काठमाडौं । जिल्ला प्रशासनले काठमाडौंका विभिन्न क्षेत्रमा जारी गरेको कर्फ्यू हटेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार आज बिहानसम्मका लागि थप गरिएको कर्फ्यू आदेश स्थगित गरिएको हो ।
राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले काठमाडौंको तीनकुनेसहितका क्षेत्र तोकेर शुक्रबार राती १० बजेसम्मका लागि कर्फ्यू आदेश गरेको थियो । जिल्ला प्रशासन कार्यालयले समय बढाउँदै शनिबार बिहान ७ बजेसम्मका लागि कर्फ्यू जारी गरेको थियो ।
काठमाडौं महानगरपालिकाभित्रका विभिन्न स्थानमा चार किल्ला तोकी सो सिमाना भित्र कसैले आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको थियो ।
बानेश्वर तिनकुने क्षेत्र, गौशालादेखि विमानस्थल, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वर बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमूल पुलसम्म कर्फ्यू क्षेत्र तोकिएको थियो । त्यसैगरी गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै बानेश्वर चोकसम्म पनि कर्फ्यू आदेश जारी गरिएको थियो ।