्रबन्धक ली युनफेइले आइतबार जीलीको टिप्पणीको जवाफ दिएका थिए । उनले भने, '२०२१ देखि २०२३ सम्म प्रयोग गरिएका ती गैर-दबावयुक्त ट्याङ्कीहरू त्यतिबेलाको नियामक मापदण्डअनुसार थिए । यद्यपि ग्राहकहरूको गुनासोका कारण पछि ती परिवर्तन गरिएको हो ।'
यो विवाद त्यस्तो समयमा चर्किएको हो, जब चीनको ईभी बजार अत्यधिक प्रतिस्पर्धामा परेको छ । बीवाईडीले हालै आफ्नो सबैभन्दा सस्तो मोडेलको मूल्य ५५ हजार ८०० युआन ९झन्डै ७ हजार ७७१ अमेरिकी डलर० मा झारेपछि समग्र अटो बजारमा सेयरहरूमा गिरावट आएको छ ।
यसपछि चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालय (एमआईआईटी) ले अटो उद्योगलाई मूल्य युद्ध रोक्न आह्वान गर्दै गत साता कार निर्माताहरूसँग बैठक बोलाएको स्रोतले जनाएको छ ।
साथै डिलरहरूले पनि कार निर्माताहरूलाई बजारमा आवश्यकताभन्दा बढी सवारीसाधन नबिक्री गर्न आग्रह गरेका छन् ।
टेस्लाको सेयर मूल्यमा भारी गिरावट, १५० अर्ब डलर बजारबाट गायब
किया इण्डियाबाट तीन वर्षमा १ हजार ८ इञ्जिन गायब, पूर्वकर्मचारी र स्क्र्याप डिलर अनुसन्धानको घेरामा