काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत कर बढाउने अनुमानका आधारमा व्यवसायीले धमाधम विद्युतीय गाडी भित्र्याए । धेरैले बैंकमा एलसी खोलेर सीमा नाकामा गाडी थुपारे ।
चालु आर्थिक वर्षको साढे १० महिनामा मात्रै १४ हजार बढी युनिट ईभी नेपालमा भित्रिएका छन् । त्यसमा पनि डेढ महिनामा मात्रै करिब ६ महिनालाई पुग्ने गाडी आयात भए । तर ईभीमा कर बढ्ने व्यवसायीको अनुमानले फेल खायो ।
सरकारले बजेटमा विद्युतीय गाडीमा कर बढाएन । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमार्फत विद्युतीय गाडीमा करका दर यथावत राखे ।
सरकारले करका दर यथावत् राखेपछि ठूलाे परिमाणमा गाडी भित्र्याएका व्यवसायीले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
नाडाका अध्यक्ष करण चौधरी अटो व्यवसायीहरुले माग गरेअनुसार सरकारले बजेट ल्याएको बताउँछन् । बजेटमा धेरै कुराहरु सम्बोधन भएको बताउँदै उनले आफूहरुले स्थिर नीतिमा जाेड दिनुपर्छ भनेर सुझाव दिएअनुसार नै सरकारले बजेट ल्याएको धारणा राखे ।
उनले यसका लागि नाडाले भोली शुक्रबार नै विज्ञप्ति जारी गरेर बजेटको स्वागत गर्ने धारणा राखे ।
‘सरकारले स्थिर नीति ल्याएको छ, यसले बजारलाई सकारात्मक सन्देश दिएको छ,’ उनले भने । गाडी बढी भित्रिएकै कारण सरकारले कर नबढाएको बुझाइ उनको छ ।
नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ सरकारले ल्याएको बजेट स्वागतयोग्य भएको बताउँछन् । उनका अनुसार बजेट आउनुअघि ईभीमा कर बढ्ने हल्ला थियो तर सरकारले कर नबढाएर बजेट ल्याएपछि व्यवसायीहरु उत्साहित छन् ।
श्रेष्ठ भन्छन्, ‘कर बढ्ने हो कि भन्ने अन्योलमा थियौं । तर, सरकारले स्वागतयोग्य निर्णय गरेपछि सबै व्यवसायी उत्साहित भएका छन् ।’
अटो व्यवसायी आकाश गोल्छा पनि सरकारले ल्याएको बजेटमा सन्तुष्ट छन् । उनी आफूहरुले सोचेकै बजेट ल्याएको बताउँछन् ।
‘अबको दुई/तीन महिनापछि मात्रै नयाँ अर्डर पठाउने योजना छ । हाल आयात गरिएका गाडीहरू चार महिनासम्म सजिलै बिक्री हुनेछन् । यसमा न कुनै तनाव छ, न समस्या, हामी ढुक्क छौं,’ उनले भने ।