सुनसान विद्यालयका चिन्तित अभिभावक

काठमाडौं । नयाँ शैक्षिक सत्रमा विद्यालय जान बालबालिकालाई निकै खुसी जाग्छ । नलागोस् पनि किन ? नयाँ कक्षा, नयाँ पाठ्यपुस्तकले रौनक नै बेग्लै हुन्छ ।  तर, कालिमाटीको टंकेश्वरमा रहेको नील बराही माविमा अध्ययनरत कक्षा पाँचका विद्यार्थी अभिमन्यु अहिले घरमै बसिरहेका छन् । 

स्कुल बन्द हुँदा उनी साथीसँग घर अगाडिको चोकमा क्रिकेट खेलेर दिनहरू बिताउँछन् । उनलाई क्रिकेट खेल्नका लागि बुवाले ब्याट बल लगायतका सामग्रीहरू ल्याइदिएका छन् । 

आफूजस्तै स्कुल जान नपाएका साथीहरूसँग अभिमन्युका दिन खेल्नमै बित्छन् । केही दिन पहिले खेल्ने धेरै साथी भएपनि तीन/चार दिनयता उनीसँग खेल्ने साथी भेटिन छोडे । अरू साथीहरू पढ्न जान थालेपछि उनी घरमै बस्न बाध्य भए । 

उनकी आमा विमला उप्रेती छोरा घरमै बस्दा पढाइ बिग्रने चिन्तामा छिन् । निजी विद्यालय पढ्ने उनका साथी स्कुल जाँदा उनको स्कुल कहिलेदेखि लाग्छ भन्ने जानकारी नै छैन । छोरा घरमै हुँदा उनका बुवा आमालाई पीर परेको छ । 

‘सँगैका सबै स्कुल जान्छन्, उसको स्कुल नै बन्द छ,’ उनी भन्छिन्, ‘स्कुल हुँदा हामीलाई पनि आनन्द हुन्थ्यो, घरमा भित्र बस्नै मान्दैन, बाहिर मात्र निस्कन्छ, उसलाई हेरेर बस्नु कि आफ्नो काम गर्नु ?’

नील बाराहीका सबै शिक्षक अहिले आन्दोलनमा छन् । आफूहरू आन्दोलनमा हुँदा विद्यार्थी भर्ना अभियान पनि सुरु नभएको विद्यालयका प्रधानाध्यापक जानुका नेपाल बताउँछिन् । भन्छिन्, ‘हामीले रहरले विद्यार्थीलाई घरमै राखेको होइन, हाम्रो पनि बाध्यता छ । हामी जुन माग लिएर सडकमा गएका छौं, यो हाम्रो मात्र नभएर समग्र शिक्षा क्षेत्रको माग हो ।’

अभिमन्युजस्ता धेरै बालबालिका अहिले घरमै बस्न बाध्य भएका छन् । शिक्षकहरू आन्दोलित हुँदा यसको प्रत्यक्ष प्रभाव बालबालिकामा परेको छ । काठमाडौं उपत्यकामा मात्र होइन, देशभर रहेका सरकारी विद्यालयमा पढ्ने बालबालिकाको दैनिकी अहिले यसरी नै बितिरहेको छ ।

बझाङका चादन भण्डारी विश्व निकेतनमा कक्षा ११ मा अध्ययन गर्छन् । विज्ञान विषय लिएर अध्ययन गरिरहेका उनी १९ दिनदेखि विद्यालय बन्द हुँदा घरमै बस्नुपरेको छ । शिक्षकहरू आन्दोलनमा जाँदा पढाइ नै बन्द गरी घरमा बस्नुपर्दा उनलाई दिक्क लागेको छ । बिहानदेखि दिनभरि कोठाभित्र बस्नुपर्दा उनलाई उकुसमुकुस भएको छ । विद्यालय बन्द हुँदा चादनको दिनचर्या कहिले साथीभाइसँगै घुम्दै त कहिले सुतेर दिनहरू बितिरहेका छन् । 

विद्यालय जाने पढ्ने बेला यसरी बस्दा परीक्षाको नतिजा कस्तो ल्याउँछ भन्ने पीर उनका अभिभावकलाई छ । उनका दाइ करन भण्डारी भन्छन्, ‘दिनभर रातभर घर बस्दा एकातिर मानसिक रूपमा असर परेको छ भने अर्कोतिर दिनरात मोबाइलमै झुन्डिने बानी परेको छ ।’

उनी विद्यालय बन्द हुँदा चादन जस्ता धेरै बालबालिकालाई मानसिक रुपमा समेत ठूलो असर परेको बताउँछन् ।

निजीमा धमाधम पढाइ सुरु

सरकारी तथा सामुदायिक विद्यालयमा पढाइको टुंगो नभएको अवस्थामा यता निजी स्कुलका धमाधम पढाइ भइरहेको छ । निजी स्कुल सञ्चालनमा आइसकेकाले आफ्ना बालबालिकालाई विद्यालय पठाउन सुरु गरिसकेको अभिभावकको भनाइ छ । कतिपय स्कुलमा भर्ना अभियान सकेर पढाइ सुरु भइसकेको छ भने कतिपय स्कुल कक्षा सुरु गर्ने तरखरमा छन् । 

अनामनगरमा रहेको अक्सिडेन्टल पब्लिक स्कुलले वैशाख २ गतेबाट विद्यार्थी पढाउन सुरु गरिसकेको छ ।  भर्ना अभियान सकेर पढाइ पनि सुचारु गरिसकेको विद्यालयले जनाएको छ । बागबजारमा रहेको सिद्धार्थ पब्लिक स्कुलले पनि विद्यार्थी पढाउन सुरु गरिसकेको छ । 

ललितपुरको खुमलटारमा रहेको युलेन्स स्कुलले भर्ना कार्यक्रम सकेर कक्षा सुरु गर्ने तयारी भइरहेको जनाएको छ । विद्यालयका प्रधानाध्यापक मेदिन लामिछाने विद्यार्थी भर्ना कार्यक्रम सकेर अब कक्षा सुरु गर्ने तयारी भइरहेको बताए । 

उनी अहिले विद्यालय बन्द हुँदा यसले विद्यार्थीको पढाइ प्रतिको मनोबल कमजोर हुने बताउँछन् ।  ‘हुन त आन्दोलनमा उत्रनुभएका शिक्षक साथीहरूका माग पनि जायज छन्, उहाँहरूले लामो समयदेखि सडकमा हुनुहुन्छ तर, विद्यार्थीको पढाइ नै प्रभावित हुँदा यसको सन्देश राम्रो जाँदैन,’ उनले भने । 

प्रधानाध्यापक लामिछाने शिक्षकहरूलाई विद्यालयमा फर्काउने वातावरण सरकारले नै गरि दिनुपर्ने बताउँछन् । भन्छन्, ‘अहिले हाम्रो प्रशासन खुल्ला छ, विद्यार्थी भर्ना कार्यक्रम जारी छ । लगभग हाम्रो भर्ना अभियान सकियो, अब चाँडै कक्षा सुरु हुन्छ ।’

ललितपुरको लुभुमा रहेको जिनियस आईबी स्कुलले पनि भर्ना कार्यक्रम बन्द गरिसकेको छ । विद्यालयलाई आवश्यक विद्यार्थीको संख्या पर्याप्त भइसकेपछि भर्ना कार्यक्रम नै बन्द गरेर विद्यार्थीको कक्षा सुरु गर्ने तयारी गरेको छ । अब वैशाख १२ देखि नियमित कक्षा सञ्चालन गर्ने स्कुलको तयारी रहेको जिनियस आईबी स्कुलले जनाएको छ । 

नयाँ बानेश्वरमा रहेको पाठशाला स्कुलले पनि कक्षा ९ देखि १२ सम्मका विद्यार्थीका लागि कक्षा सुरु गरिसकेको छ । विद्यालयले कक्षा १ मा मात्र नयाँ विद्यार्थी भर्ना गर्ने भएकाले भर्ना कार्यक्रम बन्द गरिसकेको जनाएको छ । 

के गर्दैछन् सरकारी विद्यालय ?

देशभर सबैभन्दा बढी विद्यार्थी अध्ययन गराइ नमूना स्कुल बन्न सफल बुटवलको कालिका मावि यतिखेर सुनसान छ । शिक्षक महासंघको आग्रह बमोजिम विद्यालय बन्द गर्दा स्कुल सुनसान भएको हो । विद्यार्थी भर्ना गर्दै पठनपाठन सुरु गर्नुपर्ने समयमा विद्यालय बन्द हुँदा तत्काल प्रभाव देखिएपनि पछि त्यस्तो कुनै समस्या नहुने विद्यालयका प्रधानाध्यापक दिनेश थापा दाबी गर्छन् । 

‘हाम्रो त्यसैपनि विद्यालय सुरु हुने भनेको ११ गतेदेखि मात्र हो,’ उनी भन्छन्, ‘हामीलाई यसको ठूलो प्रभाव पर्छ भन्ने लागेको छैन । किनकि अहिले भर्ना, पढाइमा जति ढिला हुन्छ, त्यसको पूर्ति हामीले बर्खे बिदा कटौती गरेर गर्छौ । अहिले केही दिन ढिला हुनसक्छ, यसको त्यति नराम्रो असर पर्छ भन्ने मलाई लाग्दैन ।’ 

प्रधानाध्यापक थापाका अनुसार विद्यालयको ईसीडी कक्षामा सरस्वतीपूजाकै दिन १ सय ५० जना विद्यार्थी भर्ना गरि सकिएको छ । अब विद्यालय भर्ना लिने भनेको ४ सय ५० जना विद्यार्थीमात्र हो । 

उनी विद्यालय खुल्ने बित्तिकै प्रवेश परीक्षा लिएर विद्यार्थी भर्ना कार्यक्रम सुरु गर्ने बताउँछन् । उनले १ सय ५० विद्यार्थी भर्ना गरिसकेको बताउँदै ४ सय ५० विद्यार्थी भर्ना गर्न कुनै समय नलाग्ने दाबी गर्छन् ।

काठमाडौं उपत्यकामा एसईईमा राम्रो अंक ल्याउने विद्यालय विश्व निकेतनले भने नयाँ विद्यार्थी भर्नाका लागी प्रवेशिका परीक्षा लिइसकेको छ । त्यसमा पनि केहीको नतिजा निकालिसकेको छ भने केही नतिजा प्रकाशन गर्ने तयारीमा विद्यालय छ । शिक्षकहरू आन्दोलनमा भएपनि प्रशासनले भने विद्यार्थी भर्नाका लागि काम गरिरहेको छ । 
विश्व निकेतनमा अध्ययन गर्न यो वर्ष  २ हजार ७ सय विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । जसमध्ये ४ सय उत्कृष्ट विद्यार्थीलाई विद्यालयमा भर्ना गर्ने विद्यालयले जनाएको छ । 

विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलका अनुसार अहिले पनि प्रशासन कर्मचारीले रिजल्ट निकाल्ने काम गरिरहेका छन् । ‘हामीले विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा आन्दोलन सुरु हुनु अगावै लिइसकेका थियौं । केहीको नतिजा समेत निकाली सकेका छौं,’ उनी भन्छन्, ‘हामी आन्दोलनमा छौं, अब जब हाम्रा माग पुरा भएर हामी स्कुल फर्कन्छौं, त्यसपछि मात्र पढाइ सुरु हुन्छ ।’ 

उनी यो आन्दोलनले आफ्नो स्कुललाई कुनै असर नपर्ने बताउँछन् । भन्छन्, ‘आन्दोलनले भएको पढाइ प्रभावित भएको हामीले पछि बिदाको बेला पनि पढाउने भन्ने योजना बनाएका छौं ’ 

विज्ञ भन्छन्- शिक्षा क्षेत्र चार/पाँच वर्ष पछि धकेलिने

सरकारी विद्यालयका शिक्षकहरूले पढाइमा केही असर नपर्ने बताइरहेको बेला विज्ञहरू भने शिक्षा क्षेत्रमा ठूलो असर पर्ने भन्दै चिन्तित भएका छन् । नेपालले शिक्षा क्षेत्रमा केही सुधार र राम्रा कामको सुरुवात गरिरहेको बेला १९ दिनसम्म शिक्षकहरू सडकमा जाँदा यसको असर गम्भीर पर्ने शिक्षाविदहरूको भनाइ छ । 

शिक्षाविद् प्राडा. विद्यानाथ कोइराला अहिलेको शिक्षक आन्दोलनले शिक्षा क्षेत्रमा ठूलो प्रभाव पर्ने बताए । स्कुलले समयमा प्रश्नपत्र जाँच्न नपाउँदा, नतिजा नपाउँदा र परीक्षा दिन नपाउँदाको प्रभाव कस्तो पर्छ भन्ने नेपालको अहिलेको उच्च शिक्षालाई हेर्न सकिन्छ । 

नेपालको शिक्षा क्षेत्रदेखि वाक्क लागेर नेपाली विद्यार्थीले देश छोडिरहेको बेला विद्यालय शिक्षाको पनि यस्तो अवस्था हुने हो भने सामुदायिक विद्यालयलाई विद्यार्थी पाउन मुश्किलले पर्ने जानकारहरू बताउँछन् । 

शिक्षाविद् प्राडा. कोइराला सरकारी विद्यालय बन्द हुँदा अभिभावकले बाध्य भएर निजी स्कुल रोज्नुपर्ने अवस्था आएको बताए । उनी भन्छन्, ‘हामी सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण बढाउनुपर्छ भन्दै भाषण गर्छौ, अवस्था यस्तो हुन्छ, यसको मौका निजी क्षेत्रले उठाउँछ ।’ 

यता शिक्षाविद् डा. विष्णु कार्की सरकारले यो विषयमा गम्भीर भएर नसोच्ने हो भने शिक्षकहरूले थालेको आन्दोलनले नेपालको शिक्षा क्षेत्र चार पाँच वर्षपछि धकेलिने बताए । 

Share News