काठमाडौं । किया इण्डियाका दुई पूर्वकर्मचारीहरूमाथि इञ्जिन चोरीको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् । उनीहरूमाथि तीन वर्षको अवधिमा कार निर्माता कम्पनीको कारखानाबाट १ हजार ८ इञ्जिन चोरी गर्न स्क्र्याप डिलरहरूसँग मिलेमतो गरेको आरोप छ ।
यद्यपि ती इञ्जिनहरूको मूल्य २.३ मिलियन अमेरिकी डलर (झन्डै ३१ करोड ५ लाख रुपैयाँ) थियो । प्रहरी अनुसन्धानले यस घटनाले उद्योग सञ्चालन, सरोकारवालाहरूको विश्वास र रोजगारीको सुरक्षामा व्यापक असर पारेको भन्दै राज्यहरूबीचको अपराध सञ्जालको चिन्ता पनि उठाएको छ ।
कियाले गत मार्चमा भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा प्रहरीमा उजुरी दिएको थियो । उजुरीमा कम्पनीको आन्तरिक अभिलेख समीक्षा गर्दा यसको सहायक कार निर्माता कम्पनी हुन्डाईबाट प्राप्त केही इञ्जिन हराएको र यसमा पूर्व तथा वर्तमान कर्मचारीहरूको मिलेमतो भएको शंका व्यक्त छ ।
१६ अप्रिलमा जारी प्रहरी दस्तावेजअनुसार प्रारम्भिक अनुसन्धानले किया इण्डियाका दुई पूर्व कर्मचारी- इञ्जिन डिस्प्याच सेक्सनका टिम लिडर र सेक्शन हेडले नक्कली बिल र हेरफेर गरिएको गेट पास प्रयोग गरी कारखानाबाट अवैध रूपमा इञ्जिनहरू बाहिर पठाएको देखाएको छ ।
उनीहरूले कम्तीमा दुई अन्य व्यक्तिसँग मिलेर इञ्जिन बाहिर लैजान मद्दत गरेका गरेका थिए भने अन्य दुई स्क्र्याप डिलरहरूले ती इञ्जिनहरू भारतको राजधानी नयाँ दिल्लीसम्मका ग्राहकलाई बेचेका थिए ।
अनुसन्धान अधिकृत के। राघवनले १६ अप्रिलमा जारी गरेको दस्तावेजमा पटकपटक अवैध कारोबार, नक्कली वा हेरफेर गरिएको नम्बर प्लेट भएका ट्रकहरूको प्रयोग गरिएको उल्लेख गरेका छन् ।
राघवनले गोपनीयता कारण थप टिप्पणी गर्न अस्वीकार गरे ।
किया इण्डियाले रोयटर्सलाई दिएको वक्तव्यमा गत वर्ष कम्पनीले आफ्नो इन्भेन्टरी व्यवस्थापन प्रणाली सुदृढ गर्दै जाँदा यी गडबडीहरू पत्ता लागेको जनाएको छ । कम्पनीले आन्तरिक अनुसन्धान गरी प्रहरीलाई खबर गर्यो र हाल आन्तरिक प्रक्रियाहरू अझ कडा बनाउँदै निगरानी प्रणाली बलियो पार्ने काममा जुटिरहेको छ ।
कियाको कारखानामा इञ्जिन डिस्प्याच सेक्सनका पूर्वप्रमुख ३७ वर्षीय विनायगमूर्ति भेलुचामी हाल हिरासतमा छन् र उनले जमानतको लागि राज्य उच्च अदालतमा निवेदन दिएका छन् । उनले चोरीमा संलग्न रहेको आरोप अस्वीकार गरेका छन् । उनी सन् २०२३ मा कम्पनीबाट बाहिरिएका थिए ।
अर्का आरोपित कर्मचारी ३३ वर्षीय पूर्व टिम लिडर पाटन सलीम हुन्, जो सन् २०२० देखि २०२५ सम्म कारखानामा कार्यरत थिए । प्रहरी दस्तावेजअनुसार उनको हालको ठेगाना अज्ञात छ र दस्तावेजमा उल्लेख गरिएका दुईवटा फोन नम्बर निष्क्रिय छन् ।
यी दुवै पूर्व कर्मचारीहरूलाई हालसम्म कुनै आरोपमा औपचारिक रूपमा मुद्दा चलाइएको छैन, तर अनुसन्धानमा आरोपितको रूपमा नाम उल्लेख गरिएको छ, जुन अझै प्रारम्भिक चरणमा छ ।
प्रहरी दस्तावेजका अनुसार उच्च स्तरको पूर्वयोजना र आन्तरिक पहुँचको दुरुपयोगु भएकोले दोषी ठहरिएमा भारतीय कानुनअनुसार उनीहरूलाई १० वर्ष वा सोभन्दा बढी सजाय हुनसक्छ ।
भारतमा चोरीका घटना सामान्य भए पनि कियाको योजस्तो दीर्घकालीन र ठूलो परिमाणको कर्पोरेट स्तरको चोरी दुर्लभ मानिन्छ ।
कियाले २०२५ जनवरीमा स्टक मिलान गर्दा इञ्जिन गायब भएको देखेपछि प्रहरीलाई यसबारे जानकारी दिएको थियो, जसको एक महिना अघि कम्पनीले कारखानाको सिसिटिभी फुटेजमा अनधिकृत गाडीहरूको गतिविधि पनि फेला पारेको थियो । मार्च महिनाको उजुरीमा कम्पनीले ९४० वटा इञ्जिन हराएको उल्लेख गरेको थियो ।
प्रहरीले जाँचका क्रममा नौ वटा मोबाइल फोन बरामद गरेको छ, जसमा ह्वाट्सएपका स्क्रिनसट, ढुवानी बिल र ट्रकका तस्बिरहरू थिए ।
'अपराधबाट आर्जन गरिएको पैसा व्यक्तिगत आवश्यकता, ऋण तिर्न, अचल सम्पत्ति किन्न वा व्यवसायमा पुन: लगानी गर्न प्रयोग गरिएको थियो,' प्रहरी दस्तावेजमा उल्लेख छ ।
टोयोटाको ३३ अर्ब डलरको ‘गेम चेन्जर’ सम्झौता