भन्सार शुल्कको तनाबबीच 'सावधानीपूर्वक' भारत प्रवेश गर्दै टेस्ला

काठमाडौं । टेस्ला भारत प्रवेशको दिशामा सावधानीपूर्वक अगाडि बढिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

विद्युतीय सवारीसाधन (ईभी) निर्माता कम्पनीले बिक्रीमा गिरावट र भन्सार शुल्कको खतरा सामना गरिरहेको बेला टेस्लाका प्रमुख वित्त अधिकृत (सीएफओ) वैभव तनेजाले कम्पनी भारतमा प्रवेश गर्न लागेको बताएका हुन् । 

कमाइको रिपोर्ट सार्वजनिक गर्ने क्रममा तनेजाले कम्पनी भारतमा विस्तार गर्ने तयारीमा रहेको पुष्टि गरे । उनले भारत 'ठूलो मध्यवर्गीय जनसंख्या' भएको कारण राम्रो बजार हुने बताएका छन् ।

तर, भारत 'एकदमै कठिन बजार' पनि भएको तनेजाले बताए । भारतमा ईभी आयात गर्दा ७० प्रतिशत भन्सार शुल्क र करिब ३० प्रतिशत लक्जरी कर लाग्ने उनले जनाए । यसले गर्दा भारतमा बेचिने टेस्लाका गाडीको मूल्य झन्डै दोब्बर हुन सक्ने उनले बताए।

'त्यसैले हामीले कहिले प्रवेश गर्ने भन्ने निर्णयमा निकै सावधानी अपनाएका छौं । यस्ता कुराले केही तनाव पनि उत्पन्न गर्छ, जुन हामी समाधान गर्न प्रयासरत छौं,' तनेजाले थपे ।

भारतले टेस्लालाई आफ्नो उत्पादन आधार स्थापना गर्न संकेत दिएको भए पनि देशको संरक्षणवादी नीतिहरूले टेस्लाका लागि केही चुनौतीहरू सिर्जना गर्ने सम्भावना उत्तिकै छ ।

तनेजाको यो अभिव्यक्ति टेस्लाका सीईओ एलन मस्कले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रविधि र नवप्रवर्तन सम्बन्धी सहकार्यका विषयमा कुरा गरेको केही दिनपछि आएको हो ।

फेब्रुअरीमा मोदीले मस्कलाई वाशिंगटन डीसीमा भेटेका थिए, जसले टेस्लाको भारत योजनाबारे अड्कलबाजी बढाएको थियो । त्यही महिना सीएनबीसीलाई स्रोतले जानकारी दिएको थियो कि कम्पनीले बर्लिन प्लान्टबाट भारतमा अप्रिलदेखि नै गाडी आयात गर्ने योजना बनाइरहेको छ ।

भारत सरकारले पनि एक नयाँ नीति प्रस्ताव गरेको छ, जसअनुसार केही उत्पादन भारतमै गर्ने प्रतिबद्धता जनाउने कम्पनीका लागि ईभी भन्सार शुल्क करिब ७० प्रतिशतबाट घटाएर १५ प्रतिशत पुर्याइनेछ ।

तर पनि विज्ञहरूले सीएनबीसीलाई भनेअनुसार यस्तो योजनाले टेस्लामाथि मूल्य प्रतिस्पर्धाको दबाव बढाउनेछ र कम्पनीले थप नीतिगत सुधारको माग गर्न सक्नेछ ।

तर अर्कोतर्फ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसहित अमेरिकी व्यापार साझेदारहरूमाथि लगाएका नयाँ भन्सार शुल्कले टेस्ला र नयाँ दिल्लीबीच हुने सम्भावित वार्तामा असर पार्न सक्नेछ ।

वाशिंगटनले भारतमाथि १० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाएको छ, जुन ९० दिनको 'पारस्परिक शुल्क' विराम सकिएपछि अमेरिका–भारत व्यापार सम्झौता नभएमा २६ प्रतिशतसम्म बढ्न सक्नेछ ।

सोमबार उपराष्ट्रपति जेडी भान्सले भारतमा मोदीसँग भेट गरे र दुवै देशबीचको व्यापार वार्तामा 'महत्त्वपूर्ण प्रगति' भएको बताए ।

टेस्लाले मंगलबार सार्वजनिक गरेको पहिलो त्रैमासिक नतिजामा कम्पनीको अटोमोबाइल आम्दानी गत वर्षको सोही अवधिको तुलनामा २० प्रतिशत घटेको र शुद्ध आम्दानीमा ७१ प्रतिशत गिरावट आएको उल्लेख गरिएको छ।

सान्दर्भिक सामग्री

शाङ्घाई अटो शो : बीवाईडीसहित अन्य कम्पनी आक्रामक रूपमा प्रस्तुत हुँदै, दबाबमा टेस्ला

ट्यारिफको आँधीमा बुइकको स्वप्न यात्रा

ईभीमा कडाइ गर्दै चीन : 'स्मार्ट ड्राइभिङ' र 'स्वायत्त ड्राइभिङ' भन्ने शब्द प्रयोगमा रोक

घाटैघाटामा मस्क, ट्रम्पले चिनियाँ पार्टपुर्जामा कर बढाउँदा टेस्लाको अमेरिकी उत्पादन योजना प्रभावित

ट्यारिफ असर : निसानले अमेरिकामा सबैभन्दा धेरै बिक्री भएको मोडेलको जापानी उत्पादन कटौती गर्ने

२५ प्रतिशत अटो ट्यारिफले अमेरिकी अटो निर्माता कम्पनीलाई थप १०८ अर्ब डलर लागत लाग्ने

साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशन र बीवाईडीसँग प्रतिस्पर्धा

 

Share News