आन्तरिक पर्यटनदेखि हेल्थ टुरिजमसम्म : बजेटमा के चाहन्छन् उद्योग महासंघका सभापति ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ, पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु बस्नेत (अजित)ले आगामी आर्थिक वर्षको बजेटका लागि विभिन्न १५ बुँदे सुझाव प्रस्तुत गरेका छन् । सभापति बस्नेतले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा समेट्नुपर्ने पर्यटन सम्बन्धि सुझावहरु प्रस्तुत गरेका हुन् ।

उनले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा नियमित सञ्चालन गर्नुपर्ने, नेपाललाई पर्वतारोहण बाहेकका पनि साहसिक खेलकुदको गन्तव्यका रुपमा परिचित गराउनुपर्ने, ईयूको ‘सेफ्टी लिस्ट’बाट हटाएर युरोपका देशहरुमा सिँधा हवाई उडानको प्रबन्ध गर्नुपर्ने र हवाई टिकटमा लगाइएको भ्याट सम्बन्धि प्रावधानमा पुनरावलोकन गरिनुपर्ने सुझाव दिएका छन् ।

यस्तै, नेपाल ‘म्यारिज डेस्टिनेशन’का रुपमा विकास र विस्तार हुँदै गएको अवस्थामा भारतीय पर्यटकलाई नगद सीमा लागू गर्न नहुने, खेल पर्यटन प्रवर्द्धन गर्न विश्वस्तरीय रंगाशाला (स्टेडियम) जस्ता खेलकुदका पूर्वाधारहरु विकास गरिनुपर्ने, पर्यटन पूर्वाधार (सडक, एयरपोर्ट लगायत)मा निजी र बाह्य लगानी खुला गरिनुपर्ने र आन्तरिक घुमफिरलाई प्रोत्साहन गर्न कर्मचारीहरुलाई वर्षमा १५ दिन ‘पर्यटन बिदा’ दिने व्यवस्था लागू गर्नुपर्ने सुझाव पनि सभापति बस्नेतले दिएका छन् ।

यसैगरी, स्थलमार्ग हुँदै आउने पर्यटकका लागि सीमा नाकामा ‘हेल्प डेक्स’ स्थापना गरी त्यहीँबाट मुद्रा सट्टा–पट्टा लगायतका सुविधा उपलब्ध गराउने व्यवस्था मिलाउन, स्थलमार्ग हुँदै आउने पर्यटकका लागि लक्षित गरेर स्तरीय सडक पूर्वाधारको विकास गर्न र नेपाल धार्मिक गन्तव्य र शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मभूमी भएकाले ‘स्प्रिचुअल टुरिजम’को अवधारणा विकास गरी कार्यान्वयन गर्न पनि बस्नेतले सुझाव दिएका छन् ।

यसैगरी, उनले गैर आवासीय नेपालीलाई सहजै आवतजावत गर्न दिने र उनीहरुलाई साथमा लिएर विश्वका हरेक देशमा नेपालको पर्यटन सम्बन्धि प्रचारप्रचारका काम आयोजना गर्ने कुरा पनि बजेटमार्फत नै घोषणा गर्न सुझाव दिएका छन् । 

प्रमुख सुझावहरूमध्ये केही यस्ता छन्

नेपाललाई साहसिक खेलकुदको गन्तव्यका रूपमा स्थापित गर्न स्काई डाइभ, प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, एडेभेन्चर साइकलिङजस्ता गतिविधिहरूलाई नीतिगत सहयोग

युरोपियन युनियनको सेफ्टी लिस्टबाट नेपाललाई हटाई युरोपमा सिधा उडानको व्यवस्था

भारतीय पर्यटकका लागि नगद सीमा नलागू गराई विवाह गन्तव्यको प्रवर्द्धन

खेल पर्यटन प्रवर्द्धनका लागि विश्वस्तरीय रंगशाला निर्माण

‘हेल्थ टुरिजम’ र ‘स्प्रिचुअल टुरिजम’ का अवधारणाहरू विकास तथा कार्यान्वयन

सडक, एयरपोर्ट जस्ता पूर्वाधारमा निजी तथा वैदेशिक लगानीको सम्भावना खोल्ने

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सरकारी कर्मचारीलाई वर्षमा १५ दिन पर्यटन बिदाको व्यवस्था

गैरआवासीय नेपालीहरूलाई सहज आवतजावत र प्रचारमा संलग्न गराउने योजना

Share News