काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै रहर गरेर राजतन्त्र पुनःस्थापित नहुने स्पष्ट पारेका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा नेपाली कांग्रेसको मानव अधिकार विभागद्वारा आयोजित कार्यक्रममा देउवाले लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको इच्छाबाट स्थापित भएको भन्दै अब यो व्यवस्था हट्न नसक्ने दाबी गरे ।
उनले भने, ‘विपी कोईराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोईराला लगायत थुप्रै नेपाली नेताहरूले लडेर लोकतान्त्रिक गणतन्त्र ल्याएका हुन्, यो संविधान सबै नेपालीको प्रतिनिधित्व गर्ने गरी बनेको छ । राजाले कु गर्छन् भन्ने जस्तो राष्ट्रपतिबाट कु हुन सक्दैन । कुनै हालतमा पनि प्रजातन्त्र हट्दैन ।’
सभापति देउवाले संविधान सभामार्फत आएको गणतन्त्र नेपाली जनताले स्विकारिसकेको भन्दै पूर्वराजा शाहलाई राजतन्त्र फर्किने आशा नगर्न आग्रह गरे । साथै, अब प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रलाई अझ मजबुत बनाउनेतर्फ सबै लाग्नुपर्ने बताए ।
उनले संविधान समावेशी, समानुपातिक प्रतिनिधित्वयुक्त रहेको उल्लेख गर्दै हिमाल, पहाड, तराई सबै क्षेत्रका नागरिकको हक र अधिकार सुनिश्चित भएको धारणा राखे ।
नेपालको संविधानमा सबैको प्रतिनिधित्व रहेको र सबैलाई अधिकार सुनिश्चित गरिएको बताउँदै उनले लोकतान्त्रिक गणतन्त्रलाई स्थायी बनाउने काममा जुट्न सबैलाई आह्वान गरे ।