ट्यारिफको आँधीमा बुइकको स्वप्न यात्रा

अमेरिकन मन जितेको बुइक ट्यारिफको चपेटामा

काठमाडौं । जनरल मोटर्स (जीएम) अन्तर्गतको ब्रान्ड बुइकले राम्रो प्रदर्शन गरिरहेको थियो । इनभिजन, इनकोर जीएक्स र इनभिस्टाजस्ता नयाँ डिजाइनमा आधारित सस्तो एसयूभीहरूको कारण कम्पनीको बिक्री पहिलो त्रैमासिकमा ३९ प्रतिशतले वृद्धि भएको थियो । इनभिस्टा त ३० हजार डलरभन्दा सस्तोमा पाइने बुइकको सबैभन्दा धेरै बिक्री भएको एसयूभी बनेको थियो ।

तर त्यसपछि पूर्वराष्ट्रपति ट्रम्पको ट्यारिफ नीति लागू भयो ।

ब्युइकका ती तीन सबैभन्दा लोकप्रिय मोडलहरू अमेरिकाबाहिर निर्माण गरिन्छन्- इनभिस्टा र इनकोर जीएक्स दक्षिण कोरियामा बनाइन्छन् भने इनभिजन एसयूभी चीनमा निर्माण गरिन्छ ।

त्यसैले यी सबै मोडलहरू अहिले भारी ट्यारिफको चपेटामा परेका छन्, जसले अमेरिका भित्रको बिक्री मूल्यमा हजारौं डलर थप्न सक्छ ।

बारक्लेसको विश्लेषण अनुसार बुइकका कोरियामा बनेका मोडलहरूमा २७.५ प्रतिशत ट्यारिफ लाग्छ ।

चीनमा बनेको इन्भिजनमा भने कुल ४७.५ प्रतिशत ट्यारिफ लाग्छ- जसमा २५ प्रतिशत अटो ट्यारिफ, २० प्रतिशत चीन फेन्टानिल ट्यारिफ र पहिल्यै रहेको २.५ प्रतिशत अटो कर समावेश छ ।

यो बुइकका लागि नराम्रो खबर हो । वर्षौंसम्म ’पुरानो शैलीको गाडी’ को छवि बोकेको ब्रान्डले अन्ततः नयाँ र आकर्षक मोडलहरू ल्याएर छवि परिवर्तन गरिरहेको थियो तर अहिले त्यो प्रगति जोखिममा छ ।

विश्लेषकहरू भन्छन्- मूल्य वृद्धि हुने हो भने बुइकको बजार गति थुनिन वा अन्त्यतिर धकेलिन सक्छ ।

अटोफोरकास्ट सोलुसन्सका उपाध्यक्ष साम फिओरानी भन्छन्- 'बुइकका पछिल्ला गाडीहरू सस्तो, राम्रो गुणस्तरका र राम्रो डिजाइनका छन् । तर उत्पादन लागत बढ्दा यी गाडीहरूलाई बजारमा टिकाइ राख्न गाह्रो हुन्छ ।’

पोर्टफोलियो पुनर्मूल्यांकन

ट्रम्पले ल्याएको ट्यारिफका कारण अटो उद्योगका उच्च अधिकारीहरू अहिले आफ्नो उत्पादन पोर्टफोलियोको समीक्षा गर्दैछन्- 'के विदेशी उत्पादनलाई अमेरिकाभित्र ल्याउने खर्च दीर्घकालीन रूपमा उचित छ?’ भन्ने प्रश्न उठेको छ ।

यस महिनाको सुरुमा लागू भएको ट्यारिफले पहिले नै केही परिवर्तन गराइसकेको छः

जीएमले इन्डियानामा रहेको ट्रक उत्पादन प्लान्टको उत्पादन बढाएको छ ।

स्टेलान्टिस (राम र जीप निर्माता) ले मेक्सिको र क्यानडाका दुई प्लान्टहरूमा अस्थायी रूपमा उत्पादन रोकिदिएको छ ।

बारक्लेसको १५ अप्रिलको नोटमा भनिएको छ- 'अब अटो कम्पनीहरूले लाभ नहुने गाडीहरू बेच्ने छैनन्, विशेषगरी चीन र कोरियाबाट आयात गरिएका मोडलहरू ।’

जीएमले चीन र कोरियाबाट ४.५ लाख गाडी आयात बन्द गर्ने अपेक्षा गरिएको छ ।

बारक्लेसले जीएमको २०२५ को आम्दानी पूर्वानुमान ४० प्रतिशतले घटाएको छ- ९.५ अर्ब डलरको ट्यारिफ असरका कारण ।

फोर्डका लागि ६० प्रतिशत गिरावटको पूर्वानुमान गरिएको छ- फोर्डले लिनकोन नटिलस चीनबाट ल्याउँछ ।

इनभिस्टा र सेभरोलेट ट्र्याक्सजस्ता सस्तो मूल्यका गाडीहरू (दुबै दक्षिण कोरियामा बनाइएका) मा ट्यारिफको सबैभन्दा ठूलो असर पर्नेछ, किनभने यी सवारीहरू धेरैजसो अमेरिका बाहिर बनाइन्छन् ।

कक्स अटोमोटिभका अनुसार अहिले नयाँ गाडीको औसत मूल्य ४८ हजार डलर माथि छ ।

ट्यारिफका कारण प्रभावित मोडलहरूको मूल्य १०-१५ प्रतिशतले बढ्न सक्छ ।

बाँकी मोडलहरूमा पनि ५ प्रतिशतसम्म मूल्य वृद्धि हुन सक्छ ।

बुइकको गति रोकिँदै

बुइकले पछिल्ला २० महिनामा सबै मोडलहरू नयाँ लुकमा ल्याएको छ, जसले बिक्रीमा उल्लेखनीय वृद्धि गरेको हो ।

२०२५ को पहिलो त्रैमासिकसम्म बजार हिस्सा ०.८ प्रतिशतबाट बढेर १.६ प्रतिशत पुगेको छ ।

इनभिस्टाको (सुरुवाती मूल्य २३ हजार ८००) ले ब्रान्डलाई नयाँ उचाइमा पुर्यायो । इनभिजन (सुरुवाती मूल्य ३६ हजार ५००) मा पनि नयाँ स्टाइल ल्याइएको थियो, जसले बिक्री बढायो ।

डिट्रोइटका बुइक-जीएमसी डिलर जेफ लेथम भन्छन्- 'इनभिजन अहिलेको सबैभन्दा बिक्री हुने मोडल हो । जब इनभिस्टाको डिजाइन त्यसमा लागू गरियो, त्यसपछि बिक्रीमा उछाल आयो ।’

एडमन्डका विश्लेषक इभान ड्रुरी भन्छन्– 'बुइकले दशकौंपछि सबैभन्दा राम्रो गति लिएको छ । यो गति रोकिएमा ब्रान्ड मर्दैन तर एउटा ऐतिहासिक सपना भने टुट्न सक्छ ।’

एडमन्डका अनुसार २०२५ अप्रिलको सुरुमा बुइकका डिलरहरूमा ५३ दिनको स्टक थियो, जुन उद्योग औसत ४७ दिनभन्दा धेरै हो ।

चीनमा पनि चुनौती

बुइकका लागि चीन बजार अत्यन्तै महत्त्वपूर्ण हो, तर त्यहाँ पनि समस्या देखिएको छ ।  जीएम र अन्य विदेशी अटो कम्पनीहरू चीनमा बनेका विद्युतीय गाडीहरूसँग प्रतिस्पर्धा गर्न नसकेर संघर्ष गरिरहेका छन् ।

टेलिमेट्रीका अनुसार बुइकको चीनमा बिक्री २०२० देखि २०२४ सम्म ६५ प्रतिशतले घटेको छ ।

टेलिमेट्रीका उपाध्यक्ष साम अबुलसामिद भन्छन्- 'चीनको बजारमा अनिश्चितता र अमेरिकी ट्यारिफका कारण बुइक ब्रान्डकै अस्तित्व जोखिममा छ ।’

सम्बन्धित समाचार 

ईभीमा कडाइ गर्दै चीन : 'स्मार्ट ड्राइभिङ' र 'स्वायत्त ड्राइभिङ' भन्ने शब्द प्रयोगमा रोक

घाटैघाटामा मस्क, ट्रम्पले चिनियाँ पार्टपुर्जामा कर बढाउँदा टेस्लाको अमेरिकी उत्पादन योजना प्रभावित

ट्यारिफ असर : निसानले अमेरिकामा सबैभन्दा धेरै बिक्री भएको मोडेलको जापानी उत्पादन कटौती गर्ने

२५ प्रतिशत अटो ट्यारिफले अमेरिकी अटो निर्माता कम्पनीलाई थप १०८ अर्ब डलर लागत लाग्ने

साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशन र बीवाईडीसँग प्रतिस्पर्धा

 

Share News