
काठमाडौं । राजावादी र प्रहरीबीचको झडपले उग्र रूप लिएको छ । तीनकुनेमा राजावादी घरभित्रै छिरेका छन् ।
काठमाडौंको तीनकुनेमा जारी राजावादीहरूको प्रदर्शनले उग्र रूप लिँदा प्रहरीले अश्रुग्यास प्रहार र पानी फालिरहेको छ भने राजवादी प्रदर्शनकारीले ढुङ्गामुढा प्रहार गरिरहेका छन् ।
राजावादीले व्यक्तिका घरहरूमा प्रवेश गरेर तोडफोड गरेका छन् । अवस्था तनावग्रस्त भएपछि तीनकुनेमा राजावादीको कार्यक्रम बिथोलिएको छ ।
राजावादीको प्रदर्शनको नेतृत्व पूर्वपञ्च ८६ वर्षीय नवराज सुवेदीले गरेका छन् । आजको प्रदर्शनको ‘कमान्डर’ भने मेडिकल व्यवसायी दुर्गा प्रसाईं हुन् ।
वर्तमान व्यवस्थालाई चुनौती दिँदै राजावादीहरू प्रदर्शनमा उत्रिएका हुन् ।
आजै गणतन्त्रवादीहरूले पनि प्रदर्शन गरिरहेका छन् । समाजवादी मोर्चा नेपाल नाम दिइएको विशाल जनसभामा (माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा सहभागी छन् ।
जसको प्रमुख वक्ता पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छन् ।
समाजवादी मोर्चाका अन्य नेताहरूले पनि आफ्नो धारणा जनसभामा राख्ने कार्यक्रम छ ।